अ लस्ट हिरो
एक योद्धाको सम्झना सधैं आउँछ। हिमालको चिसो काखमा १८०८ सालमा जन्मेका थिए उनी। रञ्जै बगाले थापा क्षेत्रीका नातित भीमसिंह थापाका छोरा अमरसिंह। नेपालको इतिहासमा अमर बने पनि कहींकतै उनको कदर गरिएको पाइएको छैन। इतिहासका योद्धालाई नेपालका विगतदेखि वर्तमानका शासकसम्मले किन व्यंग्य गरे ? थाहा हुन सकेन। यिनका पिता भीमसिंह थापा राष्ट्रनिर्माता पृथ्वीनारायणको सेनामा उमराव थिए।
पिताले युद्धमा वीरगति प्राप्त गरेपछि १८२० सालमा १२ वर्षको उमेरमा अमरसिंह थापा सेनामा भर्ना भए। उनी पृथ्वीनारायण शाहको शिक्षादीक्षामा हुर्किए। उनले आफूमा रहेको अद्भुत प्रतिभा हिमाली राज्यलाई एकढिक्का बनाउन लगाए। अद्भुत प्रतिभाका धनी भएर पनि उनी इतिहासमा निरीह देखिन्छन्। एकीकरणकालीन नेपालको इतिहासका पानामा अमरसिंह थापा नामका भारदारहरू दुई जना देखा पर्छन्। उनै अमरसिंहले एकीकृत नेपाललाई स्वर्ग बनाउन चाहेका थिए।
एक जना अमरसिंहले १८२५ सालमा सरदारको पदवी पाए भने १८५५ मा सरदार बने। यिनका बीच विभेद गर्न १८५५ सालदेखि एउटालाई ‘बडाकाजी’ त अर्कालाई ‘छोटाकाजी’ अमरसिंह थापाबाट सम्बोधन गर्न थालिएको इतिहासका दस्तावेजहरूले देखाउँछन्। ‘विदेशसित व्यापारिक सन्धि गरेर देशको रस चुसाउन हुँदैन’ भनेर अंग्रेजसँग रिसाएको सन्धिको यिनले विरोध गरेका थिए। देशभक्तप्रति सहानुभूति दर्शाउनुको साटो प्रधानमन्त्री दामोदर पाण्डेले समातेर झ्यालखानामा थुने। स्वामी महाराज रणबहादुर शाहले ब्रह्मपुत्रसम्म जय गर्ने वीर अमरसिंहलाई झ्यालखानाबाट मुक्त गरे। मुक्त गरिएका उनी काँगडाका राजा संसारचन्द्रलाई तह लगाउन खटिए।
नेपाल–अंग्रेज युद्घमा नेतृत्वदायी भूमिका
अमरसिंह थापा १८५५ सालमा ‘सरदार’ दर्जा पाउने बडाकाजी हुन्, जसको नेपाल एकीकरणका अतिरिक्त सन् १८१४–१६ को नेपाल–अंग्रेज युद्धमा नेतृत्वदायी भूमिका रह्यो। प्रस्टै भन्नुपर्दा उक्त युद्धको पश्चिमी मोर्चाको कमान्ड नै थापाको हातमा रह्यो। यस युद्ध अवधिमा उनले युद्धका केही मानक मात्र स्थापित गरेनन्, सँगै युद्ध कूटनीतिको नेपाली मानक पनि यसै कालावधिमा ठोस बन्यो। सम्पूर्ण विश्वले के थाहा पायो भने नेपाली आफ्नो देश र सार्वभौमिकताका लागि जत्रोसुकै बलिदान गर्न पनि तत्पर छन्। यी प्रसंग, योगदान र भूमिका नै यस्ता हुन् जसले अद्यावधि अमरसिंहहरूको उल्लेखनीय मूल्यांकन र विवेचनाहरू सामयिक र सान्दर्भिकसमेत बन्ने गर्छन्। जसले अलमोडा, कुमाउ, गडवाल, काँगडालाई एकीकरण गरी नेपालमा मिलाएका थिए।
