चार वर्षसम्म फर्केन चिलगाडी
कालिकोट : जिल्लाको नरहरीनाथ गाँउपालिका–१ मा रहेको सुनथराली विमानस्थल कालोपत्रे हुन थालेको छ । विश्वभरी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको त्रासका कारण लामो समय लकडाउन हुँदा काम अवरुद्ध भएको विमानस्थल अहिले कालोपत्रे सुरु भएको हो ।
चालु आर्थिक वर्षभित्रै नियमित उडान गर्ने गरी तयारीका साथ विमानस्थल कालोपत्रे भइरहेको छ । झण्डै ३८ वर्षदेखि निर्माणा भइरहेको रहेको उक्त विमानस्थल बल्ल संचालनको तयारी अवस्थामा पुगेको हो ।
झन्डै चार दशकदेखि निर्माणाधिन अवस्थामा रहेको विमानस्थलबाट २०७३ सालमा तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाहीको सक्रियतामा परीक्षण उडान गरिएको थियो ।
परीक्षण उडानपछि ठप्प बनेको विमानस्थलको कालोपत्रे गर्न सुरु भएपछि यहाँका नागरिक खुसी भएका छन् । निर्माण सुरु भएको चार दशकसम्म परीक्षण उडानमै सिमित यो विमानस्थल गौचरनको रुपमा परिणत भएको थियो ।
विमानस्थल निर्माण आयोजनाका प्रमुख निर्माण व्यवसायी पदमबहादुर खड्काका अनुसार विमानस्थलको घेरबार र धावनमार्ग निर्माण गर्ने काम सकिसकेको छ । पिच गर्ने काम सुरु गरेका छौँ । निर्माणमा अवरोध नभएमा आउने वैशाखसम्म विमानस्थलको काम पुरा गरेर हस्तान्त्रण गर्ने तयारी छ । गौरी पार्वती श्याम एण्ड शंकर जेबीले विमानस्थललाई कालोपत्रे गर्ने जिम्मा पाएको छ । १२ करोड ३५ लाखको लागतमा १८ महिना भित्र काम सम्पन्न गर्ने गरी गत साउनमा ठेक्का सम्झौता गरेको थियो ।
२०७३ माघ २९ गते परीक्षण उडान भएको विमानस्थलमा अहिलेसम्म नियमित उडान हुन नसकेको भन्दै स्थानीय दुःखी छन् । विमानस्थलको कालोपत्रे गर्न कार्य भइरहेकाले नियमित उडानका लागि अब धेरै समय कुर्ने नपर्ने आयोजना प्रमुख खड्काले बताए ।
‘वैशाख महिनासम्म निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम गरिरहेका छौँँ’, प्रमुख खड्काले भने, ‘स्थानीयले निर्माणमा केही अवरोध गरेका छन् । गाउँपालिकाले सहयोग गरिरहेको छ ।’
विमानस्थलको काम हालसम्म जम्मा ६५ प्रतिशत सम्पन्न भइसकेकोे दाबी उनको छ । समयमै निर्माण सम्पन्न गर्नमा गाउँपालिकाको तर्फबाट भरपुर सहयोग भइरहेको नरहरीनाथ गाउँपालिका अध्यक्ष धीरबहादुर विष्टले बताए ।
विमानस्थलस्थित टावर रहेको भवन स्थानीय केटाकेटीको शौच गर्ने ठाँउमा परिणत भएको थियो । ‘२०७३ सालमा आएको चिलगाडी फेरि फर्किएन । २०७३ सालमा पहिलो पटक गाउँमा चिलगाडी आउँदा आफूहरुले जहाज चड्ने सपना देखेका थियौँ’, स्थानीय नेत्र विष्टले भने, ‘जिल्लाको कान्छो पलाँता भनेर चिनिएको हाम्रो गाँउपालिकाका स्थानीय नागरिकले राहत पाउने आशा थियो । तर त्यो सपना अझै पुरा भएको छैन् ।’
लामो समयदेखि बन्द भएको विमानस्थल निर्माणको काम पुन सुरु भएर कालेपत्रे हुन थालेपछि मनमा खुसी फर्किएको उनले बताए । ‘जुन दिन सुनथरालीमा चिलगाडी आउँछ । त्यसपछि हाम्रो सपना पनि पुरा हुनेछ’, उनले थपे ।
विमानस्थल निर्माणका क्रममा तत्कालीन नेकपा माओवादी र राज्यपक्ष बीचको दश वर्षे सशस्त्र द्वन्द्वका बेला २०५८ सालमा स्थानीय र धादिङ जोगीमाराका ३५ जना कामदारको मृत्यु भएको थियो । त्यसपछि विमानस्थलको काम बन्द भयो ।
२०६३ सालमा मुलुकमा शान्ति भएपछि पुन निर्माणको कार्य सुरु भए पनि कछुवाको गतिमा काम भयो । २०४२ सालबाट निर्माण कार्य थालिएको उक्त विमानस्थल परीक्षण उडानमा मात्रै सीमित छ । निर्माण सुरु भएको ३८ वर्षसम्म जम्मा ६५ प्रतिशत मात्र काम सम्पन्न भएको हो । अझै उक्त विमानस्थलको ३५ प्रतिशत काम बाँकी छ । यो विमानस्थल निर्माणमा यसअघि करिब ३४ करोड बजेट खर्च भइसकेको आयोजनाले जनाएको छ ।