के भन्छ विकासवादी सिद्धान्त ?

के भन्छ विकासवादी सिद्धान्त ?

जैविक विकासले धेरै पुस्तामा जीवहरूका लक्षणमा भएको परिवर्तनलाई जनाउँछ भन्ने तथ्य कुनै नौलो रहेन


किन पुरुषहरू ठूला, शक्तिशाली र बुद्धिमान छन् ? किनभने तिनका पुर्खाले उत्तम महिला पाए। किन महिला नरम र समर्पित र घरेलु छन् ? किनभने तिनीहरूका पुर्खाहरूले उत्तम पुरुष पाए र परिवारसँग राम्रो व्यवहार गरे। किन मानिस रौंविहीन छन् ? किनभने तिनीहरूका पुर्खाहरू मैथुनिक रूपमा उत्साहित थिए। किन होट्टेन्टोट (दक्षिण अफ्रिकाको एक जति) महिलाको पछाडिको भाग ठूलो छ (डार्विनकै भाषामा) ? किनभने यो जनजातिका लागि यसो हुनु सौन्दर्यको मानक थियो। वीरको वीरता प्रकृतिमा पहिलो छनोट थियो। यी धारणा हुन्– सन् १८७१ मा ‘द डिसेन्ट अफ म्यान एन्ड सेलेक्सन इन रिलेसन टु सेक्स’ नामक पुस्तक प्रकाशित गर्ने प्रकृति वैज्ञानिक चाल्र्स डार्विनका। ‘विकासवाद’ र ‘डार्विन’ विश्व वैज्ञानिक इतिहासका पर्यायवाची शब्द हुन्।

पृथ्वीमा जीवन र जीव अस्तित्वको व्याख्यानका लागि डार्विनको ‘प्रजातिहरूको उत्पत्ति’ र ‘विकासवाद’ को कुनै विकल्प छैन। सँगसँगै विश्वको वैज्ञानिक इतिहास केलाउँदा (डार्विन वैज्ञानिक क्रान्तिका एक सशक्त पात्रका रूपमा समेत देखिन्छन्।

सन् १८०० मा वैज्ञानिक जिन–ब्याप्टिस्ट लेमार्कले विकासको एक सुसंगत सिद्धान्त प्रस्ताव गरे। विकास एक ढिलो र क्रमिक प्रक्रिया हो भन्ने लेमार्कको विश्वास थियो। लेमार्कले जिराफको उदाहरण दिँदै भनेका थिए– सन्तानमा त्यस्ता गुण मात्रै सर्छ; जुन आमाबाउले अत्यधिक प्रयोग गरेका हुन्छन्। अर्थात् घासका लागि सधैं माथिसम्म टाउको पुर्‍याउने जिराफले लामो घाँटी भएको सन्तान उत्पादन गर्छ। तर पछि गएर उनको सिद्धान्त गलत प्रमाणित भयो।

जैविक विकासले धेरै पुस्तामा जीवहरूका लक्षणमा भएको परिवर्तनलाई जनाउँछ भन्ने तथ्य कुनै नौलो रहेन। बीसौं शताब्दीको सुरुमा आनुवंशिकी विज्ञानको विकास नभएसम्म जीव विज्ञानीहरूले आमाबाउबाट सन्तानसम्मका गुणहरूको उत्तराधिकारका लागि जिम्मेवार संयन्त्रहरू बुझेनन्।

आनुवंशिकीको अध्ययनले के देखायो भने वंशानुगत गुण ‘डीएनए’ बाट उत्पन्न हुन्छ; जुन एक पुस्ताबाट अर्को पुस्तामा सर्दै जान्छ। डीएनएमा गुणसूत्र –जीन) भनिने खण्ड हुन्छन्; जसले कोषहरूको विकास र कार्यका लागि आवश्यक प्रोटिन उत्पादनलाई निर्देशित गर्छ। यसैले ‘डीएनए’ जैविक रूपको निरन्तरताका लागि जिम्मेवार छ र पुस्तौंपुस्तासम्म यसले कार्य गर्छ भनेर वैज्ञानिकहरू भन्छन्।