नेपाली सिपाही युद्धमा तम्तयार थिए, जो अरिंगालको गोला झैं आक्रमण गर्न तम्तयार थिए। नेपालको पर्वत वज्रसमान बलियो किल्ला अंग्रेजले तोड्न फोड्न अवश्य सक्दैन। नेपाली आपसमा मिले भने कसैको केही लाग्दैन। आपसमा द्रोह हुन थाल्यो भने हार हात पर्नु स्वाभाविकै हो।
अमरसिंहहरूले गरेको योगदानका कारण अहिलेको पुस्ताले तत्कालीन पुस्ताबाट भएगरेका त्याग बलिदानमार्फत वाञ्छित शिक्षा, प्रेरणा एवं पौरुष्य आदि प्राप्त गरेर यो राज्य सुरक्षित र सुखी बनाऊन्। पृथ्वीनारायण शाहको सेनामा रहेका प्रतापि योद्धा रञ्जै थापाका छोरा भीमसिंह थापाको सम्झना गर्दै छु। शत्रुविरुद्ध बाघ भई झम्टने स्वभावका भएकाले पृथ्वीनारायणले यिनलाई ‘बाघ भीमसिंह’ भन्ने उपनामसमेत दिए। उनै बाघ भीमसिंहका छोरा अमरसिंहले भारतमा रहेको अंग्रेजलाई हिमाली क्षेत्रमा प्रभुत्व फैलाउन रोके।
नेपाल र भारतका दोसाँधका गाउँलेहरूमा झगडा चल्यो। भारतमा शासन गरेका अंग्रेजले ‘बुटौल र स्युराज’ हाम्रो भने। अंग्रेजसँग कटक नगर्ने नीति लिएको नेपालले सैयौं गाउँ छाडिदिएका थिए तर अंग्रेजले १८७१ सालमा युद्धको घोषणा गर्यो। दरबारमा गुरु रंगनाथ, दलभञ्जन पाँडे, रणध्वज थापाहरू युद्धका विरुद्ध थिए। बम शाह, हस्तदल शाही, अमरसिंहले समेत ‘हाम्रो निम्ति यो मौका अनुकूल छैन, हामी पूरा तयार छैनौं ! विचारले काम गर्नुपर्छ, अहिले लड्ने बेला छैन !’ भनेर महाराजाधिराजलाई पत्र लेखी पठाएका थिए। तर प्रधानमन्त्री भीमसेन थापा ‘लडाइँ गर्नैपर्छ !’ भनेर भन्थे। नेपाललाई छुने आजसम्म कसैको आँट पुगेको छैन। एक पटक साहस गरेर चिनियाँहरू आएका थिए, जितपुरको युद्धमा हार स्वीकारी सन्धि गरेर फर्किएका थिए। नेपालीहरूको वीरताले गर्दा अंग्रेजहरू उकालो उक्लँदै आउन सम्भव देखेका थिएनन्।
नेपाली सेना : अरिंगालको गोला
नेपाली सिपाही युद्धमा तम्तयार थिए, जो अरिंगालको गोला झैं आक्रमण गर्न तम्तयार थिए। नेपालको पर्वत वज्रसमान बलियो किल्ला अंग्रेजले तोड्न फोड्न अवश्य सक्दैन। नेपाली आपसमा मिले भने कसैको केही लाग्दैन। आपसमा द्रोह हुन थाल्यो भने हार हात पर्नु स्वाभाविकै हो। विजयका लागि आपसमा मेल सबैभन्दा ठूलो हतियार हो। जब लडाइँ अनिवार्य बन्दै गएको छ भने किन पर्खिने, लडाइँ गरौं यो भीमसेनको प्रस्ताव थियो।
