कोरोनालाई नहेपौं

कोरोनालाई नहेपौं

कोरोनाको कहर नरोकिए पनि बजारमा बढ्दो चहलपहल, सर्वसाधारणका गतिविधि र व्यक्तिगत सुरक्षामा देखिएको हेलचक्र्याइँले अर्को संकटलाई निम्तो दिएको स्पष्ट हुन्छ। यस्तै लापरबाही भइरह्यो भने युरोप, अमेरिका, बेलायतलगायत विकसित मुलुकमा पटकपटक आक्रमण गरिरहेको यो प्राणघातक भाइरसले नेपाली समाजलाई अर्कोपटक पनि नसताउला भन्न सकिन्न। सरकारको तर्फबाट खोप अभियानलाई तीव्रता दिए पनि आम सर्वसाधारणको पहुँचसम्म पुग्न अझै केही समय लाग्ने निश्चित छ। खोप लगाउँदैमा पूर्ण सुरक्षित रहने र कोरोना संक्रमण नै नहुने भन्ने होइन। त्यसैले यस्तो जटिल अवस्थामा व्यक्तिगत सुरक्षामा ख्याल राख्दै हरेक नागरिकले आफू र अन्यलाई सुरक्षित राख्नेतर्फ ध्यान दिनुपर्छ।

कोरोना संक्रमण रोक्न लगाइएको लकडाउन पूर्णरूपमा हटेसँगै सरकारी तथा गैरसरकारी कार्यालय, निजी लगानीका शैक्षिक संस्था, व्यापारिक मलसहित लगभग सबै क्षेत्र पूर्णरूपमा खुलिसकेका छन्। तुलनात्मक रूपमा धेरै भीड हुने शैक्षिक संस्था, चलचित्र घर, जिमखानालगायतका कार्यालयलाई पनि पूर्ववत् अवस्थामै खोल्न सरकारले अनुमति दिइसकेको छ। यसको अर्थ कोरोना रोकथामका लागि कुनै पनि होसियारी अपनाउनु पर्दैन भन्ने होइन। जोखिम कायमै रहे पनि चर्को आर्थिक कठिनाइ सामना गर्न नसकेर मात्रै यी संस्था खुलेका हुन् भन्ने वास्तविकता कसैले पनि बिर्सनु हुँदैन। गाउँ तथा सहरमा समेत मानिसको आवतजावत बाक्लिएसँगै सतर्कताको पाटो पनि लगभग सबै बिर्सन थालिएको छ। कोरोना भनेको सामान्य रहेछ र यो रोग लागे पनि सजिलै निको हुने रहेछ भन्ने आम मानिसको गलत बुझाइले जोखिम बढिरहेको छ। कोरोनाको कारण निधन हुनेको संख्या थोरै मात्रामा भए पनि बढिरहेको छ। दैनिक संक्रमणको संख्या घटे पनि पूर्णरूपमा रोकिएको भने छैन। स्वास्थ्यविद्ले समेत यसलाई खेलाँची नगर्न सचेत गराइरहेको अवस्था छ। सरकार वा अन्य कुनै पनि पक्षको मुख नताकी कोरोना नियन्त्रण गर्ने दायित्व मेरै हो भन्ने भावना हरेक नागरिकमा पलाउन जरुरी छ। जहाँ जाँदा पनि व्यक्तिगत सुरक्षाका लागि मास्क लगाउने, स्यानिटाइजर बोक्ने र भीडभाडबाट टाढै रहनुपर्छ।

छिमेकी भारतले अनुदानमा दिएको खोपलाई सरकारले प्राथमिकताका आधारमा क्षेत्रगत रूपमा प्रयोग गरिरहेको छ। अनुदानसँगै भारतबाटै किनेर अप डोज खोप ल्याउने तयारीमा सरकार छ। साथै अर्का छिमेकी चीनले पनि अनुदानमै केही डोज खोप दिने निर्णय गरिसकेको छ। सरकारले पनि त्यसलाई प्रयोग गर्न दिने आधिकारिक निर्णय भर्खरै गरेको छ। यी सबै क्रियाकलापले कोरोनाको कहरलाई अब धेरै दिन सहनु नपर्ने संकेत देखिएको छ। तर यहाँनेर बिर्सन नहुने के हो भने खोप लगाउँदैमा शरीरमा कोरोनाको प्रवेश पूर्णरूपमा बन्द भयो भन्ने होइन। तसर्थ विगतमा जस्तो प्रकारको स्वास्थ्य सतर्कता अपनाइएको थियो, त्यसलाई केही समय निरन्तरता दिनु नै उत्तम विकल्प हो। खोपको सतप्रतिशत प्रभावकारिता नहुने विश्व स्वास्थ्य संगठनको भनाइले पनि कोरोनाको जोखिम कायमै छ भन्ने बुझ्नुपर्छ।

कोरोनालाई खेलाँची ठानियो भने अझै अर्को लकडाउन गर्नुपर्ने बाध्यात्मक अवस्था पनि आउन सक्छ। त्यतिबेला त्यसको असर कति पर्ला भन्ने आकलन गर्न सकिन्न। फेरि पनि यस्तो असर निम्त्याउने वा ननिम्त्याउने भन्ने पाटो व्यक्तिगत क्रियाकलापमै निर्भर रहन्छ। तसर्थ सकेसम्म आफू र अरूलाई पनि सुरक्षित राख्ने उपायका बारेमा हरेकले आफ्नो दायित्व सम्झेर सोच्नुपर्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.