भक्तपुरमा गुठी संस्थानको भवन बन्ने बाटो खुल्यो
भक्तपुर : भक्तपुरमा गुठी संस्थान शाखा कार्यालय भक्तपुरको भवन बन्ने बाटो खुलेको छ । भक्तपुर नगरपालिकाले भक्तपुर दरबार क्षेत्रमा गुठीलाई पुरानै शैलीमा भवन बनाउन दिने निर्णय गरेको हो ।
पुरातत्व विभागले ३५ फिटसम्मको भवन बनाउन स्वीकृति दिए पनि भक्तपुर नपाले नक्सापास रोकेको थियो । भक्तपुर नपाले पुरानै शैलीमा भवन पुनर्निर्माण गर्न दिने निर्णय दिएसँगै गुठी भवन बन्ने बाटो खुलेको हो ।
वि.सं. १८९० र १९९० सालको भूकम्पले भत्काउनुअघि उक्त भवन ३५ फिटभन्दा अग्लो रहेको थियो । गुठी संस्थान रहेको उक्त भवनको छानामा गुम्बज शैलीको दिगुतलेजु मन्दिर रहेको संस्कृतिकर्मी विनोदराज शर्मा बताउँछन् ।
उनले उक्त मन्दिरको सीधै मुनि भूईतलामा दक्षिणामूर्तिको समेत मन्दिर रहेको बताए । जुन भवन भत्काइएपछि दक्षिणामूर्तिको ढुंगे मूर्ति सामुन्ने रहेको सिलु महादेव (फसी देगः) मन्दिरमा राखिएको थियो । हाल उक्त मूर्ति भक्तपुर दरबार क्षेत्रस्थित राष्ट्रिय कला संग्रहालयमा सुरक्षित रहेको संग्रहालय प्रमुख अरुणा नकर्मीले जानकारी दिइन् ।
पुरातत्व विभागअन्तर्गत भक्तपुरमा रहेको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयकी प्रमुखसमेत रहेकी नकर्मीले विभागमा गुठी संस्थानले पुरानै भवनको पुनर्निर्माणको सट्टा नयाँ भवन निर्माण गर्ने भनी नक्सा पेस गरेको बताइन् ।
स्मारकले निर्माण सामग्री भण्डारण गर्दै आएको भक्तपुर गुठीको भक्तपुर दरबार क्षेत्रस्थित जग्गा।तस्बिर : ईश्वरकाजी खाइजू
‘गुठी संस्थानले नयाँ निर्माण भनेर नक्सा पेस गरेपछि पुरातत्व विभागले ३५ फिटभन्दा अग्लो नबनाउन भनेको हो’, उनले भनिन्, ‘सम्पदा क्षेत्रमा ३५ फिटभन्दा अग्लो घर तथा भवन बनाउन पाइँदैन । तर गुठी बसेको पुरानो भवन सम्पदा नै हो । त्यसैले सम्पदा पुनर्निर्माण गर्न उचाइको हदबन्दी लाग्दैन ।’ प्राचीन स्मारक संरक्षण ऐन २०१३ अनुसार सम्पदा क्षेत्रमा ३५ फिटभन्दा अग्लो घर तथा भवन बनाउन पाइँदैन । तर मठमन्दिरलगायत सम्पदा पुनर्निर्माण गर्न उक्त ऐन आकर्षित हुँदैन ।
गुठी भवन पुनर्निर्माण गर्ने सम्बन्धमा भक्तपुर नपामा बुधबार भएको बैठकमा सहभागी प्रमुख नकर्मीले गुठी भवन सम्पदा नै भएकाले पुरानै शैलीमा बनाउनुपर्नेमा जोड दिइन् । पुरानै शैलीको नक्सा बनाएर पुरातत्व विभागमा स्पष्टताका साथ प्रस्तुत गर्नुपर्नेमा जोड दिँदै उनले उक्त नक्सा पास प्रक्रिया अगाडि बढाउन आफूले सहयोग गर्ने वचन दिइन् ।
बैठकमा भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले प्राप्त ऐतिहासिक प्रमाण र तथ्यको आधारमा गुठी संस्थान कार्यालयको भवन पुरानै शैलीमा पुनर्निर्माण हुनुपर्नेमा जोड दिए ।
बेलायती कलाकार वल्डफिल्डले १९१० सालमा स्थलगत भ्रमणपछि कोरेको एक चित्रमा भक्तपुर दरबार क्षेत्रस्थित फसी देगः, दक्षिणामूर्ति र भक्तपुरको दिगु तलेजु रहेको गुठीको भवन स्पष्ट देखिन्छ । उक्त चित्रको आधारमा पनि गुठी संस्थान बसेको भवन मल्लकालीन रहेको पुष्टि हुन्छ ।