पृथ्वीनारायण शाहको सेनाका शूरवीर लडाकू बाघ भीमसिंहले पलाञ्चोकको युद्धमा वीरगति प्राप्त गरेका थिए। त्यस बेलासम्म भीमसिंहका कृष्णहरि, अमरसिंह, नारायण, अकबर र आइमान सिंह गरी पाँच पुत्र जन्मिसकेका थिए। समयक्रममा बाघ भीम सिंहका माइला छोरा अमरसिंह इतिहासमा प्रसिद्ध भए। इतिहासमा जीवित पनि भए। अंग्रेजसँग युद्ध गर्न तम्तयार मलाउमा रहेका अमरसिंहसँग तीन हजार, सुरजगढमा भक्ति थापासित सात सय, घमण्ड थापासित पाँच सय, महानचन्दसित पाँच सय, दक्खिनतिर पाँच सय सिपाही थिए। अमरसिंहमा बहुमुखी प्रतिभा थियो।
निश्चय नै जनता र सिपाहीसँगको आत्मीय व्यवहार नभएसम्म कोही शीर्ष स्थानमा पुग्न सक्दैन। उनले पत्रमा लेखेजस्तै वास्तवमा नेपाली सिपाहीमा तालिमको कमी थियो। नेपाली सेनाको तयारी राम्रो थिएन। दरबारको निर्णय स्वीकार गरेर अमरसिंहलगायतका योद्धा युद्धको तयारीमा जुटेका थिए। अमरसिंह जुन किल्लामा जान्थे, त्यहाँका सेनामा उत्साह जगाउँथे। तिनको व्यवहारले सेनामा उत्साह थपिएको थियो। युद्धमा गतिलो हातहतियार र बन्दोबस्तीको पनि आवश्यकता पर्ने हुँदा यो काफी थियो।
अंग्रेज अभियान : फुटाऊ र शासन गर
अमरसिंहका छोरा रणजोरसिंह जैतक किल्लामा थिए। पृथ्वीनारायणले आफ्नो सेनामा युद्धकालमा वीरगति पाएका योद्धाको स्थानमा उसको पुत्रले स्वत: सैनिक सेवा पाउने नीति लागू गरेका थिए। त्यसैले अमरसिंहले पनि सानै उमेरमा गोर्खाली सेनामा सेवा गर्ने अवसर प्राप्त गरे। जसअनुसार १८१९ सालको मकवानपुर, त्यसैगरी कीर्तिपुरका युद्धहरूमा कान्तिपुर, भक्तपुर र पूर्वतर्फ किराँतभूमिका युद्धहरूमा यिनी सहभागी हुन पाए। हिन्डुरका राजा रामशरण सिंह मात्र होइन, नेपालमा गाभिएको काँगडाका राजा नाहानका भाइ किसन पनि अंग्रेजसँग मिलेका थिए। अमरसिंह अंग्रेजलाई अल्झाएर आफ्नो सैनिक शक्ति सुदृढ पार्दै थिए। यता अरिंगालको गोलाझैं गर्न चाहन्थे। समुद्रपारबाट आएका अंग्रेज फुटाऊ र शासन गर भन्ने नीतिमा निपूण भएकाले पश्चिमका पहाडी राजालाई आफ्नो हातमा लिन थालेका थिए। ती राजाहरू समुद्रपारका उपहार पाएर तन, मन र धनले अंग्रेजको सहयोग गरेका थिए।
