शब्दमा समेटिन्न जिन्दगी

शब्दमा समेटिन्न जिन्दगी

रंगीविरंगी फूलहरूले घरको वरपर शोभा बढाएका थिए। घरछेउमा उभिएका रूखहरूमा लुकामारी खेलिरहेका चराचुरुंगीको चिरबिरले बगैंचा गुञ्जायमान थियो। निकै शान्त र हरियाली वातावरणमा हातमा पुस्तक बोकेर टहलिँदै गरेको भेटिए यादव खरेल। उमेरले ८० को घेरो छुने अवस्थामा छ। तर, बुढ्यौलीको लक्षण देखिँदैन उनमा। जीवनको उत्तराद्र्धमा सेवानिवृत्त दैनिकी बाँचिरहेको छु भन्ने खरेल पठन, लेखन र सामाजिक काममै सक्रिय छन्। अचेल उनी हास्यव्यंग्य कविता, लघुकथाका संग्रह र ‘हाम्रा बाजेको पालामा’ नामक पुस्तक प्रकाशनको पूर्वसन्ध्यामा छन्।

बगैंचामा टहलिनु, प्रकृतिसँग रमाउनु र सिर्जना कर्ममा आफूलाई व्यस्त राख्नु उनको दैनिकी। संघसंस्थाका काममा पनि सहभागी भइरहन्छन्। रेडियो नेपालमा कार्यक्रम सञ्चालक भएर २०१६ सालमा जागिरे जीवन सुरु गरेका उनी चार दर्जन जति संघसंस्थामा आबद्ध भएर विभिन्न भूमिकामा काम गरिसकेका छन्। बीबीसी नेपाली सेवामा कार्यक्रम सञ्चालक, शाही नेपाल चलचित्र संस्थानको महाप्रबन्धक, परिवार नियोजन संघमा महासचिव, चलचित्र विकास बोर्डको संस्थापक अध्यक्ष, संगीत रोयल्टी संकलन समाजको तत्कालीन अध्यक्षलगायतका विभिन्न संघसंस्थामा आबद्ध भएर महत्त्वपूर्ण भूमिका निर्वाह गरे। 

गीतमा जीवन, जगत् र प्रकृति मानिसको अन्तरसम्बन्ध जोडिएको हुन्छ। जीवनका भोगाइ र अनुभव समाजसापेक्ष हुन्छन्। हरेक फरक समय र समाजलाई पनि बोक्न सक्नु गीतको शक्ति हो। गीतको सफलता हो।

खरेलका १५ वटा गीति एल्बम, एक दर्जन फिल्म तथा वृत्तचित्र निर्माण निर्देशन, ८ वटा बालसाहित्यका पुस्तक, आलेख, कविता, मुक्तक र गीतिसंग्रह गरी ८ वटा पुस्तक प्रकाशित छन्। जीवनभर सिर्जना कर्ममै लागिरहेका खरेल नेपाली साहित्यको दरिलो खम्बा हुन्। ८० को दशकसम्म पनि उनको दैनिकीमा केही फेरबदल आएको छैन। आफूलाई इमानदार ठानी विवेकमा विश्वास गर्ने सामान्य मानिसका रूपमा चिनेका खरेल मानिसले अरूको आँखाबाट आफूलाई हेरिनुपर्ने तर्क राख्छन्।

भन्छन्, आफ्नो नजरमा त सबै मानिस राम्रै हुन्छन्, खराब कामको पनि आफ्नै तर्क हुन्छ। आफूले गरेका कामको मूल्यांकन अरूले गरिरहेका हुन्छन्। अरूको आँखाबाट आफूलाई पढ्नु नै जिन्दगीको खास परिभाषा हो। जीवनभर इमानदार भएर काम गर्न चाहने व्यक्ति हँु। इमानदार भएकै कारण कतिपय संघसंस्थामा काम गर्न नसकेर जिम्मेवारी छोडिदिएको छु। विवेक र इमानदार भएका मानिसहरू भएनन् भने सबै क्षेत्र प्रदूषित हुन्छन्। जीवनमा हरेक मोडहरूमा उनलाई यस्तै प्रदूषित मान्छेले अप्ठ्यारो पारिरहे।

