नृत्यका पर्याय कजिस
काठमाडौं : गाउँघरको पूजाआजा, विवाहमा होस् या गीतको भिडिओमा होस् पञ्चैबाजाको आवाजमा मोहित हुन्छन् उनी। कहीँ कतै गीत बजिरहेको सुन्दा हातखुट्टा चल्मलाउन थाल्छन्। उनलाई नाच्न मनपर्छ। बाँसुरी, मुरलीको धुनमा स्वर्गीय आनन्द भेट्छु भन्छन्। यसैले पनि होला उनलाई संगीतका धुनहरूले पछ्याइरहेझैं लाग्छ।
कहिले बाजा बजाएको स्वरमा छमछमी नाचिरहेका हुन्छन् त कहिले कल्ले बोलायो भन्दै नृत्यबाटै प्रियसीलाई खोजिरहेका हुन्छन् उनी। उनलाई गाउँले स्वर, स्थानीय भाका र लोकसंगीत औधी मनपर्छ। कोरियोग्राफर काजिस श्रेष्ठ आफ्नो संगीतसँगको सम्बन्ध सुनाउँछन्। पेसाले उनी म्युजिक भिडिओमा कोरियोग्राफी गर्छन्।
सयौं गीतमा उनले कोरियोग्राफी गरिसकेका छन्। यस्तै आफैँ अभिनय गरेर जीवन्त बनाएका म्युजिक भिडियोको संख्या पनि निकै छ। डान्स त उनको सहयात्री नै भयो, यसबाट अलग हुने कुरै भएन। यसका साथै निर्देशनमा समेत उनको दक्खल छ।
रौतहटका रैथाने काजिसको नृत्य मोह भने बच्चैदेखिको हो। तर स्कुले जीवनमा यसले फस्टाउने मौका पाएन। एसएलसीपछि जब कलेज पढ्न चपुर गए तब त्यहाँ कर्मा लामालाई भेट्ने मौका पाए। लामाले चपुरमा कल्चर सेन्टर खोलेर नृत्य सिकाउँथे। काजिसलाई हिरो बन्न मन लाग्थ्यो। यसका लागि नाच्न जान्नुपर्छ भन्ने बुझेका थिए उनले।
काठमाडौं आएपछि साधना कला केन्द्रमा केही महिना नाच सिके अनि सिकाउने पेसामा लागे। नेहा सिने आर्ट हुँदै केही डान्स सेन्टरमा सिकाउने गर्थे। यसै क्रममा म्युजिक भिडियोमा नाच्न थाले। नृत्य शिक्षक शिवम पोखरेलसँगको भेटले उनलाई म्युजिक भिडियोमा डान्स गर्ने र अभिनय गर्ने मौका दियो।
पहिलो पटक नाचेर पाँच सय पारिश्रमिक पाएका काजिस अहिले भने चल्तीका कोरियोग्राफर बनिसकेका छन्। उनको सफलताको पछाडि निरन्तरको मेहेनत, लगाव र धैर्य गर्न सक्ने बानी छ। पैसा कमाइन्छ भनेर प्रश्न गर्नेलाई काजिसले जवाफ दिएका छन्। हरेक दिन व्यस्त रहन्छन्। सुटिङमा गर्नुपर्ने काम र टिम हेरेर एउटा भिडियोमा काम गरेको ३५ देखि ४० हजारसम्म पारिश्रमिक लिने काजिस मेहेनतले जुनसुकै फिल्डमा पनि सफल बन्न सकिने बताउँछन्।
उनले महानायक राजेश हमाल, पल शाह, दिलीप रायमाझी, पुष्प खड्कादेखि नायिका पूजा शर्मा, आँचल शर्मा, वर्षा शिवाकोटी, अनु शाह, केकी अधिकारी, दीपिका प्रसाईंसम्मलाई उनले नचाएका छन्। मोडल दुर्गेश थापादेखि सागर लम्साल बले, प्रकाश सपूत, विमल अधिकारी, शंकर बीसी, सुनील क्षेत्री, अञ्जली अधिकारी, करिश्मा ढकाल, एलिशा शर्मा, प्रिज्मा–प्रिन्सी खतिवडा रियाशा दाहाल गरिमा शर्मासम्मले उनको कोरियोग्राफीमा कम्मर मर्काएका छन्। उनले कोरियोग्राफी गरेका लाइदिमकी मोहनी, के भनौं हजुर, झ्यालैमा, चिनो मायालाई जाली रुमाल, वरको छायाले, सल्लैको धुप राम्रो, गौथली चरी, कल्ले बोलायो, नगर पीर माया, बाजा बजाउँदै, नैना रेसमलगायतले दर्शकको मन जितेका छन्।