वैज्ञानिक प्रमाणहरूका आधारमा भन्नुपर्दा सन्तानहरू सधैं आफ्ना आमाबाउजस्ता हुँदैनन्। मानवसहित कुनै पनि प्रजातिमा प्रायः जीव केही हदसम्म आनुवंशिक रूपमै परिवर्तनशील हुन्छन्। डीएनएको हकमा यौन प्रजनन प्रजातिमा नयाँ पुस्ताका लागि प्रत्येक आमाबाउले उनीहरूको सन्तानमा आधा–आधा मात्र योगदान गर्छन् भनेर वैज्ञानिकहरू भन्छन्। थपमा भन्ने हो भने यौन प्रजनन प्रणालीका प्राणी हुन् वा अमैथुनिक प्रजनन प्रणालीका जीवहरू जस्तै जीवाणु नै किन नहुन्, डीएनएले एक पुस्तादेखि अर्को पुस्तामा हुने उत्परिवर्तनका रूपमा चिनिने परिवर्तनसमेत पार गर्न सक्छ।

डार्विनले जीवको क्रमागत उन्नतिलाई उच्च महत्त्व दिँदै ‘होमो सेपियन्स’ अर्थात् हामी मानवलाई विकासवादी प्रक्रियाको शिखरमा राखे। तर उनले परिवर्तनको सन्दर्भमा मानवको प्रतिस्पर्धीका बारेमा कहिल्यै पनि चर्चा गरेनन्। न उनले मानवमा विषाणुको खतराबारे उल्लेख गरे। मानवलाई उनले प्रतिस्पर्धाभन्दा बाहिर राखे।

रोजर लेविन र रबर्ट ए फोलीले एक पुस्तकमा (सन् २००६ मा प्रकाशित) लेखेका छन् सन् १८५९ मा डार्विनले आफ्नो युग निर्माण पुस्तक ‘प्रजातिहरूको उत्पत्ति’ प्रकाशित गरे; जसमा उनले विकासले कसरी काम गर्‍यो र विज्ञानले कसरी प्राणी र प्रक्रियामा अलौकिक सहाराविना जीवनको ढाँचा वर्णन गर्न सक्छ भन्ने उदाहरण दिए। तर यो पुस्तकमा उनले मानवलाई थोरै स्थान दिए। विकासवादी सिद्धान्तको महत्त्वपूर्ण पात्रका रूपमा उनले यो पुस्तकमा वनस्पति र जनावरलाई मात्र सीमित राखे।

उन्नाईसौं शताब्दीको मध्यतिर डार्विनकालीन समयमै विकासवादको प्रभावशाली वकालत गर्ने एक दार्शनिक थिए ब्रिटिस रेलवे इन्जिनियर हर्बर्ट स्पेन्सर (१८२०–१९०३)। उनले त्यो बेला इङल्यान्डमा सार्वजनिक बौद्धिक व्यक्तित्वका रूपमा प्रभाव जमाएका थिए। सन् १८६२ मा ‘विकास परिकल्पना’ का साथ ‘पहिलो सिद्धान्तहरू’ रूपान्तरणवादको प्रकाशन गर्दै स्पेन्सर बेलायती बहसमा प्रवेश गरेका थिए; जसले कानुन, समाज, र मानवताको विकासका बारेमा त्यसबेलाको बेलायती समाजमा बेग्लै प्रतिबिम्ब बनाए। वास्तवमा डार्विनले सन् १८६९ मा ‘प्रजातिहरूको उत्पत्ति’ को पाँचौं संस्करणमा ‘प्राकृतिक चयन’ को पर्यायवाचीका रूपमा प्रयोग गरिएको डिजाइनकर्तालाई ‘योग्यतम, योग्य वा उपयुक्तको अस्तित्व’ का शब्दहरू यिनैबाट सापटी लिएका हुन्।

यौन प्रजनन प्रणालीका प्राणी हुन् वा अमैथुनिक प्रजनन प्रणालीका जीवहरू जस्तै जीवाणु नै किन नहुन्, डीएनएले एक पुस्तादेखि अर्को पुस्तामा हुने उत्परिवर्तनका रूपमा चिनिने परिवर्तनसमेत पार गर्न सक्छ।

