आफन्तले बुझेनन् बालकको शव
कालिकोट : कालिकोटमा बुधबार जिपले किचेर ज्यान गुमाएका बालकका आफन्तले शव बुझ्न अस्वीकार गरेका छन्।
जिल्लाको शान्तिघाट बजारमा जिपले बालकको ज्यान लिएपछि गाडी मालिक र मृतका आफन्तबीच भएको छलफलमा सहमति हुन नसकेपछि आफन्तले शव बुझ्न अस्वीकार गरेका हुन्।
जिपको ठक्करपछि सामान्य घाइते शान्ति त्रिवेणी गाउँपालिका– ७ निवासी गोविन्द सिम्खाडाका दुई वर्षीय छोरा पे्रम सिम्खाडालाई चालकले गाडी ब्याक गरेर किचेर मारेका थिए। गाडी चालक र पीडित परिवारबीच सहमति नहुँदा मृतक बालकको शव जिल्ला अस्पताल ल्याइने भएको छ।
दुबै पक्षबीच जिल्लामै छलफल गरेर सहमति जुटाउने जिल्ला प्रहरी प्रमुख डिएसपी चक्रबहादुर शाहले बताए।
स्थानीय गौरी संज्यालका अनुसार मृतक पक्षले बालकको क्षतिपूर्ति तीस लाखसम्म मागेका छन्। अर्को पक्षले तीस लाख दिन नसक्ने बताएको छ।
गाडी जलाएर क्षति गरेको भन्दै गाडी मालिकले तोकेको राहत दिनसम्म नसक्ने बताएका छन्। पीडित पक्षले चालकले जानाजान बालकको हत्या गरेको भन्दै बीमासहित क्षतिपूर्ति नदिएसम्म शव नबुझ्ने बताएका हुन्।
मृतक बालकका आफन्त र स्थानीयले बुधबारदेखि शान्तिघाट बजारमा प्रदर्शन गर्दै आएका छन्। प्रदर्शनले कर्णाली करिडोर अवरुद्ध छ।