चित्र हेरियो, चरित्र हेरिएन
हामी आफ्नो चित्र राम्रो देख्न ऐना सफा गर्ने गर्छौं, अनुहारतिर ध्यान दिँदैनौं। समाजको चित्र पनि त्यस्तै छ। राजनीति फोहोरी खेल त भएकै हो, समाज पनि कुरूप भएको छ। लोभको खाडल अति गहिरो हुँदा यसको सतह भेट्न सकिएन र त हाम्रो अर्थ बजार पनि प्रदूषित बनेको छ। समाजको चित्र हेर्दा बैतडीकी भागरथी, कन्चनपुरकी निर्मला, रुकुमकी सम्झना अनि गंगामायाहरू नै प्रतिनिधि पात्र छन्। कलिलो उमेर भनौं नाबालक हत्यारा बनेको छ। नाबालिकाको ज्यान गएको छ। हत्या र हिंसाको मानसिकता यस्तो उमेर समूहमा कसरी आयो, सम्बन्धित पक्षले खोजी गर्नुपर्छ।
हालै उजागर भएको निमित्त पात्र दोलखा माझीगाउँको लक्ष्मण माझी र उसको तथाकथित ठूलो कम्पनी पीआर ट्रेड इन्टरप्राइजेजको राजस्व छली र भर्खरै छापामा आएको जगदम्बा समूहको किर्ते कामको धन्दा प्रकरणले हाम्रो अर्थ बजारको चित्र देखिन्छ। अनि राजनीतिको चित्र त आफूले भाग नपाउँदा जनता गुहार्न सडक ओर्लने अरूबेला जनता बिर्सने संस्कार त देखिएकै हो।
दैनिक रोजीरोटीका समस्या, आर्थिक विपन्नता, दैनिक अधिक खर्चको जोहो गर्नुपर्ने र महँगीको मारले किचिँदा विवशताले मानिसले चरित्रको ख्याल गर्न सकेको छैन।
धनको मोह : आर्थिक चित्र मानिसलाई धनको मोह जागेपछि कतिसम्म नीच व्यवहार गर्छ भन्ने कुरा दोलखा तामाकोसी बस्ती माझीगाउँका माझी परिवारलाई फसाइएको नयाँ चित्रले स्पष्ट हुन्छ। माछा मारेर जीविका गर्ने माझी परिवारमा जब करोडौं रकम राजस्व बुझाउन पत्र आउँछ, घटना उजागर हुन्छ। संगठित रूपमै यत्रो अपराध हुँदा न स्वयं व्यक्ति आफूलाई थाहा छ, न समाज कसैलाई। जब दूराचारीको चंगुलमा फसाइएर ठूलाठूला कम्पनी खोलिन्छ, बैंक लोनदेखि वाणिज्यमा दर्ता, भ्याट, प्यान दर्तादेखि कर छली प्रकरणसम्म पुगिसकेपछि माझी परिवारमा रकम त्यो पनि निकै मोटो थैली बुझाउन पत्र आउँछ तब पो ती निरीह र विपन्न नागरिकले थाहा पाउँछन्– करोडौंको कारोबार भइसकेको आफ्नो नामको कम्पनीबाट ! दुईचार हजारको लोभमा पर्दा सोझा व्यक्ति कसरी ठगिन्छन् भन्ने प्रतिनिधिमूलक घटना हो यो ! यसमा संलग्न तराईतिरको लक्ष्मण राय र उसको सहयोगी रन्जन सिंहले गरेको कुकर्मले हाम्रो अर्थ बजारमा बिचौलियाको जगजगी छ भन्ने स्पष्ट हुन्छ।