जीवनलाई परिभाषाभन्दा माथि बुझेका खरेल जीवनको पूर्ण परिभाषा कसैले पनि दिन नसक्ने बताउँछन्। भन्छन्, ‘शब्दको परिभाषाभन्दा माथि छ जीवन। जीवनका आयाम, आरोह, अवरोहभन्दा माथि हो जीवन। जसले जसरी भोग्छ त्यही हो। एउटाको भोगाइ मात्रै भनेर पूर्ण जिन्दगीलाई परिभाािषत गर्न सकिँदैन।’ काभ्रेपलाञ्चोक खरेलथोकमा १९९९ सालमा जन्मिएका उनी काठमाडौं गौरीघाट बस्छन्। उनले चेलीबेटी, लोभीपापी, आँधीबेरी, प्रेमपिण्ड, श्रीस्वस्थानी, नासोलगायत सातवटा चलचित्रको निर्देशन र केही वृत्तचित्र निर्माण तथा निर्देशन गरेका छन्। उनले लन्डन युनिभर्सिटीमा चलचित्र निर्माण र निर्देशनमा डिप्लोमा कोर्स सकेका छन्। यसका अलावा उनी कानुनमा बीएल र अर्थशास्त्रमा एमए हुन्।

रेडियो नेपाल तथा बीबीसी नेपाली सेवामा कार्यक्रम सञ्चालकका रूपमा काम गरिसकेका खरेलको रेडियोसँगको साइनो भने बच्चैदेखिको हो। गाउँमा हुँदा बुबाले काठमाडौंबाट ठूलो ब्याट्रीवाला रेडियो किनेर घर लगेका थिए। भन्छन्, ‘त्यो कालखण्डमा सञ्चारमाध्यम भनेकै रेडियो नेपाल थियो। बीबीसी र हिन्दी रेडियो पनि बज्ने गथ्र्यो। नेपालमा रेडियो नेपाल नै विकल्प थियो। हामी गाउँमा गन्ने मान्ने परिवारका थियौं।’

गाउँभरमा कसैकोमा पनि रेडियो थिएन। पहिलोपटक घरमा रेडियो बजाउँदा गाउँलेहरू आँगनमा जम्मा भएर हेर्न आएका थिए। रेडियोभित्र मान्छे लुकाएको छ होला भनेर अनुमान हुन्थ्यो। पर्खालमा बसेर रेडियो सुन्ने चलन थियो त्यसबेला गाउँमा। रेडियो बज्दा गाउँमा लहर नै आएको थियो। रेडियोले भनेपछि आधिकारिक भन्ने थियो। सबैजनाको जानकारीको स्रोत थियो रेडियो। रेडियोले भनेको भन्ने हल्ला पछिसम्म सुन्न पाइन्थ्यो। मलाई पनि रेडियोमा बोल्ने मानिस हेर्न मन लागेको थियो। रेडियोका कार्यक्रम चासो मानेर सुन्ने गरिन्थ्यो।

काठमाडौं आएपछि पुतलीसडक धोबीधारामा बस्ने उनी साथीसँग मिलेर बेलाबखत रेडियो नेपाल गइरहन्थे। १५ मिनेटको हिँडाइमा रेडियो पुग्ने गर्थे। त्यहाँ गएर सर्जकसँग गफ गर्नु, गीत गाएको, संगीत बजाएको सुन्नु उनकोे दैनिकी जस्तै थियो। एक दिन उनले प्रसारणका लागि केही मान्छे आवश्यक परेको सूचना थाहा पाए। उनले पनि निवेदन दिए। उनको भ्वाइस टेस्ट गरियो। पास भए। यसरी रेडियो नेपालमा कार्यक्रम सञ्चालकका रूपमा जोडिए उनी २०१६ सालमा।

त्यस बेलाका शिक्षा सचिव डिल्लीराज उप्रेतीले विद्यार्थी नामक शैक्षिक कार्यक्रम चलाउने गर्थे। उनकै सहायक भएर खरेलले रेडियोको सुरुआती जिम्मेवारी पूरा गरे। यसपछि उनले कविताको कार्यक्रम, गीतिकथा, काव्यकुञ्ज, बाल कार्यक्रमलगायतका कार्यक्रम सञ्चालन गरे। उनले बाल कार्यक्रम चलाउँदै गर्दा सहभागी हुन सन्तोष पन्त, राजेन्द्र थापा, दीपक जंगमलगायत रेडियोमै आउने गर्थे।

त्यो बेला गीत रेकर्ड हुने चलन थिएन। रेडियोमा बजाउन परे पनि लाइभ गाइने गरिन्थ्यो। गाउने र बजाउने सँगसँगै हुने गर्थे। एक पटक बजायो सकियो। स्रष्टा सर्जक, गायक, गायिकाको भीडभाड हुने गथ्र्यो रेडियोमा। उनीहरूकै निरन्तर संगतले होला यादवभित्र रहेको सिर्जनशील व्यक्तित्वले आकार लिन थाल्यो। उनी गीत लेखन र साहित्य लेखनमा देखा पर्न थाले।

