मूर्त–अमूर्त सम्पदाको जीवन्त दस्तावेज

मूर्त–अमूर्त सम्पदाको जीवन्त दस्तावेज

मानव संस्कृतिमा मूर्त र अमूर्त सम्पदाहरू एकअर्कामा पूरक छन्। मूर्त र अमूर्त सम्पदाले भरिपूर्ण देश नेपालको प्राचीन सभ्यता पशुपतिनाथसँग जोडिएको छ। संसारमा मानवजातिको उत्पत्तिसँगै कलाको उत्पत्ति भएको हुनुपर्दछ। भाषाको उत्पत्तिभन्दा पहिले आदिमानवहरूमा विभिन्न भावहरू दिए। त्यसैले लेखनकलाको उत्पत्तिभन्दा पहिले मूर्तिकला र प्रतिमाको थालनी भइसकेको देखिन्छ। वेद तथा उपनिषद्हरूमा देवताको रूपको वर्णन गरिनुबाट मूर्त चित्रहरू प्राचीन नमुना हुन् भन्न सकिन्छ। अमूर्तको अर्थ मूर्ति नभएको, आकार नभएको तर इन्द्रियसंवेद्य निराकार स्वरूप हो। पूर्वीय सभ्यतामा अमूर्त कलाअन्तर्गत वायु, आकाश, काल, दिशा, आत्मालाई अमूर्त कलामार्फत उजागर गरिएको पाइन्छ। मूर्तिहरूमा भएका भावमुद्रासँग आधारित भई देवताहरूका अलगअलग नामकरण गरेबाट पनि अमूर्त कलाको महत्त्व स्पष्ट हुन्छ।

द्वापरयुगको अन्त्यमा लिंगरूपी ज्योतिलिंगका रूपमा अभिर्भाव भएका पशुपतिनाथ र नेपाल पर्यायवाचीका रूपमा लिने गरिन्छ। विश्वमै सांस्कृतिक परिचायक बिम्बका रूपमा प्रसिद्ध भएका हिन्दू धर्मावलम्बीका आराध्यदेव पशुपतिनाथको महिमा प्राचीन कालदेखि नै सर्वाेत्कृष्ट छ। पशुपतिनाथ र पाशुपत क्षेत्रको इतिहास पौराणिक कालसम्म जोडिएकाले यो प्राचीन धरोधर स्थल हो। पशुपतिनाथ मन्दिरलगायत थुप्रै देवीदेवताका प्राचीन स्वरूपका मठमन्दिर यस क्षेत्रमा छन्। तिनको स्थापना र विकास, सांस्कृतिक महत्त्व, चाडपर्व र जात्रा, यसको व्यवस्थापनमा जुटेका संघसंस्थाहरूको गति आदि अध्ययन गर्नु निकै जटिल र महत्त्वपूर्ण कार्य हो।

ग्रन्थमा विविध विषयवस्तुसँगै तत्सम्बन्धी प्राचीन देवीदेवताहरूको सचित्र वर्णन गरिएको छ। पाशुपत क्षेत्र र त्यहाँका देवीदेवतालगायत जात्रा र पर्वहरूको उत्पत्तिाका सम्बन्धमा रहेका ऐतिहासिक तथ्यहरू, किंवदन्तीहरू र सत्यतथ्य प्रमाणहरूलाई समावेश गर्नु प्रस्तुत ग्रन्थको मूल विशेषता हो।

पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथलगायत यहाँका मूर्त र अमूर्त सम्पदाहरूको सांगोपांग चित्रण गरिएको पाशुपत क्षेत्रको सांस्कृतिक सम्पदा (मूर्त र अमूर्त) विशाल ग्रन्थ प्रकाशन गरेको छ।  सात सय पृष्ठको यस ग्रन्थका प्रधान सम्पादक डा. प्रदीप ढकाल र डा. मिलनकुमार थापा छन् भने कार्यकारी सम्पादकको भूमिका प्रा.डा. सोमप्रसाद खतिवडा र गोपीकृष्ण ढुंगानाले निर्वाह गरेका छन्। प्रस्तुत ग्रन्थ तीन खण्डमा विभाजित छ। पहिलो खण्डमा दुई वटा लेखहरू समावेश छन्। पहिलोमा पाशुपत क्षेत्रमा रहेका मूर्त र अमूर्त सम्पदाहरूको परिचय दिइएको छ। विभिन्न कलामूर्तिको तालमान र आंगिक अनुपातको परिचयबाट सुरु गरिएको यो लेखमा नेपाली कलाको विकासक्रम, नेपाली शैव मूर्तिकला, प्रतिमाशास्त्र, शैवमूर्तिहरूको वर्गीकरण, शिवलिंग, उमामहेश्वरमूर्ति, संहारमूर्ति, मूर्तिकलाका अमूर्त पक्ष, पूर्वीय दर्शनमा मूर्तिपूजाको महत्त्व आदिबारे प्रकाश पारिएको छ। दोस्रो लेखमा पाशुपत क्षेत्रको भौगोलिक विवरण छ। १३ सय मिटरको उचाइ भएको वाग्मती नदीको किनार र ६ सय मिटरको फरकमा १४ सय ५० मिटरको उचाइमा रहेको श्लेषमान्तक वनले सुशोभित यस क्षेत्रमा बलौटे माटो र आग्नेय चट्टान आदिबारे उल्लेख छ।

दोस्रो खण्डमा पाशुपत क्षेत्रमा रहेका मूर्त सम्पदाहरूको उत्पत्ति, विकास र वर्तमान अवस्था र विस्तृत विवरण एवं विविध कलाकृतिका बारेमा चर्चा गरिएको छ। लामाछोटा २६ अनुसन्धानात्मक लेख समावेश गरिएको यस खण्डको पहिलो लेखमा पशुपतिनाथ मन्दिरको परिचयका साथै यहाँका प्राचीन वास्तुकला, गर्भगृहका कलाकृति, बाहिरी गर्भगृहका कलाकृति, मन्दिरका ढोकाहरू, ६४ लिंगको नाम र स्थान, तोरणका कलाकृति, मन्दिरका तलाहरूको विवरण, भित्ताका कलाकृति आदिको चर्चा छ। दोस्रोमा पशुपतिनाथ मन्दिरका प्रांगणका कलाकृतिहरूको परिचय दिइएको छ भने तेस्रोमा पशुपतिनाथ मन्दिरको दक्षिणतर्फ रहेको प्रताप मल्लले निर्माण गरेको कोटिलिंगेश्वर मन्दिरको विस्तृत वर्णन छ। चौथोमा आगमघर प्रांगण र त्यहाँका देवीदेवताको चर्चा छ।

पाँचौँमा नासननी र आसपासको क्षेत्र र मन्दिरहरूको जानकारी, छैटौंमा बद्रीनाथ मन्दिर, परिसर र शिवलिंगहरूको वर्णन, सातौंमा रुद्रागारेश्वर परिसर, आठौंमा शंकराचार्य मन्दिर, नवौंमा शंकराचार्यमठ, दसौंमा भकुनटोल क्षेत्र, एघारौंमा कैलाश क्षेत्र र गौरीघाट परिसरको महत्त्व र विशेषता, बाह्रौंमा सूर्यघाट परिसर र त्यहाँका गुफा आदिबारे लेखिएको छ। तेह्रौंमा आर्यघाट परिसर र त्यहाँका मन्दिरको वर्णन, चौधौंमा वत्सलेश्वरी परिसर, पन्ध्रौंमा भष्मेश्वर परिसर र त्यहाँका कलाकृति, सोह्रौंमा राजराजेश्वरी परिसर र नवदुर्गा, सत्रौंमा पञ्चदेवल र त्यहाँका शिवलिंग, अठारौंमा वनकाली मन्दिरका साथै त्यहाँका कलाकृतिहरूको महत्त्व, उन्नाइसौंमा तिलगंगा र पिंगलास्थान, बिसौंमा भुवनेश्वरी मन्दिरबारे लेखिएको छ। एक्काइसौंमा इँटापाखा क्षेत्र, मन्दिर तथा शिवलिंगहरू, बाइसौंमा जयवागेश्वरी क्षेत्रका मन्दिरहरू, तेइसौंमा नवाली टोल, सिफल र चाबहिल क्षेत्रका मन्दिर र तिनको महत्त्व, चौबिसौंमा मृगस्थली र त्यहाँका शिवालय, पच्चिसौंमा गुह्येश्वरी मन्दिर, क्षेत्र र कलाकृतिको वर्णन र छब्बिसौं लेखमा विविध कलाकृतिबारे सूक्ष्म अनुसन्धान छ।