थोमस हेनरी हक्सलीले ‘प्रकृतिमा मानिसको स्थानका रूपमा प्रमाण’ नामक मानव विकाससँग सम्बन्धित पहिलो पुस्तक सन् १८६३ मा प्रकाशित गरेका थिए। पुस्तक एप्स (वानर) र मानव, भ्रूणविज्ञान र प्रारम्भिक मानवको जीवाश्मबीच गरिएको शारीरिक रचनाको तुलनात्मक अध्ययनमा आधारित थियो। यद्यपि यो पुस्तक महत्त्वपूर्ण भए पनि मानव विकासबारे व्याख्या गर्न पर्याप्त भने थिएन। मानव विकासवादी प्रक्रियाको एउटा अंश र खण्ड हो भन्ने डार्विनको प्रारम्भदेखि नै स्पष्ट धारणा थियो। दक्षिण अमेरिकाको पुछारतिरका मूल निवासी टिएरा डेल फुगियन्ससँग ‘बिगल’ यात्रामा भएको भेटपछि उनी यसमा विश्वस्त थिए। तर ‘प्रजातिको उत्पत्ति’ नामक पुस्तकमा रणनीतिक रूपमै उनले मानवबारेमा धेरै प्रश्न नबनाएका हुन्।

विकासवादी सिद्धान्तको विश्लेषण गर्दै एक पुस्तकमा रोजर लेविन र रबर्ट ए फोलीले लेखेका छन्– विकासको गतिशीलताले वास्तवमा पुरातनवादी ‘ग्रेट चेन’ को मान्यता नहटाए पनि यसले प्रगतिमा भने नयाँ आयाम थप्यो। क्रमानुगत विकासको सिद्धान्तले प्राकृतिक संसार र मानवता दुवैमा देखिएको पदानुक्रमको व्याख्या गर्‍यो। जस्तै– प्रकृतिमा मानवको स्थान अन्य जीवजन्तुभन्दा ‘माथि’ रहेको मानिनु नै हो। यसो हुनुमा मानवविशेष गुणहरू जस्तै– बुद्धिमत्ता, आध्यात्मिकता र नैतिक न्यायले सम्पन्न छ भन्ने नै हो। सन् १८५९ अघि रङका आधारमा जातको ‘तल्लो’ वर्गदेखि ‘उच्च’ वर्गहरूमा ग्रेडेसन जुन अस्तित्वको महान् चेनको एउटा हिस्सा भएको थियो; त्यो भने अब क्रमागत–उन्नति वा विकास प्रक्रियाद्वारा वर्णन गरिएको छ। डार्विन आफ्नो सोच लुकाउन चाहँदैनथे भन्ने तथ्य त विभिन्न वैज्ञानिक विवरणले प्रस्ट्याउँछ नै। विकास र यसको प्रक्रियाबारेमा प्रकाशित ‘प्रजातिहरूको उत्पत्ति’ मा प्रस्ताव गरिएको क्रमागत उन्नतिको मूल विषय जुन जीव र वनस्पतिसँग गाँसिएको थियो; त्यसलाई डार्विन दलदलमा पार्न चाहँदैनथे।

यद्यपि यो पुस्तकमा उनको मानवसँग गाँसिएको विषयबाट पन्छिने मनसायमा भने देखिँदैनन्। फलतः सन् १८७१ मा ‘द डिसेन्ट अफ म्यान एन्ड सेलेक्सन इन रिलेसन टु सेक्स’ अर्थात् ‘मानव वंश र मैथुनिक चयनबाट छनोट’ प्रस्ताव गर्दै एक पुस्तक प्रकाशित गरे। माइकल रुजले एक पुस्तकमा लेखेका छन्– जब कसैले यो पुस्तक अध्ययन गर्छ, उसले वास्तवमै विचित्रको अनुभव गर्छ। किनकि पुस्तकको अधिकांश कोण मानव प्रजातिको होइन; समग्रमा ‘मैथुनिक छनोट’ को व्याख्या समावेश विकासको एउटा विस्तारित निबन्धको हो।

