विरोधकाबीच मोतिपुर औद्योगिक क्षेत्रको शिलान्यास
बुटवल : रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रको शिलान्यास भएको छ । स्थानीयको बिरोधका बीच अर्थमन्त्री विष्णु पौडेल र उद्योग मन्त्री लेखराज भट्टले शिलान्यास गरेका हुन् ।
आफ्ना घर जमिन भएको क्षेत्रमा औद्योगिक क्षेत्र बनाउन लागिएको भन्दै स्थानीयले विरोध गरेका थिए । उनीहरुले नारावाजी समेत गरे । मन्त्री लक्षित ढुंगा प्रहार समेत गरे । विरोध भइरहदा सुरक्षा घेरामा मन्त्रीद्वयले औद्योगिक क्षेत्रको शिलान्यास गरेका हुन् ।
लुम्बिनी प्रदेशमा घोषणा भएका दुई औद्योगिक क्षेत्रमध्ये बाकेमा नौवास्ता औद्योगिक क्षेत्र यसअघि बिरोधकाबीच नै शिलान्यास भएको थियो । यसअघि शिलान्यास गर्ने तोकिएको मिति स्थगित गरी आजका लागि तय गरिएको थियो । पाँच वर्षअघि घोषणा भएका यी दुवै औद्योगिक क्षेत्रका डिपिआरको काम सकिएको छ । कार्यालय खुलेका छन् । तर अरु धेरै काम केही भएको छैन ।
दुवै औद्योगिक क्षेत्रमा स्थानीयको अवरोध छ । प्रति जग्गामा बसेका स्थानीयले औद्योगिक क्षेत्र बने आफूहरु विस्थापित हुने भन्दै विरोध गरिरहेका छन् ।
रुपन्देहीका बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, शुद्धोधन र सियारी गाउँपालिकामा फैलिएको यो औद्योगिक क्षेत्र यस क्षेत्रकै ठूलो हो । बुटवल औद्योगिक क्षेत्र साँघुरो भएका कारण प्रर्याप्त उद्योग खुल्न नसकिरहेको अवस्थामा मोतिपुर औद्योगिक क्षेत्र घोषणा गरिएको थियो ।
औद्योगिक क्षेत्र निर्माणको लागत १२ अर्ब रुपैया रहेको छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतका अनुसार मोतिपुर औद्योगिक क्षेत्रमा २ सय ६२ वटा प्लट हुनेछन् । बिद्युत, पानी, ढल निकास, सडक, स्वास्थ्य क्लिनिक लगायतका पूर्वाधारहरु बन्ने गुरुयोजनामा उल्लेख छ । ५ वर्षसम्म उद्योगीले भाडा समेत तिर्नुपर्ने छैन । यो औद्योगिक क्षेत्रमा वर्षमा २ वर्षभित्रै न्युनतम पूर्वाधार निर्माण गरी उद्योग खोल्न जग्गा दिने योजना छ ।
ठूला उद्योगका लागि १ सय १९ वटा, मझौला उद्योगका लागि ५१ वटा र साना उद्योगका ९२ वटा प्लट निमाण हुनेछन् । औद्योगिक क्षेत्रमा १३३ केभि लाईनको विद्युत सवस्टेशन हुनेछ । खानेपानीका लागि डिप बोरिङ रहनेछ ।
मोतिपुर औद्योगिक क्षेत्रको काम निरन्तर भए ५ वर्षमा सक्ने योजना रहेको छ । यो औद्योगिक क्षेत्र ९ सय ४६ विगाहा क्षेत्रफलमा फैलिनेछ । त्यसमध्ये १३३ विगाहा क्षेत्रफलको जग्गाधनी पुर्जा भने औद्योगिक क्षेत्रसंग छैन् ।
औद्योगिक क्षेत्र शिलान्यासको योजना भइरहदा स्थानीयको विरोध छ । ‘बस्ती क्षेत्र, विद्यालय र संघ संस्थाले चर्चेको जग्गा छोडेपछि मात्र औद्योगिक क्षेत्र निर्माण गर्न दिने सहमति भएको थियो ।’ संघर्ष समितिका संयोजक रामप्रसाद पाण्डेले –‘सहमति कार्यान्वयन हुनुपर्छ ।’ उनीहरुले आत्मदाह गर्ने चेतावनी समेत दिएका छन् ।
औद्योगिक क्षेत्रको जग्गाभित्र करिव ४ सय घर छन् । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले भने घर नभएको स्थानमा मात्रै औद्योगिक क्षेत्र निर्माण गर्ने योजना रहेको बताएको छ ।
अर्थमन्त्री पौडेललले आयात प्रतिस्थापन गर्नका लागि औद्योगिक क्षेत्रको विकासमा सरकार लागेको बताए । देशैभर शिलान्यास भएका औद्योगिक क्षेत्रले रोजगारी सिर्जना गर्ने तथा आर्थिक विकासमा महत्वपूर्ण योगदान गर्ने बताए ।
विकास रोक्ने काम नगर्न उनले आग्रह गरे । अर्थमन्त्री पौडेलले बोल्दा बोल्दै बिरोध चर्काएपछि भाषण नै रोकेका थिए । उद्योगमन्त्री भट्टले बिरोधले औद्योगिक क्षेत्रको विकास हुन नसक्ने बताए । स्थानीयबासीको मागलाई सम्बोधन गरिने भन्दै नआत्तिन आग्रह गरे ।