गरिबलाई हातमुख जोर्ने समस्या हुन्छ, केही राहत पाइन्छ भन्नासाथ जसले जे दिए पनि स्विकार्ने र जता जाऊँ भन्दा पनि ‘हुन्छ’ भन्ने हाम्रो समाज र समाजभित्रको गरिबी पीडालाई कसले हेर्ने ? देशमा संघीयता, लोकतन्त्र, गणतन्त्र तीन तहको दैलैमा कर उठाउने सरकार छ, स्थानीय जनप्रतिनिधि गन्नै नसकिने संख्यामा छन् र पनि जनता निरीह छन्। यो कसको दोष ? त्यसो त बजारमा बिचौलिया यातायातको सिन्डिकेट, तरकारीदेखि सम्पूर्ण कृषि बजार, जग्गा दलाली, मालपोत, भूमिसुधार या ललिता निवास, जता हेर्यो त्यतै पाइन्छन् ठग्ने गिरोह, संगठित र असंगठित धूर्तहरू। नीतिले कमाउ, रीतिले बाँच र प्रीतिले बाँच्न देऊ भन्ने पूर्वीय मूल मन्त्रलाई बिर्संदा समाज कुरूप बनेको छ।
रूपको मोह : सामाजिक चित्र
समाजमा बयस्क अपराधी पनि छन् भर्खरैका कलिला पनि ! १८ वर्षमुनिका नाबालक ७७४ जना हाल बालसुधार गृहमा रहेको तथ्यांक प्रकाशित भएको छ। नाबालक अपराधीलाई जेलको प्रावधान छैन, तिनीहरूलाई सुधार गृह र अपराधको आधा सजायको कानुनी व्यवस्था छ देशमा ! यसैमा परेको छ हाल भनिएको भागरथीको अपराधी १६ वर्षको कलिलो केटो ! नेकपाको बलियो सरकारका प्रमुख ओलीले तीन वर्षको कार्य फेहरिस्त बताउँदै सबै नेपालीलाई ढुक्क हुन आश्वासन दिए तर संघीय राजधानीको भक्तपुर सुधार गृहमा १७२ जना, पूर्वको मोरङमा १८६ जना, बाँकेमा १२३ जना, कास्कीमा ८७ जना, रूपन्देहीमा ७९ जना, पर्सामा ५७ जना, मकवानपुरमा ३२ जना, डोटीमा ३८ जना नाबालक अपराधको कसुरमा बालसुधार गृहमा रहेको कारागार व्यवस्थापन विभागको तथ्यांक छ।
आव ०७५÷७६ मा २२३० थान बलात्कार घटनामा २२२७ जना पक्राउ परेका मध्ये १३२५ जना त २५ वर्ष उमेरमुनिका देखिएका छन् भने तीमध्ये २९ जना नाबालक रहेछन्। आव ०७६÷७७ मा २१३४ मुद्दामा २४५० जना पक्राउ परेकोमा १३०६ जना त २५ वर्ष तलका र नाबालक ३४० जना देखिएका छन्। हाल यो आवको पुससम्मको तथ्यांक हेर्दा १२६० मुद्दामा १४२७ जना पक्राउ पर्नेमध्ये १६७ जना नाबालक देखिएका छन्। प्रहरीको अभिलेखमा गएको अढाई वर्षमा मात्रै पाँच हजार ६ सय ३४ जना बलात्कृत भएका छन्। १६ जनाको हत्या भएको छ।
एक दिनमा औसत सातजना बलात्कृत हुन्छन्। गएको दुई महिनामा एकजनाको हत्या भएको छ। बलात्कृत हुनेमा पाँच वर्षकी बालिकादेखि वृद्धा पनि छन्। प्रदेश १ मा यस्तो घटनामा ११५३ जना बलात्कृत हुनेमा पाँचजनाको हत्या, प्रदेश २ मा ७७६ जना बलात्कृतमा चारजनाको हत्या, वागमती प्रदेशमा ६२७ जना बलात्कृतमा दुईजनाको हत्या, काठमाडौं उपत्यकामा ६७४ जना बलात्कृतमा दुईजनाको हत्या, लुम्बिनी प्रदेशमा ९२२ बलात्कृत, कर्णाली प्रदेशमा ३५२ जना बलात्कृत, सुदूर पश्चिम प्रदेशमा ४९२ बलात्कृतमा तीनजनाको हत्या, गण्डकी प्रदेशमा दुईजनाको हत्या भएको तथ्यांक छ। यसले हाम्रो समाजको चित्र, रूपको मोह प्रस्तुत हुन्छ।