तेस्रो खण्डमा पाशुपत क्षेत्रका अमूर्त सम्पदाहरूको विश्लेषण गरिएको छ। जसमा पन्ध्र लेखहरू समावेश छन्। पहिलो लेखमा पशुपतिनाथको पूजा परम्परामाथि प्रकाश पारिएको छ। यसमा प्रामाणिक रूपमा पशुपतिनाथसँग सम्बन्धित अभिलेखीय प्रमाणहरू लिच्छवि कालदेखिका पाइए तापनि पाशुपत क्षेत्रमा पाइएका केही प्राचीन कलाकृतिले यसको इतिहास लिच्छवि कालभन्दा धेरै अघिसम्म पुग्ने देखिएको उल्लेख छ। अझ वंशावली र पुराणहरूको आधारमा त पशुपतिनाथ तथा पाशुपत क्षेत्रको इतिहास अत्यन्त प्राचीन रहेको देखिने गर्दछ। पशुपतिनाथको उत्पत्ति ज्योतिर्लिङ्गका स्वरूपमा भएको वर्णन नेपाल महात्म्य, हिमवत्खण्डपुराण र पशुपति पुराण जस्ता साहित्यमा पाइन्छ। तिनमा पशुपतिनाथको उत्पत्ति सम्बन्धमा विभिन्न कथा एवं किंवदन्तीहरू दिइएका छन्। श्रीचक्रपूजा विषयमा पनि स्पष्ट कुरा ग्रन्थमा छ। पशुपतिनाथमा प्रयोग हुने मन्त्र अत्यन्त गोप्य रहने हुँदा कदापी जो पायो त्यहीलाई दिनु हुँदैन भन्ने मान्यता रही आएको छ। मन्त्र शास्त्र अन्तर्गत उपासनाका तीन मार्ग बताइएका छन्, जुन दक्षिण मार्ग, वाम मार्ग तथा मिश्र मार्ग हुन्। सात्विक देवताहरूको सात्विक उपासना, सात्विक मन्त्र तथा सात्विक सामग्रीद्वारा गरिने मार्गलाई दक्षिण मार्ग वा सात्विक मार्ग भनिन्छ। दक्षिण मार्ग सात्विक मार्ग हुने हुँदा यसलाई प्रकट मार्ग पनि मानिन्छ। मद्य, मांस, मत्स्य, मुद्रा र मैथुन आदि पञ्चमकारले भैरवभैरवीको पूजाआजा हुने गर्दछ। यस्तो पूजा तामसी प्रकृतिका देवीदेवताहरूको गरिन्छ।

ग्रन्थमा भएका केही विषयवस्तु अध्ययन अनुसन्धान संक्षिप्त रूपमा उठाएकाले विस्तृत रूपमा समावेश गरी हरेक विषयका छुट्टाछुट्टै ग्रन्थ निकाल्न सकेमा यो क्षेत्र र यस क्षेत्रमा भएका ऐतिहासिक धरोहरहरूले विश्वलाई नै आकर्षित गर्न सक्ने देखिन्छ। अन्त्यमा हजारौं वर्षदेखि जीवित परम्परालाई अझ जाज्वल्यमान बनाउने काम यस ग्रन्थले गरेको छ।