इतिहासका पुस्तकमा यसबारे धेरै कुरो लेखिएको छ। तथापि प्रतापसिंह शाहको समयपछि बडाकाजी अमरसिंह आफ्नो स्पष्ट हैसियत र भूमिकासहित अघि बढे। जसले प्रताप सिंहका पालाको एक मात्र चितवन युद्धमा आफ्नो संलग्नता प्रस्तुत गरे। पृथ्वीनारायणकै जीवनकालको पूर्वतर्फको विजय अभियानले अमरसिंहलाई सफल सेनानायकको उचाइ प्रदान गरिसकेको थियो। प्रताप सिंहको निधनपछि सत्ता आफ्नो हातमा आलोपालो लिने निजका रानी तथा भाइहरूको नायबी कालमा पनि पूर्वतर्फको सफल सैनिक अभियानको कारण उपेक्षा गर्न सकेनन्। खासगरी रानीको नायबी कालमा थापा भारदारी सभामा समेत सामेल गराइए भने चौबीसी राज्यहरूमाथि आक्रमणको सैनिक अभियानमा पनि सँगसँगै संलग्न गरिए।
हिमालका नेपालीको रित्तो अंकमाल
पृथ्वीनारायणकालीन गोर्खाली सेनाबीच चौबीसी अभियानमा विजयको अर्थ हुन्थ्यो अर्थात् अमरसिंह थापालगायतका सेनानीहरूकै सैन्य वृद्धि। यही कारण नेपाल दरबार र सेनामा अमर सिंहको कीर्ति सुवास एवं प्रसिद्धि झन् फैलँदै गयो। अनेक सैनिक तथा कूटनीतिक कार्यमा उनलाई अघि सार्ने क्रम पनि सोही अनुपातमा बढ्दै गयो। दु:खद पक्ष १८४२ सालमा रानी राजेन्द्रलक्ष्मीको मृत्युपछि बेतियामा निर्वासित जीवन बिताइरहेका बहादुर शाह काठमाडौं फर्किएपछि पुन: दरबारिया गुटबन्दीको कालो खग्रास अमर सिंहहरूको व्यक्तित्वमाथि लम्किन थाल्यो।
अमरसिंहका नेतृत्वमा सिपाहीहरू जन्मभूमिको रक्षा गर्न स्वाहा हुन तयार थिए। देशलाई बचाउन आफ्नो रगत बगाउन तयार थिए सिपाही। लडाइँका हतियार तरबार, छुरी, भाला, खुकुरी, खुँडाजस्ता मात्रै पर्याप्त हुँदा हुन् त निश्चय नै रणसंग्राममा नेपाली सिपाहीले छप्काउने थिए। हिन्दुरका राजा अंग्रेजसित मिले एसियावासीलाई हिमालका नेपालीको रित्तो अंकमाल स्वीकार्य नभएको हुँदा स्थिति बडो जटिल थियो। हिन्दुस्थान पराधीन बन्न तयार थियो, एसियाबाट अंग्रेज धपाउने हिमालका नेपालीको प्रस्ताव स्वीकार्य नहुनु स्वाभाविक थियो। तर अमरसिंह हिमालको देश स्वतन्त्र राख्न चाहन्थे।
बहादुर शाहको पहिलो कदम भनेको रानीको समूहमा काम गरेको आशंकामा भारदारीबाट अमरसिंहलाई हटाइदिए। तर, बहादुर शाहले उनको सैनिक योगदानको चाहिँ चाहेर पनि उपेक्षा गर्न सकेनन्। शीघ्र नै उनलाई आफ्नो बृहत् पश्चिमी अभियानमा जीव शाहको सैनिक टोलीमा संलग्न गराई पर्वत–प्यूठान हान्न पठाउने निर्णय गरे। यसैगरी यसैताका सुरु भएको प्रथम नेपाल–तिब्वत युद्धमा पनि अमरसिंहको सक्रिय संलग्नता नै रह्यो र त्यस युद्धमा पनि उनले आफ्नो सैनिक योग्यता सिद्ध गर्ने राम्रो अवसर पाए।
ऐयासमा डुबेको नेपाल दरबार
