ताजा जनादेशका लागि निर्वाचनमा जानु उत्तम विकल्प : कमल थापा
भैरहवा : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सांसद खरिद बिक्री गरी सरकार बनाउनुभन्दा ताजा जनादेशमा जानु नै उत्तम विकल्प रहेको बताएका छन्।
‘दलहरुको अपवित्र गठबन्धनले प्रजातन्त्रलाई कमजोर बनाउँछ, जनादेशविपरीतको गठबन्धनले मुलुकलाई स्थायित्व दिँदैन, पार्टीको जिल्ला कमिटी रुपन्देहीले शुक्रबार भैरहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘यस्ता गतिविधीबाट अघि बढ्नुको साटो ताजा जनादेश नै उपयुक्त हुन्छ।’
उनले अहिलेको निर्णायक शक्ति नेपाली कांग्रेस भएकाले गठबन्धन गरेर सरकारमा जाने वा चुनावमा जाने भन्ने कांग्रेसको कोर्टमा बल रहेपनि कांग्रेस चुनावमा जानुपर्ने पार्टीको सुझाव रहेको बताए।‘जनताले कांग्रेसलाई अहिले सरकारमा जाउ भनेर म्यानडेन्ड दिएका छैनन्, सरकारमा नजाँदा नै राम्रो हुन्छ’ उनले भने, ‘यदि कांग्रेस अहिले सरकारमा गए उसलाई पछि समस्या पर्न सक्छ।’
थापाले जनताले नेकपालाई झण्डै दुई तिहाई अभिमत दिएपनि नेकपाले जनतामाथि धोका दिएको बताए। अध्यक्ष थापाले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध संसदमा अविश्वास प्रस्ताव पेस नभएकाले अहिले नै आफूहरु कुन पक्षमा उभिने भन्ने टुंगो नलागेको बताए।
उनले सरकार र नेकपा विप्लव समूहबीच भएको सहमति स्वागतयोग्य रहेको बताउँदै विप्लवले हिंसा परित्याग गरेर शान्तिपूर्ण राजनीतिमा आए पनि हतियार तत्काल बुझाउनु पर्ने पार्टीको धारणा रहेको प्रष्ट्याए।
फरक प्रसंङमा उनले कालपानी, लिपुलेकसहितको नेपाली भू–भाग समेटेर सरकारले नक्सा जारी गर्नु प्रशंसनीय काम भएपनि उक्त भूमि फिर्ता ल्याउन भारतसँग कुटनीति पहल गर्नुपर्नेमा बताए। उनले भारतको नेपालप्रतिको नीतिमा विगतमाभन्दा सुधार आएको संकेत पाइएको जनाए।