दुबइकी राजकुमारी बाबुबाटै बन्धक: अनुसन्धान गर्न चौतर्फी दबाब
दुबइ: दुबइका शासककी छोरी लतिफा आफ्नै बाबुबाट बन्धक बनाइएको घटनाले विश्व समुदायकै ध्यानाकर्षण गरेको छ ।
संयुक्त राष्ट्रसंघमा समेत उक्त घटनाबारे प्रश्न उठ्ने र यसबारे अनुसन्धान हुनसक्ने बताइएको छ । लतिफाले देश छाडी भाग्न खोज्दा २०१८ देखि नै आफ्नै बाबुबाट बन्धक बनिरहेको भन्दै साथीहरुलाई म्यासेज पठाएपछि यस घटनाबारे राष्ट्रसंघमा प्रश्न उठ्ने भएको हो ।
लतिफा अल मक्तुमले भिडियो फुटेजमार्फत आफ्नो ज्यान जोखिममा रहेको भन्दै सन्देश पठाएकी थिइन् । डुंगाबाट भाग्न खोज्दा सुरक्षाकर्मीहरुले पक्राउ गरी बन्धक बनाएको उनको आरोप थियो । यसैबीच लतिफाका साथीहरुले यस घटनाको अनुसन्धान गर्न राष्ट्रसंघलाई आग्रह गरेका छन् । पछिल्लो समय लतिफालाई सन्देश प्रवाह गर्नबाट रोकेपछि थप आशंका बढेको हो ।
यस घटनाले गम्भीर चिन्ता उत्पन्न गरेको भन्दै अधिकारकर्मी तथा राष्ट्रसंघीय अधिकारीहरुले पनि जनाएका छन् । साथै अन्तर्राष्ट्रिय समुदायले यसबारे तत्काल कदम चाल्नुपर्ने भन्दै आह्वान गरेका छन् । लतिफाको हालको अवस्थाबारे जानकारी लिन र कदम चाल्न उनीहरुले माग गर्दैआएका छन् ।
यूएईले यसअघि भने लतिफा परिवारमै सुरक्षित रहेको जनाएको थियो । लतिफाका बाबु शेख मोहम्मद बिन रशिद अल मक्तुम विश्वकै सबैभन्दा धनी राष्ट्रप्रमुखमध्ये एक हुन् । जो दुबइका शासक र यूनाइटेड अरब इमिरेट्सका उपप्रमुख हुन् ।