भेरी पश्चिमको डोटी, सल्यान, जाजरकोट, दैलेख, बझाङलगायतका शक्तिशाली राज्य विजय गर्ने क्रममा निश्चय नै आफ्नो बुद्धि लगाएर योग्यता सिद्ध गरे। त्यसमा पनि महाकालीपारिका कुमाउ–गढवालका युद्धहरूले त अमरसिंहलाई नेपाली सेनाको चम्किलो तारा नै बनाइदिए। तर नेपाली सेनानीहरू यस प्रकारका जीवन–मरणका युद्धहरूमा लिप्त रहँदा पनि विवाद र ऐयासमा डुबेको नेपाल दरबार भने आफ्नो घिनलाग्दो सत्ता कलहमै संलग्न देखिँदा त्यसको दुष्प्रभावबाट नेपाली भारदारहरू जहाँ जसरी अघि बढ्दै गरेको शत्रु भेटिन्छ त्यही चट्टान बनी खड्गले छेक्ने निधोमा पुगे। देश खातिर मर्ने र मार्ने अठोट गरे। खलंगाको किल्लामा पूर्वजानकारी नगराएरै अंग्रेजले तोपद्वारा आक्रमण गरे। १८५२ सालताका गद्दीनसीन राजा रणबहादुरको स्त्रीलम्पट चरित्रले गर्दा नेपालको दरबारिया राजनीति चरम गुटबन्दी र सत्ताकलहमा कहिल्यै नउक्सिने गरी डुबिसकेको थियो।
एकल बनेकी ब्राह्मणी कान्तिवतीको आशक्तिमा डुबेर राजा रणबहादुर सत्ता परित्यागको बिन्दुसम्म पुग्दै थिए। यस काण्डमा पनि अमरसिंह संस्थापनकै पक्षमा उभिए। संयोगवश गद्दी परित्यक्ता पूर्वराजा रणबहादुर शाह काशी पलायन भए पनि नायबी हातमा लिएकी निजकी रानी सुवर्णप्रभादेवीले पनि अमरसिंहलाई माया नै गरिन्। यतिमात्र होइन, आफ्नो भारदारीमा सामेल गरिन्। रणबहादुर पनि लामो समय बनारसमा टाक्सिनु परेन। चार वर्षपछि नै काठमाडौं फर्किन सफल बनेपछि पुन: गद्दीनसीन राजा गीर्वाणयुद्धको नायबी आफ्नो हातमा लिए।
नालापानी, नालागढ, रामगढी, तारागढी, जुरजुरे र चम्बा गुमेको क्षण अर्कोतर्फ बदलिएको परिवेशमा काठमाडौंको सत्ताका निर्णायक व्यक्ति अमरसिंहकै नातेदार भीमसेन थापाको हातमा केन्द्रित भयो जो आफू सामान्य पृष्ठभूमिबाट देशको केन्द्रीय सत्तामा हावी हुन पुगेबाट दरबारका हस्तीहरूलाई पन्छाएर आफ्नो प्रभुत्व र वर्चश्वको सुदृढीकरण गर्ने नीति लिन पुगेका थिए। खलंगाको युद्धमा अंग्रेज जर्नेल जिलेस्पी मारिए। अमरसिंह थापाले लडाइँ नहोस् भनेर धेरै प्रयत्न गरेका थिए। देहरादुनको सानो दुर्गमा पाँच सय नेपाली बसेका थिए, त्यहाँ बाँचेका सत्तरीजना मात्रै लड्दै नेपालको गौरव उचो बनाएर स्वेच्छाले किल्ला त्यागे।
बलभद्र, चुमरा राना, जसपाउ र रेवन्त बाँकी सिपाहीसहित जैतक किल्लामा रणजोरकहाँ मिसिन पुगे। शार्दूलजंग, कृष्णदत्तलगायत धेरै दल एकत्रित भई लड्न थाले। नेपाली सेनाले नालापानी, नालागढ, रामगढी, तारागढी, जुरजुरे र चम्बा सबै गुमाए। मलाउमा काजी अमरसिंहलाई अंग्रेजहरूले बलियो घेरा हालेर राखेका थिए। केन्द्रबाट कुनै सहयोग पाएका होइनन्। उनका साथमा भक्ति थापाहरू पनि थिए तर अंग्रेजको घेरा तोडेर निस्कने कुनै साधन छैन। अंग्रेजसँग तोप नहुँदो हो त सो लडाइँ नेपालले हार्ने थिएन।