चरित्रलाई चित्रण गर्ने भनेकोे अनुशासन र नैतिक बन्धन हो। समाजको विकासक्रममा देवत्व थियो, नैतिक पतन होइएला भन्ने डर थियो। अहिले न नैतिक शिक्षा छ, न देवत्वको भाव। कसैलाई डर भर नै छैन। मन परेपछि जे गरे पनि हुन्छ। दैवी सहारा, दैवी कानुनलाई बिर्सिएपछि मानवनिर्मित कानुनले मात्र समाजलाई व्यवस्थित गर्न सक्दो रहेनछ। ठूला साधु, सन्तदेखि उच्चतहका व्यक्ति पनि यस्ता घटनामा संलग्न देखिन्छन्। त्यसो त मानवनिर्मित कानुनकै भरमा विदेशमा रातभरि नै एक्लै किशोरी बाटोमा निर्धक्क हिँडिरहेका देखिन्छन्, तिनलाई कसैले जिस्क्याउँदैन, छुँदैन र मध्यरातमा एक्ली युवती मोबाइलमा फोन गर्दै सडकमा निर्धक्क हिँडेको दृश्य देख्न सकिन्छ।
देशमा चरित्रको खडेरी परेको छ। अगुवाले नै बाटोमा फोहोर गरेपछि अरूले के गर्ने ? बजार धानिनसक्नु छ। नाना, खाना र छानाको लोभ सबैलाई हुन्छ। अभिभावक छोराछोरीलाई मनग्गे पैसा दिन सक्दैनन्। अबोध बालिकाहरू प्रलोभनमा पर्छन्। आफन्त, नाताभित्रै, शिक्षक, केटा साथीबाट बलात्कृत हुन पुग्छन्। कति घटना बाहिर आउँदैनन्। समस्या थुप्रो लागेपछि बाध्यताले घटनाको उजागर हुन्छ। कोही इज्जतको डरले आफैं थामथुम पार्छन्। धेरै केस गुपचुपमै सेलाउँछ। जब लेनदेन मिल्दैन, गर्भ रहन्छ वा परिवेश आफ्नो नियन्त्रण बाहिर जान्छ; त्यसपछि मात्रै घटना बाहिर आउँछ, यो हाम्रो समाजको बेथिति चित्र हो।
राजनीति नै समाधानको उपाय
घरका धारा शुद्ध हुन पानीको मुहान शुद्ध हुनुपर्छ। देशका सबै उपप्रणाली सक्रिय र शुद्ध हुन माउ प्रणाली राजनीति नै शुद्ध हुनुपर्छ। राजनीति हाँक्ने देशका दलहरूले युवाहरूलाई ढुंगा हान्न सिकाएका छन्। भ्रातृ संगठनको काम समाजमा नैतिकता सिकाउनुपर्ने हो। तर आगजनी, तोडफोड, वितण्डा, कुटपिट, हिंसा, चोरी, बलात्कारमा संलग्न हुन्छन्, जोसिला युवा। युवाहरूलाई नित्य रोजगार र नैतिक बन्धनमा राख्न सकिएन, पाप र पुण्यको ख्याल भएन। यस्तो समाज निर्माण र विकसित हुँदै आएकाले माउनीति राजनीतिका संवाहकले नै यसको निकास दिन जरुरी छ। दैनिक रोजीरोटीका समस्या, आर्थिक विपन्नता, दैनिक अधिक खर्चको जोहो गर्नुपर्ने र महँगीको मारले किचिँदा विवशताले मानिसले चरित्रको ख्याल गर्न सकेको छैन।
राजनीतिको डोरी समात्नेहरू कुबेतको अमीरशैलीमा जीवन चलाउन पुगेका, थोत्रा चप्पलहरूको बढुवा भई आलिसान महल, चिल्ला गाडी, होटलका खानामा रमेको देख्दा बिचरा निमुखाको जिब्रो त रसाइहाल्छ अनि उनीहरू चाहेर, नचाहेर विकृत मानसिकता बोकेर आपराधिक गतिविधिमा संलग्न हुन पुग्छन्। राजनीतिकर्मीहरूले भोटबैंक र लिस्नो चढ्ने भर्याङका रूपमा जनतालाई नहेरेर समाजशास्त्रीय दृष्टिले हेर्न सके यस्तो परिवेशको अन्त्य हुन सक्छ।