मुस्ताङको ३८ सय मिटर उचाईमा उच्चगतिको इन्टरनेट
जोमसोम : नेपाल टेलिकमले हिमाली जिल्ला मुस्ताङको ३८ सय मिटर हाईअल्टिच्यूडमा तिब्र गतिको इन्टरनेट जडान गरेको छ। टेलिकमका अनुसार नेपालमै पहिलो पटक अहिलेसम्मकै हाईअल्टिच्यूडक्षेत्रमा इन्टरनेट सेवा विस्तार गरेको हो।
धार्मिक तथा पर्यटकीय मुस्ताङको वारागुङ मुक्तिक्षेत्रमा पहिलो पटक तिब्र गतिको ईन्टरनेटका लागि फाईबर टु दी होम (एफटीटीएच)प्रविधि विस्तार भएको नेपाल टेलिकम बाग्लुङका वरिष्ठ इन्जिनियर केशव शर्माले जानकारी दिए।
नेपाल टेलिकमले देशभर तिब्र गतिको इन्टरनेट सेवा विस्तार गर्ने क्रममा बुधबार वारागुङ मुक्तिक्षेत्र १ र २ का वडामा एफटीटीएच फाइबर नेट विस्तार गरेको उनले बताए।
नेपाल टेलिकम जोमसोम शाखाले वारागुङ मुक्तिक्षेत्रको खिङ्गा, झारकोट, पुराङ रानीपौवा, मुक्तिनाथ, छेङ्गुर, झोङ र पुडाक लगायतका गाउँमा फाइबर टू दी होम विस्तार गरेको टेलिकम जोमसोम शाखाका कार्यालय प्रमुख सुमनराम श्रेष्ठले जानकारी दिए। उनका अनुसार टेलिकम जोमसोमले यसअघि मुस्ताङको घरपझोङको ५ वटै वडा र वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४ को कागबेनीमा इन्टरनेट सेवा बिवतार गरिसकेको छ।
वारागुङ मुक्तिक्षेत्रको वडा १ र २ मा यसअघि स्थानीयले वाईम्याक्स इन्टरनेट सेवा प्रयोग गर्दै आएका छन्। मुक्तिनाथ क्षेत्रका स्थानीय तथा त्यहाँ पुग्ने पर्यटकले मोवाइल डाटा प्रयोग गर्ने गथ्र्ये। मुक्तिक्षेत्रमा सेवा विस्तार भएसंगै पर्यटक तथा स्थानीयलाई इन्टरनेटको सेवा लिन सजिलो भएको स्थानीय पर्यटनकर्मी सुरज गुरुङले बताए।