दोस्रोमा पाशुपत क्षेत्रका चाडपर्व र पर्वपूजाका विस्तृत वर्णन छ। लिच्छविकालमा पाशुपत क्षेत्रमा थुप्रै मन्दिर र मूर्ति स्थापना भई तिनका पूजादि कार्यका लागि गुठी राखिएका प्रसस्त उदाहरणहरू पाइन्छन्। धेरैको चासोको विषय मूलभट्ट र भट्टहरूको पारिश्रमिकमा रहेको पाइन्छ। कोषले पछिल्लो समयमा सबैको मासिक तलब, भत्ता र सुविधा तोकेकै छ। यसको सुरुआतको विषयबारे भने चर्चा खासै छैन। पशुपतिनाथका पुजारीको पारिश्रमिकको चर्चा गर्ने पहिलो लिखत वि.सं. १८६७ सालको गीर्वाणयुद्ध विक्रम शाहको पालाको पाइएको छ। त्यसमा पशुपति भण्डारतहबिलका पुजारी तथा रैरकमीको पारिश्रमिक थमौति गरेको देखिन्छ। तर त्यसभन्दा अघिका कुनै पनि लिखतमा पशुपतिनाथका भट्टहरूको पारिश्रमिक बारेमा चर्चा गरिएको पाइएको छैन। तेस्रोमा त्यहाँका जात्रापर्वहरू, चौथोमा पशुपतिनाथको परिक्रमा, पाँचौंमा वासुकीनाथको नित्य र पर्वपूजा, छैटौंमा पशुपति भेगका घाट, घाटे वैद्य र अन्त्येष्टि क्रिया, सातौंमा पाशुपत क्षेत्रका गुठी, आठौंमा गुह्येश्वरीको नित्य र पर्वपूजा, नवौंमा जयवागेश्वरीको नित्य र पर्वपूजा, दसौंमा गोरखनाथ मन्दिरको नित्य र पर्वपूजा, एघारौंमा अन्य देवीदेवताको नित्य र पर्वपूजा, बाह्रौंमा मूर्त कलाका अमूर्त सांस्कृतिक पक्षको विशेषता, तेह्रौंमा पूजाआजामा बजाइने बाजाहरू, चौधौंमा मठ, अखडा र आश्रमहरू र पन्धौंमा परम्परागत रैरकमीहरूबारे लेखिएको छ। यसरी तीन खण्ड र त्रिचालिस अनुसन्धानात्मक लेखहरूद्वारा यो ग्रन्थको मूल पाठ निर्माण भएको छ। यसका अतिरिक्त प्रत्येक लेखको अन्त्यमा सन्दर्भसामग्रीसूची, लेखकहरूको बिचमा विषयसँग सम्बन्धित किंवदन्तीहरू पनि समावेश गरिएको छ। 

ग्रन्थको अन्त्यमा परिशिष्ट १ अन्तर्गत १०८ वटा अभिलेखहरूको संक्षिप्त जानकारी दिइएको छ। अभिलेखहरूको वर्णनका क्रममा पशुपति प्रांगण स्तम्भलेख (वि.सं. ५०६), तिलगंगा पशुपतिको विष्णुविक्रान्त मूर्तिलेख (वि.सं. ५२४), पञ्चदेवल शिवलिंग अभिलेख (वि.सं. ५४५), पशुपति जयेश्वर जलहरी अभिलेख (वि.सं. ५४९), वनकाली पशुपति अभिलेख, छत्रचण्डेश्वर स्तम्भलेख, छत्रचण्डेश्वरको मूर्तिलेख, सुवर्ण गोमिनिको जलहरी अभिलेख (वि.सं. ७०३), पशुपति जयदेव प्रशस्ति (वि.सं. ७९०), पशुपति जलद्रोणी अभिलेख (वि.सं. १३८३), ज्योतिर्मल्लको पशुपति अभिलेख (वि.सं. १४६९) जस्ता अभिलेखहरूको वर्णन गरिएको छ। यसैगरी आर्यघाटपारिका शिवालयका अभिलेख (वि.सं. १९१५–१९२१), जितजंग राणाको अभिलेख (वि.सं. १९३१), जगत्जंगबहादुर राणाको बसाहा अभिलेख (वि.सं. १९३७) र तुलादान, स्तम्भलेख, पशुपति लगायतका १०८ वटा अभिलेखको तिथिमितिका आधारमा उत्पत्ति, कार्य र क्षेत्रका बारेमा वर्णन गरिएको विषय विस्तृत रूपमा पाइन्छ।

