बाइडेनको पहिलो विदेशी बैठक क्यानेडियन प्रधानमन्त्रीसँग
वासिङटन: अमेरिकी राष्ट्रपति जो बाइडेनले क्यानेडियन प्रधानमन्त्री जस्टिन ट्रुडोसँग अर्को साता बैठक गर्ने भएका छन् ।
गत महिना पदभार सम्हालेपछि बाइडेनको यो विदेशी सरकार प्रमुखसँगको पहिलो औपचारिक बैठक हो । आगामी साता बाइडेन र ट्रुडोबीच भर्चुअल बैठक हुनेछ ।
ह्वाइट हाउसका अधिकारीहरुका अनुसार बाइडेनले उक्त बैठकमा अमेरिका र क्यानडाबीच बलियो र गहिरो सम्बन्धलाई जोड दिनेछन् । बाइडेनले क्यानडाका अरु मन्त्रीहरुसँग पनि भर्चुअल बैठक गर्ने बताइएको छ । उक्त बैठकमा द्वीपक्षीय र वैश्विक मुद्दाहरुमाथि छलफल हुने शनिबार जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।
क्यानडाका प्रधानमन्त्री ट्रुडोले भने आगामी बैठकलाई स्वागत गरेका छन् । उनले ट्वीटरमा यसबारे लेख्दै आफूले बैठकलाई स्वागत गरेको प्रतिक्रिया दिएका छन् ।
प्रायजसो अमेरिकी राष्ट्रपतिहरु आफ्नो पहिलो भ्रमण मेक्सिको वा क्यानडामा गर्दैआएका छन् । तर निवर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पले साउदी अरेबिया रोजेका थिए ।
क्यानडाका प्रधानमन्त्री जस्टिनले यसअघि बाइडेनसँग जलवायु परिवर्तनको मुद्दामा सहकार्य गर्न तयार रहेको प्रतिक्रिया दिएका थिए ।