पुरातत्व विभागले पुरानो साबिक भवनभन्दा एकतला कम ३५ फिटको मात्रै नक्सा स्वीकृत गरेपछि नगरपालिकाले त्यसलाई अस्वीकार गर्दै आएको उनको भनाइ थियो । प्रमुख प्रजापतिले साविकबमोजिम नक्सा परिमार्जन गर्न नगरपालिकाले पटकपटक पुरातत्व विभागमा फिर्ता पठाउँदा पनि सुनुवाइ नभएको गुनासो गरे ।
पुरातत्व विभागले नक्सा सच्याउन नमानेपछि सरोकारवालाहरुसँग बैठक बसी उक्त भवन पुरानै शैलीमा बनाउन सबैको सहमति लिइएको प्रमुख प्रजापतिले जानकारी दिए ।
गुठी संस्थान भक्तपुर शाखाका प्रमुख आनन्दप्रसाद कर्माचार्यले पनि भवन पुरानै शैलीमा बनाउने सहमति भएको स्पष्ट पारे । उनले आफू भक्तपुर आउनुअघि नै भवनको नक्सा डिजाइन गरी भक्तपुर नपा र पुरातत्व विभागमा पेश गरिएको बताए ।
‘म भक्तपुर आउनुअघि नै भवनको नक्सा डिजाइन भक्तपुर नपा र पुरातत्व विभागमा पेस गरिएको थियो’, उनले भने, ‘विभागले पास गरे पनि भक्तपुर नपाबाट सम्पदा क्षेत्रको भवन पुरानै शैलीमा बन्नुपर्ने भन्दै नयाँ नक्सा बनाउन भन्दै आएको थियो ।’कर्माचार्यअघि भक्तपुर गुठीको प्रमुख रहेका हरिप्रसाद सुवेदीले उक्त नक्सा तयार गरी विभाग र नपामा पेस गरिएको थियो ।
अहिले भक्तपुर नपाले भनेजस्तै पुरानै शैलीमा गुठी भवन बनाउने बाटो खुलेको कर्माचार्यले सुनाए ।‘पुरानै शैलीमा गुठी भवन भन्ने बाटो खुलेको छ’, उनले भने, ‘पुरानै शैलीअनुसार नक्सा तयार गर्छौं । नक्सापास भएपछि बजेट व्यवस्था गरी भवन निर्माण प्रक्रिया अघि बढाउँछौं ।’
भक्तपुर दरबार क्षेत्रस्थित ८ आना ३ पैसा क्षेत्रफलमा गुठीको मल्लकालीन भवन रहेको थियो । भवनको छानामा दिगु तलेजुको गुम्बज शैलीको मन्दिर र भूईतलामा दक्षिणामूर्तिको मन्दिर रहेको उक्त भवनलाई १८९० र १९९० सालको भूकम्पले क्षति पुर्याएको संस्कृतिकर्मी शर्माले जानकारी दिए । भूकम्पले क्षति पु¥याए पनि बाँकी भवनलाई मर्मत सम्भार गरेर प्रयोगमा ल्याइएको देखिन्छ ।
उक्त भवनमा शाह तथा राणाकालमा छेंभडेल अड्डा राखिएको अर्का संस्कृतिकर्मी ओमप्रसाद धौभडेलले जनानकारी दिए ।‘२००७ सालपछि नेपालमा प्रजातन्त्र आएलगत्तै उक्त भवनमा तहसीलदार कार्यालय राखिएको थियो’, उनले भने, ‘पञ्चायतकालमा आएर उक्त भवनमा गुठी संस्थानको भक्तपुर शाखा कार्यालय राखिएको थियो ।’
वि.सं. २०४५ सालको भूकम्पले उक्त भवनमा थप क्षति पुर्याएपछि २०४८ सालमा उक्त भवनबाट गुठी कार्यालय निजी भवनमा भाडामा बस्न पुगेको थियो । वि.स. २०४८ सालमा कार्यालय हटेपछि भवन पुनर्निर्माण गर्न भनी जगैसम्म भवन भत्काइएको गुठी संस्थान भक्तपुरले जनाएको छ । गुठीले भवन नबनाउँदा उक्त खाली जग्गामा अहिले स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयले अस्थायी संरचना बनाएर सम्पदा पुनर्निर्माणका लागि आवश्यक निर्माण सामग्री भण्डारण गर्दै आएको छ ।