ग्रन्थमा विविध विषयवस्तुसँगै तत्सम्बन्धी प्राचीन देवीदेवताहरूको सचित्र वर्णन गरिएको छ। पाशुपत क्षेत्र र त्यहाँका देवीदेवतालगायत जात्रा र पर्वहरूको उत्पत्तिका सम्बन्धमा रहेका ऐतिहासिक तथ्यहरू, किंदवन्तीहरू र सत्यतथ्य प्रमाणहरूलाई समावेश गर्नु प्रस्तुत ग्रन्थको मूल विशेषता हो। ग्रन्थमा पशुपतिलग–ायत थुप्रै देवीदेवताको ऐतिहासिक स्वरूपको विवेचना गरिएको छ। विभिन्न राजामहाराजाबाट लिखित अभिलेखहरू, पाशुपत क्षेत्रको गुरुयोजनाजस्ता विषयलाई पनि समेटिएकोे छ।

कुनै पनि प्राचीन स्थल र त्यस क्षेत्रको सांस्कृतिक महत्त्व तथा गरिमाका साथै त्यसको उद्भव र विकासको गहन र विस्तृत अध्ययन, अनुसन्धान गरी ग्रन्थ सम्पादन गर्नु आफैंमा महान् कार्य हो। जसमा कोषका वर्तमान पदाधिकारी र कर्मचारीको अथक प्रयास देखिन्छ। पशुपतिनाथ मन्दिर विभिन्न धर्म, सम्प्रदाय, जातजाति र भाषाभाषीको साझा मन्दिर हो भन्ने तथ्यलाई ग्रन्थले पुष्टि गरेको छ । यहाँ मनाइने जात्रापर्वहरूमा विभिन्न धर्म र सम्प्रदायका मानिस समावेश हुने पनि उल्लेख छ। हिन्दू र बौद्ध आदि धार्मिक सहिष्णुतालाई अझ प्रगाढ बनाउन ग्रन्थले महत्त्वपूर्ण भूमिका खेलेको छ। नेपाल र नेपाली मात्र होइन, विश्वका एक अर्बभन्दा बढी सनातनीका गौरव पशुपतिनाथलाई विश्वमा चिनाउन र पशुपतिनाथको सांस्कृतिक महत्त्वलाई व्यापक रूपमा दर्साउनसमेत ग्रन्थ सफल भएको छ।

पाशुपत क्षेत्रमा मठ, मण्डप, अखडा, आश्रम, मन्दिर, मूर्ति, सालिक, पाटी, सत्तल, पौवा, द्यःछे, स्तूप, बिहार, डबली, द्वार, स्तम्भ, घण्टा, चौतारा, ढुंगेधारा, कुण्ड, अग्निहोत्रशाला, अखण्डधुनी, जङ्गल, बगैंचा, इनार, विद्याआश्रम अभिलेखहरू, गुफा, घाट, चोक, पोखरी, पार्क, द्वीप, तीर्थ, समाधि, सतीस्थल, ध्यानस्थल, वृद्धाश्रम, कुकुर र साँढे आश्रय स्थललगायत अनेकौँ मूर्त कलाकृतिहरू छरिएर रहेका छन्। यी कलाकृतिले विभिन्न युग र कालखण्डलाई प्रतिनिधित्व गरेका छन्। यस्ता पुरातात्त्विक महत्त्वको इतिहासलाई जीवन्त राख्नु पशुपति क्षेत्र विकास कोषको महत्त्वपूर्ण जिम्मेवारी हो। यस कुरालाई अन्तःस्करणबाट मनन गरी सम्पूर्ण नेपालको परिचायकका रूपमा स्थापित रहेको पाशुपत क्षेत्रका उपर्युक्त मूर्त कलाकृतिहरूको सूक्ष्म र विस्तृत अध्ययन गर्नुपर्दछ। नेपालको इतिहास, कला, धर्म, परम्परा र समाज तथा संस्कृतिको उद्गम स्थल मानिने पाशुपत क्षेत्र ऐतिहासिक र पुरातात्त्विक स्थल भएकाले यसको विस्तृत अध्ययन गर्ने कार्यको सुरुआत यस कृतिबाट प्रारम्भ भएको छ।

