प्रहरीको अब्बल अनुसन्धान
प्रहरी प्रशासनले शान्तिसुरक्षा र अपराध अनुसन्धान गर्ने विषयमा सधैंजसो आलोचना खेप्दै आएको छ। तर केही अब्बल अनुसन्धान भने समग्र संगठनकै साख उँचो राख्न सहयोगी हुने गरेको छ। बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्यारा पक्राउ गर्ने क्रममा प्रहरीले अवलम्बन गरेको शैली यसको पछिल्लो उदाहरण हो। केही घटनामा वर्षोंदेखि अपराधीको खोजी मात्र गरिरहे पनि दोषी पक्राउ गर्न नसकेपछि चर्को जनआक्रोशको सामना गरिरहेको प्रहरीको सम्झनालायक केही सफलताको सूचीमा यो घटना पनि समावेश भएको छ। सुरक्षाकर्मीको भाषामा अझै पनि अनुसन्धानमै रहेको भनिएको वर्षों पुराना अन्य घटनाको पनि दोषी पत्ता लागेर कारबाही हुनेमा जनविश्वास जागेको छ। गम्भीर अनुसन्धान भयो भने जस्तोसुकै अपराध पनि समाजमा लुक्न सक्दैन भन्ने पुष्टि हुने गरी प्रहरी प्रशासनले यस्ता प्रशंनीय कार्यलाई जारी राख्नुपर्छ।
सामान्यत: समाजमा कुनै घटना भयो भने त्यसले उग्र रूप नलिँदासम्म प्रशासनको कानसम्म पुग्दैन भन्ने आम गुनासो छ। कतिपय घटनामा यही वास्तविकता झल्कने गरेको पनि छ। यसो हुनुमा प्रशासनका प्राविधिक जटिलता र सीमित जनशक्तिले पनि मुख्य भूमिका खेल्ने गरेको छ। अनुसन्धानमा प्रहरीलाई स्वतन्त्र छाडिदिनुपर्ने र कुनै पनि प्रकारको दबाबबाट मुक्त राख्नुपर्ने सन्देश भागरथीको हत्यापछि देखिएको सुरक्षाकर्मीको सक्रियताले दिएको छ। भागरथीको हत्यालगत्तै धनगढीबाट प्रहरीका प्रदेश प्रमुख डीआईजी आफै घटनास्थलमा निरन्तर खटिए। स्थानीय चौकीमा बसेर दिनरात नभनी उनले अनुसन्धानलाई तीव्र पारे। अपराधीलाई जसरी पनि पक्राउ गर्नैपर्नेबाहेक अन्य कुनै पनि प्रकारको प्रत्यक्ष दबाब त्यतिबेला प्रहरी प्रशासनलाई थिएन।
आन्दोलनकारीको चित्त बुझाउन वा अन्य समूहलाई काम गरेको देखाउनकै लागि प्रहरीले घटनामा संलग्न भएको आशंकामा कसैलाई पनि पक्रेन। कसैको पनि प्रतिष्ठामा दाग लगाउने काम गरेन। अनुसन्धानको दायरामा धेरैलाई ल्याए पनि प्रमाणको नजिक नपुग्दासम्म नियन्त्रणमा लिएन। जसका कारण घटनाका दोषी भागाभाग गर्नुपर्ने अवस्था आएन। जब अनुमान गरिएका सबै तथ्य प्रमाणित हुने अवस्था आयो; त्यसपछि मात्रै आशंका गरिएका व्यक्तिलाई गोप्य तरिकाबाट नियन्त्रणमा लिइयो; जुन सत्य साबित भयो। यो घटनाले प्रहरीको अध्ययन कौशलता झल्किएको छ । अरूका लागि उदाहरण पनि बनेको छ।
प्रहरीले यो सफलताबाट पाठ सिक्दै कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउनेतर्फ ध्यान केन्द्रित गर्नुपर्छ। धेरैको चासोको विषय रहेको यो घटनामा प्रहरीले चरणबद्ध अनुसन्धान गर्दा पनि दोषी पत्ता लगाउन सकेको छैन। छोरी फर्केर नआउने भए पनि हत्यारा पत्ता लगाएर कडा कारबाही होला भन्ने आशामा रहेका निर्मलाका परिवारलाई न्याय दिलाउनका लागि मात्रै नभई आफ्नै इज्जत जोगाउन पनि यो घटनामा गम्भीर अनुसन्धान हुनुपर्ने देखिन्छ। ठूला आपराधिक घटना हुनेबित्तिकै उच्च प्रशासनिक तथा राजनीतिक नेतृत्वबाट दबाब झेल्नुपर्ने नियतिबाट प्रहरीलाई मुक्त राख्नुपर्छ । निर्मला पन्तको मात्रै होइन; वर्षोंदेखि अल्झेका तर अपराधी पत्ता लाग्न नसकेका अन्य घटनाका दोषी पत्ता लगाउने अभियानमा प्रहरी लाग्नुपर्छ। अपराध कर्ममा लाग्ने जोकोहीलाई पनि कानुनको कठघरामा उभ्याउनुपर्छ।
अनुसन्धानमा प्रहरी सफल हुनु भनेको सम्बन्धित संगठनको मात्रै होइन; मुलुककै इज्जत बढ्नु हो। तर अनुसन्धानमा कौशलता प्रदर्शन गर्न इच्छाशक्तिसँगै प्रशस्त प्रविधि, जनशक्ति र सेवासुविधामा पनि ध्यान दिनुपर्छ। तालिम प्राप्त जनशक्तिको व्यवस्था गर्नुपर्छ। प्रहरी प्रशासनलाई राजनीतिक प्रभावबाट मुक्त राख्नुपर्छ। शान्तिसुरक्षा कायम गर्ने क्रममा रहेका दृश्य, अदृश्य र अवाञ्छित तत्व निस्तेज पार्नुपर्छ। संगठित तथा जघन्य रूपमा हुने अपराध र महिला तथा बालबालिमामाथि हुने अमानवीय कार्यप्रति कानुनी कठोरता प्रदर्शन गर्न आवश्यक छ।