दमौली कारागार झडप प्रकरण : झडपमा संलग्न २५ लाई स्थानान्तरण गर्ने निर्णय
दमौली : एक आपसमा विवाद र झडपमा संलग्न तनहुँ कारागारका २५ कैदीबन्दीलाई प्रशासनले रातारात स्थानान्तरण गरेको छ। आइतबार दिउँसो दुई समूहबीच विवादमा झडप हुँदा घाइते हुने ६ जना पुगेका छन्।
झडपमा संलग्नलाई सुरक्षा जोखिमका कारण स्थानान्तरण गर्ने निर्णय भएको निमित्त जेलर नारायण अधिकारीले जानकारी दिए। प्रमुख जिल्ला अधिकारी सागर आचार्य, प्रहरी उपरीक्षक अरुण पौडेलसहित कारागारमा बसेको सुरक्षा अधिकारीको बैठक पछि स्थानान्तरणको निर्णय भएको हो।
कारागारको नयाँ भवनमा सरुवा भएर आएका पाल्पा, काठमाडौंसहित विभिन्न ठाउँका कैदीबन्दी र रैथाने समूह आपसमा भिडेका थिए। नाइके नियुक्तिको विवाद सिर्जना भए यता कैदीबन्दी दुई समूहमा विभाजित थिए।
त्यसै क्रममा आइतबार झडप भएको हो। झडपमा परी घाइते दमौली अस्पतालबाट डिस्चार्ज भएका छन्। सबैको टाउकोमा चोट लागेको छ। बाँस, कराई आदिबाट आफूमाथि आक्रमण भएको घाइते कैदी नाइके धनबहादुर शाहीले बताए। गत कात्तिकमा स्थानान्तरण भएर आएका नयाँ कैदी बन्दीको समूह भित्रिए यता त्यहाँ गुटबन्दी भएको बताइन्छ।