गुरुज्यू गजराज मिश्र भित्रभित्रै अंग्रेजसँग मिलिसकेका रहेछन्। अमरसिंहलाई गढवालको राजा बन्ने प्रस्ताव अंग्रेजले पठाएका थिए। सत्तरी वर्षका भक्ति थापा स्फूर्ति साहसका साथ देउथल किल्लाबाट निस्केर अंग्रेजी फौजलाई काट्दै अघि बढे। राजधानीले मलाउँमा अमरसिंह कहाँ जान भनेर पठाएको सेना अलमोडामै बस्यो। सहयोग गर्न समयमा नै त्यो सेना आइपुगेको भए जित अवश्य हुने थियो। राजधानीबाट पैसा मात्रै पठाएको भए पनि लड्ने सिपाही यतै भर्ना गर्न सक्थे।
नेपाली सेनामा धर्म र जातको विभेद
नेपाली सेना आधा पेट खाएर अनेक कष्ट सहेर लड्दै थिए। नेपाली सेनामा धर्म र जातको विभेद थियो। जातभातको कुरोले गर्दा पनि स्थानीय जनताको मन जित्न नसकेको हो। अंग्रेजलाई गाँजर र मूलाजस्तै काट्दै गरेका भक्ति थापा छातीमा गोली थापी ढले। शत्रु सेनाको तोप खोस्न लागिसकेको सेना थापा ढलेपछि फर्कियो। कतिपय सिपाही बन्दुक फालेर अंग्रेजी सेनामा मिल्न नगएका पनि होइनन्। यस्तो अवस्थामा नेपालको जित कसरी हुन्छ ?
अंग्रेजी सेनामा कोही अजम्मरी बन्ने पनि होइन। एउटा सानो चूकले गर्दा आज नेपाली विदेशका गल्ली–गल्ली र ढोकामा मगन्ते दास भईकन हिँड्नु परेको छ। लडाइँमा सबैले एकै ठाउँ ताकेर बन्दुक हानेको भए बैरी अवश्य धुलोमा मिल्ने थियो। अमरसिंह काजीका साथमा रहेका सेना एक जना बाँचुन्जेल पनि युद्ध गर्न दृढ थिए। केही सिपाही अंग्रेजसँग मिल्न गएको पाएर अमरसिंह चिन्तित थिए। त्यसमाथि झन् भक्ति थापाको मृत्युले छट्पटाए। भीमसेन थापाको हातमा सत्ता आएपछि अमरसिंहलगायतका हस्तीलाई मोफसल पठाई आफ्नो प्रशासनिक प्रभुत्व सुदृढ गर्नेतर्फ अग्रसर भए।
भीमसेन थापाको नीतिले अमरसिंहलाई कुनै फरक पारेन तर देशलाई ठूलो असर पार्यो। त्यस्तो असर त्यस बेला प्रकट भयो जब नेपालले १८७१–७२ सालमा ब्रिटिस भारतसँग डरलाग्दो युद्ध लड्नु पर्यो। त्यसै कारण मलाउमा पनि नेपालको हार भयो। भीमसेन थापा प्रधानमन्त्री मात्रै होइन, फौजको सेनापति जनरल पनि थिए। टिष्टादेखि काँगडासम्म, ब्रह्मपुत्रदेखि गंगा–जमुनासम्म फैलिएको विशाल नेपालको क्षति भयो। हो, समर मैदानमा लड्नका लागि मान्छे पुगेन। केन्द्रबाट सिपाही पुगेन, आवश्यकताअनुसार भर्ना गर्न धन केन्द्रले उपलब्ध गराएन। प्रशस्त नेपाली हुँदा हुन् र ठाउँठाउँमा मानिस राख्न सकेको भए अंग्रेजका तोप नेपालीका हुन्थे। कप्तान बलभद्र कुँवरले आवश्यकताअनुसार हजार पाँच सय मानिस बढी पाएको भए लडाइँको स्वरूप नै अर्कै हुने थियो।