ग्रन्थमा केही सीमा पनि छन्। घाटहरूबारेको अनुसन्धान अझ विस्तृत होस् भन्ने पाठक अपेक्षा देखिन्छ। रंगीन पृष्ठ एकै ठाउँमा पारेर तस्बिरहरू एकै ठाउँमा राखिएका छन् तर तस्बिरहरू सम्बन्धित शीर्षकको लेखमै भैदिए सुनमा सुगन्ध हुने थियो। लेखहरूमा तस्बिर अझ बढी प्रयोग भएको भए उत्तम हुने थियो। प्रत्येक अध्यायको अन्त्यमा छोटो निष्कर्ष दिएको भए अझ राम्रो हुन्थ्यो। कतिपय शीर्षकमा अनुसन्धान कम भएर हो कि विस्तृत चर्चा गरिएको पाइँदैन। जे जति छ, प्रस्तुत ग्रन्थ नेपालको सांस्कृतिक इतिहासमा कोसेढुङ्गा साबित भएको छ। प्राचीनकालदेखि नै धार्मिक, सांस्कृतिक, ऐतिहासिक सभ्यता बोकेको पाशुपत क्षेत्र विशिष्ट ज्ञान, कर्म र योगको साधनाका क्षेत्रमा सुपरिचित स्थल हो।

विश्वसम्पदामा सूचीकृत पाशुपत क्षेत्रको सभ्यता र ऐतिहासिक महत्त्वलाई दर्साइएको ग्रन्थ नेपाल सरकार संस्कृति मन्त्रालय मातहतको कोषबाट प्रकाशित हुनु ठूलो गौरवको विषय हो। पशुपतिनाथ मन्दिरमा स्वदेशी भक्तजन मात्र नभएर विदेशी पर्यटकहरू पनि उल्लेख्य मात्रामा आउने गर्दछन्। यस्ता विदेशी पर्यटकलाई ध्यानमा राखी कोषले यस ग्रन्थको अंग्रेजी अनुवाद गरेमा पशुपतिनाथ मन्दिरको उद्भव र विकासका साथै यस भेगका सम्पूर्ण देवीदेवताका बारेमा विस्तृत विवरण पाउन सक्छन्। यसैगरी पशुपतिनाथमा लाखौं भारतीय भक्तजनको पनि उत्तिकै आगमन रहने भएकाले हिन्दी भाषामा पनि यो ग्रन्थ उल्था गरिनुपर्छ। यस्ता कार्यले विश्वमै नेपाल र नेपालीको शिर गौरवमय हुने कुरामा दुई मत छैन।

यस ग्रन्थमा भएका केही विषयवस्तु अध्ययन अनुसन्धान संक्षिप्त रूपमा उठाएकाले विस्तृत रूपमा समावेश गरी हरेक विषयका छुट्टाछुट्टै ग्रन्थ निकाल्न सकेमा यो क्षेत्र र यस क्षेत्रमा भएका ऐतिहासिक धरोहरहरूले विश्वलाई नै आकर्षित गर्न सक्ने देखिन्छ। अन्त्यमा हजारौं वर्षदेखि जीवित परम्परालाई अझ जाज्वल्यमान बनाउने काम यस ग्रन्थले गरेको छ। कोषले गरेका महान् कार्यबाट अरू सरोकारवाला निकायले पनि यस्ता कार्यलाई अगाडि बढाएमा नेपालका सम्पूर्ण पुरातात्त्विक तथा सांस्कृतिक धरोहरका बारेमा विश्वले ज्ञान हासिल गर्नेछ र नेपालतिर विश्वको ध्यान आकर्षित हुनेछ। केही कसरमसर रहे तापनि कोषले एउटा ऐतिहासिक दस्तावेज र परम्पराको थालनी गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.