डार्विनले दोस्रो छनोटको सिद्धान्तमा के तर्क गरेका छन् भने संघर्ष जहिले पनि खाना र ठाउँका लागि मात्र हुँदैन; सीधा जोडीका लागि पनि हुन सक्छ। यो संयन्त्र वा प्रक्रियालाई ‘लैंगिक वा मैथुनिक चयन’ को आधारबाट डार्विनले दुई भागमा विभाजित गरेका थिए। वास्तवमा प्रकाशित पुस्तक ‘प्रजातिहरूको उत्पत्ति’ मा डार्विनले प्रस्ताव गरेको सिद्धान्त प्राकृतिक छनोट विश्वव्यापी रूपमा जैविक परिवर्तन लागि प्रमुख शक्ति मानिन्छ। प्राकृतिक चयनले आकार, प्रकार र तिनीहरूको वंशाणुमा हुने उत्परिवर्तनले सिर्जना गरेको जीवहरूको रूपहरूको भिन्नतामा समेत कार्य गर्छ। सँगसँगै प्राकृतिक चयनद्वारा सञ्चालित परिवर्तनहरूको दर र परिमाणमा ती वंशाणुले कसरी विकास नियन्त्रण गर्छन् भन्ने पनि हो। तर प्राकृतिक चयन मात्र महत्त्वपूर्ण विकासवादी शक्ति होइन भन्ने मान्यता पनि वैज्ञानिकहरूको छ।

अल्फ्रेड रसेल वालेसले मानव उत्पत्तिका सन्दर्भमा डार्विनको प्राकृतिक दृष्टिकोणलाई महत्त्वपूर्ण हिस्सा बनाउँदै मानव कसरी विकसित हुन सक्छ भन्नेबारेमा एउटा प्रेरणादायक छोटो निबन्ध पनि लेखेका थिए। तर पछि उनी अध्यात्मवादबाट मोहित भए। मानव जाति कुनै पनि अवसरपूर्ण प्राकृतिक घटना हुन सक्दैन भन्ने विचारमा दृढ भए। मानव उत्पत्तिका लागि कहींबाट मार्गनिर्देश हुनुपर्छ भन्ने उनको मान्यता रह्यो। यो निष्कर्षको समर्थनमा उनले के तर्क गरे भने मानवमा ‘रौंविहीनता र महान् बुद्धिमत्ता हुनु’ वा ‘अत्यधिक मात्रामा भएको मस्तिष्क शक्ति’ जस्ता विशेषता छन् र ती विशेषता प्राकृतिक छनोटबाट उत्पादन हुनै सक्दैनन्।

वालेस स्थानीय आदिवासीसँग नजिक थिए र उनीहरूको अनौठो गुणको प्रभावले नै उनले यी निष्कर्ष निकालेका हुन्। उनका निबन्ध ‘प्राकृतिक चयनको सिद्धान्तमा योगदान’ नामक पुस्तकमा संग्रहित छ; जुन सन् १८७० मा प्रकाशित भएको थियो।

वालेसको निष्कर्ष डार्विनका लागि अनुपयुक्त थियो, तर यसले डार्विनलाई प्रस्ट हुनेतर्फ उत्प्रेरित गर्‍यो। यसैले मानवसँग सन्दर्भ जोड्दै प्राकृतिक चयनविना सहायता धेरै विशिष्ट मानवीय सुविधा उत्पादन गर्न सक्दैन तर मैथुनिक छनोटले गर्न सक्छ भन्ने विचार डार्विनले अगाडि सरेका हुन्। उनको तर्क थियो– मानवको विशेषता वा चरित्र धेरै सुन्दरता र चाहनाका विभिन्न स्तरमार्फत आयो। यद्यपि विशिष्ट भए पनि वालेसले उल्लेख गरेका सुविधा विकासको दायराबाट बाहिर निकाल्ने र विज्ञानको दायरा बाहिर नहुनेजस्ता भने थिएनन्। डार्विनले मानवजातिका लागि उपयोगी देखेर प्रयोगका लागि लैंगिक वा मैथुनिक छनोटका बारेमा लामो छलफल लेख्नुको कारण पनि सायद यही हुनुपर्छ।

 —कट्टेल चाइनिज एकेडेमी अफ साइन्सेस बेइजिङमा सहप्राध्यापक छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.