बमको चाहनाले नेपाल आधा फ्याक
थापाकाजी रणजोर सिंहले जैतक किल्लालाई नै बलियो बनाउन सकेका थिएनन्। प्रबल रानाले राजधानीबाट ल्याएको सेनालाई चौतारिया बम शाहले आफैंकहाँ राखे ? बडाकाजी अमरसिंहकहाँ पठाएनन् किनभने कुमाउमा पनि फौजको कमी थियो। सरदार भक्ति थापाले आक्रमण गर्दा त्यस्तै आक्रमण अरू दुईतिरबाट गर्न पाएको भए शत्रु डाँडा काटेर भाग्थे। हतियार मात्र होइन, मानिसकै कमी भएको हुँदा नेपालीको हार भएको हो। पैसाको कमीले गर्दा सिपाहीले खान पाएनन्। बाध्यतावश बाँच्नका लागि दुईचार ठाउँमा लुटे पनि।
यस्तो कार्यले सोझा रैतीको मनमा फिरंगी जाति भन्ने भान पर्न गयो। धन, जन र सामानको अभावले नेपाली शतरुद्रासम्म हट्नु पर्यो। सिमला, गढवाल र कुमाउको तराईबाट हात धुनुपर्यो। खासमा नेपाली सेनाले राजधानीबाट चाहिँदो मद्दत पाएन। सबैभन्दा पहिले झुलाघाटको साँध गरेर बम शाहले देशप्रति गद्दारी गर्न पुग्यो। डोटीका राजा बन्ने बम शाहको चाहनाले पनि नेपाल आधा फ्याक भएको हो। सबभन्दा ठूलो कुरा त लडाइँ लड्नका लागि मान्छेकै अभाव हो।
मलाउमा बडाकाजीले आत्मसमर्पण गर्दा अढाई सयका करिबमा सिपाही थिए। सो युद्ध नेपालका लागि आत्मघाती भए पनि युवा जोशका भीमसेन थापा युद्धकै पक्षमा उभिए जसले यथार्थमा तत्कालीन समयको यथार्थ बुझेकै रहेनछन्। दु:खको कुरो, अमरसिंहलगायतको पंक्ति भीमसेनको नीतिले गर्दा मोफसलमा भएकाले युद्ध रोक्ने नीतिमा खासै योगदान गर्न सक्ने अवस्थामा थिएनन्।
नेपालको एक तिहाइ गुम्दाको पीडा
तसर्थ मुलुकले सो घातक नेपाल–अंग्रेज युद्ध बेहोर्न विवश हुनुपर्यो। जहाँ नेपालको एक तिहाइ भूभाग मात्र गुमाउनु परेन, सुगौली सन्धिजस्तो असमान र अपमानजनक सन्धि बेहोर्न पनि विवश हुनुपर्यो। नेपाल राष्ट्रको एकतालाई साझा उन्नतिखातिर राष्ट्रनिर्माण गरेका थिए। विश्वासघात गरेर राजबैठकमा स्थिर आसन गरेका कारण नेपालको शिर सदासर्वदाका लागि झुक्यो। नेपालीको आपसमा विश्वास, पर्याप्त सेना, धन र हतियारको अभावले अंग्रेजसँग हार्नु परेको हो, यो अभाव पूरा गर्न सकेमा भोलि जित्ने विश्वास अमरसिंहमा थियो। अमरसिंह अंग्रेजको चाहनाअनुसार सन्धि गर्ने पक्षमा थिएनन्। राजगुरु रंगनाथ र गजराज मिश्र अंग्रेजको सम्पूर्ण कुरो स्वीकार गरेर सन्धि गर्नुपर्छ भन्ने पक्षमा थिए।
