सडक निर्माण सुस्त
सुर्खेत : तत्कालीन जिल्ला पञ्चायतले २०२५ सालमा हुलाकी सडक खन्यो। सुर्खेत–तेलपानी–भुरीगाउँ जोड्ने यो सडकको हालत अहिले पनि उस्तै छ। कर्णालीलाई लुम्बिनी प्रदेशको बर्दियासँग जोड्ने यो सडक खण्ड पाँच दशक बितिसक्दा पनि स्तरोन्नति हुनसकेको छैन।
कुल ५२ किलोमिटर लामो यो सडकको सुर्खेततर्फ ३२ किलोमिटर भाग पर्छ। यसमध्ये २४ किलोमिटर सडक निर्माण भइसकेको छ। त्यही सडक पनि विस्तार र मर्मत हुन नसक्दा वर्षात्मा सवारीसाधन आवागमनमा अवरोध हुने गर्छ। वर्षौंदेखि सुर्खेत–तेलपानी–भुरीगाउँ सडक निर्माणका लागि स्थानीयले आवाज उठाउँदै आएका छन्। तर, तराई र भित्री मधेस जोड्ने यो छोटो सडक निर्माणको काम अधुरै छ।
ट्र्याक खुलेका स्थानमा पनि बजेटले निरन्तरता नपाउँदा निर्माणको काम पूरा हुन सकेको छैन। कर्णालीलाई तराईसँग जोडेर व्यापार व्यवसायका लागि महत्त्वपूर्ण मानिएको यो सडक सरकारको प्राथमिकतामा
कर्णालीलाई दक्षिणतर्फ जोड्ने रणनीतिक मार्गका रूपमा लिइए पनि उक्त सडक खण्ड दलहरूको चुनावी नारा मात्रै बन्ने गरेको छ। सडक बनेको खण्डमा वीरेन्द्रनगरबाट बर्दियाको भुरीगाँउ पुग्न सबैभन्दा छोटो मार्ग अर्थात् ५२ किलोमिटर मात्र पार गर्नुपर्छ। तर सडक नबनेकै कारण हाल सुर्खेतबाट कोहलपुर हुँदै बर्दिया पुग्न एक सय ४६ किलोमिटर पार गर्नुपर्ने बाध्यता छ।
यस्तै सुर्खेतको धुलियाबिट–भेडाबारी सडक खुलेको पनि ४१वर्ष बितिसक्यो। तर हालसम्म यो सडक कालोपत्रे हुन सकेको छैन। २०३६ सालमा नै ट्र्याक खुलेको यो सडक खण्डको अवस्था अहिले पनि उस्तै छ। बरु यो अवधिमा सडकको नाम चारपकट परिवर्तन भयो।
सुर्खेत–कोहलपुर सडक, धुलियाबिट–भेडाबारी सडक, सुर्खेत–तुलसीपुर सडक हुँदै हाल यसलाई मदन भण्डारी राजमार्ग नामकरण गरिएको छ। तर स्तरोन्नतिको अझै टुंगो लागेको छैन। ४१ वर्षपछि मदन भण्डारी राजमार्ग आयोजनाले तयार पारेको यो खण्डको वातावरणीय प्रभाव मूल्यांकन अध्ययन प्रतिवेदन हाल भौतिक पूर्वाधार विकास मन्त्रालयमा थन्किएको छ। यही कारण पनि यो सडकको काम कहिले अगाडि बढ्छ भन्ने टुंगो नलागेको इन्जिनियर शिवशरण तिमिल्सेनाले बताए।
त्यसैगरी निकै महत्त्वपूर्ण आयोजनाको रूपमा लिइएको वीरेन्द्रनगरमा रिङरोड (चक्रपथ) निर्माण थालिएको १५ वर्ष पुग्यो। तर अझै पूरा भएको छैन। आर्थिक वर्ष २०६२/०६३ बाट सुरु भएको चक्रपथ अहिले पनि अधुरै छ।
कुल ३५ किलोमिटर सडकखण्डमध्ये १५ वर्षमा ११ किलोमिटर मात्रै निर्माण भएको छ। चालू आर्थिक वर्षमा वीरेन्द्रनगरको सुब्बा कुनादेखि बाङ्गेसिमल जोड्न निर्माण गरिसक्ने मेयर देवकुमार सुवेदी बताउँछन्। तर ठाउँठाउँमा विवाद कायमै रहेका कारण चालू आर्थिक वर्षमा पनि आयोजना पूरा हुने सम्भावना देखिँदैन।
राजनीतिक नेतृत्व जनताप्रति उत्तरदायी नहुँदा जिल्लाका ठूला आयोजनाहरू अधुरै रहेको नागरिक अगुवा बताउँछन्। ‘ठूला आयोजनाहरू अधुरै रहनुको मुख्य कारण विकासप्रेमी नेतृत्व नहुनु हो’ लामो समयदेखि भ्रष्टाचार नियन्त्रणको अभियानमा सक्रिय नागरिक सरोकार संघका अध्यक्ष पीताम्बर ढकाल भन्छन्, ‘कुशल र इमान्दार नेतृत्व नभएकै कारण आयोजनाहरूले पूर्णता पाउन सकेनन्।’