नातिकाजी सम्मान अर्पण
काठमाडौं : संगीत महर्षि स्व. नातिकाजी श्रेष्ठको ९४आंै स्मृति दिवसको अवसरमा नातिकाजी स्मृति समाजले सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा संगीतकर्मी तथा पत्रकारलाई सम्मान र पुरस्कार प्रदान गरेको छ।
सो अवसरमा कामना मासिकका सम्पादक विदुर गिरी तथा रंग पत्रकार श्याम स्मृत नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कार बाट पुरस्कृत भएका छन्। त्यस्तै, नातिकाजी राष्ट्रिय विशेष संगीत सम्मानबाट गीतकारहरू बालकृष्ण सजीव, सुरेन्द्र राना र चूडामणि देवकोटा, संगीतकारहरू राजु सिंह, सुनील मास्के, मदन सिंह नेपाली, मनोहर सुनाम, शान्तिराम राई, महेश खड्का र नारायण रायमाझी तथा वाद्यवादक राजु अग्रवाल सम्मानित भएका छन्।
यसैगरी नातिकाजी राष्ट्रिय संगीत पुरस्कारबाट गायकगायिकाहरू सुगम पोखरेल, चेतन सापकोटा, प्राश्ना शाक्य र गीतकार दयाराम पाण्डे पुरस्कृत भएका छन्। नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कारबाट संगीतकार वसन्त सापकोटा, गायक सुरज कुमार थापा, गीतकार हर्क साउद र गायिका मेलिना राई पुरस्कृत भएका छन्। नातिकाजी राष्ट्रिय संगीत संयोजक तथा वाद्य पुरस्कारबाट वाद्यवादक जीवीत जल्मी, नातिकाजी राष्ट्रिय शास्त्रीय संगीत पुरस्कारबाट शास्त्रीय संगीतकार विकासनाथ योगी, नातिकाजी राष्ट्रिय लोकसंगीत पुरस्कारबाट लोकगायक बद्री पंगेनी, राष्ट्रिय सम्मानबाट समाजसेवी नवराज केसी सम्मानित भए। सबैलाई २०७६ सालको सम्मान, पुरस्कार राष्ट्रपति विद्यादेवी भण्डारी, सूचना तथा सञ्चार प्रविधिमन्त्री पार्वत गुरुङबाट प्रदान गरिएको हो। कार्यक्रममा विभिन्न गायकगायिकाले नातिकाजीद्वारा संगीतबद्ध गीत प्रस्तुत गरेका थिए।
समारोहमा संगीतकार तथा नातिकाजी स्मृति समाजका अध्यक्ष शम्भुजित बाँस्कोटाले नातिकाजीको नाममा स्थापित पुरस्कार नितान्त पारिवारिक स्रोत तथा शुभचिन्तकको सहयोगबाट चलेकोमा यस पटकदेखि महानगरपालिकाबाट अक्षयकोष राख्ने निर्णय भएको जानकारी गराए। साथै, नातिकाजीको चाबहिलस्थित घरवरपरको मार्गलाई नातिकाजी मार्ग घोषणा गर्न आग्रहसमेत गरे।