अंग्रेजसँगको युद्धमा जीवनमरणको भूमिका खेल्ने अमरसिंहको भूमिका र युद्धगाथा गाउन आजका पुस्ताले पुरानो पुस्ताबाट सिक्नुपर्ने हुन्छ। अमरसिंहलगायतका धेरै योद्धा कपटपूर्ण सन्धि गर्नु हुँदैन, आफ्नो स्थिति
बलियो बनाएर मात्र लड्न कम्मर कस्नुपर्छ भन्ने पक्षमा थिए। आफ्नो शिर ठड्याएर देशको शिर उठाउन योद्धाहरू लड्न तयार थिए। नेपाली जनता घरघरबाट निस्किएका थिए। नेपाललाई पराधीन हुन नदिन हातहातमा तरबार लिएका थिए। सिन्धुलीगढीनेरको रणक्षेत्रमा हातमा नांगो तरबार लिएर अमरसिंह लड्दै थिए।
राष्ट्र धर्मको विचारले सिपाही युद्धमैदानमा रगत बगाउँदै थिए। दु:खको कुरा, दरबारले राष्ट्रघात गरेर अंग्रेजसामु घुँडा टेक्यो। दरबारले गरेको राष्ट्रघाती सुगौली सन्धिका कारण आज बलभद्र, अमरसिंह, उजिरसिंह, बहादुर शाह जस्ताको स्मृतिसमेत तिनका परिवारले मात्रै मनाउनुपर्ने भएको छ। राज्य या नेपालका विगतदेखि वर्तमानसम्मका साहसी वीर योद्धाहरूलाई विस्मृतिमा पठाउने पक्षमा रहेको व्यवहारले बताउँछ।
अमरसिंहले पचाउन नसकेको पराजय
जसले यो देश बनायो, जीवनमरणको युद्ध लड्यो अनि आफ्नो बलिदान दियो उही बिरानो ! अमरसिंहहरू लडिरहेका थिए ज्यानको बाजी थापेर। वीरहरूको आँखा छली नेपालको हार भयो भनी सेतो झन्डा फहरायो दरबारले। अनि अमरसिंह सिन्धुलीबाटै गोसाइँकुण्ड गए अनि कहिल्यै फर्केनन्। देश पराजयको पीडा योद्धा अमरसिंहले पचाउन सकेनन्, दरबारका छलीहरूको मुख हेर्नुको साटो गोसाइँकुण्डमा गए। वीर अमरसिंहको देशप्रतिको भावनाको प्रचारप्रसार अहिलेसम्म हुन सकेन। दरबारको राजनीतिमा जुन प्रवृत्ति हिजो हावी थियो, वर्तमान समयमा राज्य सञ्चालन गर्न पुगेका नेतामा त्यही मूल्य रहेको पाइएको छ।
देशप्रति माया नै छैन, यसो भन्नु त गलत हुनेछ तर उनीहरूका पवित्र सोचले मूर्त रूप लिनुअघि नै विकृतिको जञ्जालमा फस्न पुगेको पाइन्छ। मूल्य र उपयोग पारमार्थिक बन्नु पथ्र्यो तर त्यसो हुन सकेन नेपालमा। यो शोधको विषय बन्न पुगेको छ। आज हामी कति लज्जास्पद क्षणमा बाँचेका छौं ? आज अमरसिंहजस्ता हस्तीहरूको सही इतिहास र योगदान पनि समुचित मूल्यांकन गर्न असमर्थ छौं। के आजका हामी नेपालीको अन्तरात्मा कर्मविहीन नै हो त ? नेपाल देश बनाउने र बचाउनेलाई नसम्झने धर्म लिएकै हौं त ?