रेडियो नेपालको जागिरले व्यक्तित्व निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेको बताउने खरेल रेडियोलाई सिर्जनाको मन्दिरका रूपमा सम्झन्छन्। यादवले करिब तीन सयको हाराहारीमा गीत लेखेका छन्। उनले लेखेका दर्जनौँ गीतहरू सदाबहार चर्चामा छन्। भन्छन्, ‘स्रष्टाहरूको जमघट, संगत र कार्यक्रमले गीतकार बनायो। जति बेला त्यहाँ गए पनि कोही न कोहीले गाइरहेकै हुन्थे, बजाइरहेको र लेखिरहेको देख्न सकिन्थ्यो। सर्जकको उत्कृष्ट साधनास्थल थियो रेडियो नेपाल।

वर्षका उत्कृष्ट गीतकार, संगीतकार र गायकगायिका छनोट गर्ने गरिन्थ्यो। हरेक दुई तीन वर्षमा कलकत्ता गएर गीत रेकर्ड गराउने चलन थियो त्यस बेला। यसरी रेकर्ड भएका गीतहरू रेडियोबाट बेलाबेला बजाइने गरिन्थ्यो। २०१७/१८ सालतिर उनको गीत भारतको कलकत्तामा रेकर्ड भएका थिए। जल्यो जल्यो तन जल्यो र आउँदिनँ म जाँदै छु, माया फिर्ता लाँदै छु बोलका दुई गीत उनको पहिलो पटक रेकर्ड भएका गीत हुन्। यसपछि उनको अर्को चर्चित गीत हो...

यस्तो पनि हुँदो रैछ जिन्दगीमा कैले कैले
कसैलाई माया गर्नु ठूलो भूल गरें मैले...।

२०२५ सालमा नातिकाजीको संगीत र फत्तेमान राजभण्डारीको स्वरमा कलकत्तामा रेकर्ड भएको यो गीत आज पनि उत्तिकै सुनिने कर्णप्रिय गीत हो। एउटै गीत तीनवटा पुस्ताको मनमा बसिरहनु गीतको सबल पक्ष पनि हो। गीतको रचना गर्भ सुनाउँदै उनी भन्छन्, ‘२० को दशकमा प्रशस्तै मायापिरतीका गीतहरू लेखिए। हुन त गीत लेखनको सुरुआत नै शृंगारिक लयबाट भएको छ। मायाको महसुस र अनुभूति त सधैंभरि उस्तै हो। माया गर्नेका लागि अहिलेजस्तो सजिलो र खुला समाज थिएन होला तर कोही मन पर्नु र उप्रतिको चाहनाको अनुभूति त एउटै हो। त्यो बेलाको समाजलाई प्रतीकात्मक रूपमा गीतमा लेखिएको छ। 

गीतमा जीवन, जगत् र प्रकृति मानिसको अन्तरसम्बन्ध जोडिएको हुन्छ। जीवनका भोगाइ र अनुभव समाजसापेक्ष हुन्छन्। परिवेश जस्तो भए पनि गीतले बोल्ने भाव एउटै हो तर गीत लेख्ने परिवेश र समाज फरक हो। हरेक फरक समय र समाजलाई पनि बोक्न सक्नु गीतको शक्ति हो। गीतको सफलता हो। गीतमा सभ्य र शालीन तरिकाको डिभोसन छ। गीतले युवाको मनलाई बोक्न सफल भयो यसैले त आधा शतकसम्म गीतलाई माया गर्ने श्रोता छन्।

उनका अनुसार धोबीघाटबाट हिँड्दै रेडियो नेपाल गइरहेका थिए। हिँड्दा हिँड्दै यसै गुनगुनाए ‘यस्तो पनि हुँदो रैछ जिन्दगीमा कहिलेकाहीँ... तर अर्को अन्तरा आएन। उनी यही स्थायी गुन्गुनाउँदै रेडियो पुगे। जहाँ नातिकाजी हार्मोनियम बजाउँदै बसिरहेका थिए। गीतको स्थायी सुन्नासाथ ल यो त राम्रो भयो यसलाई पूरा गर भनेर नातिकाजीले उनको गीतको प्रशंसा गरे। दुई तीन दिनको प्रयासपछि गीत पूरा भयो। फत्तेमानले आवाज दिए, नातिकाजीले संगीत भरे। गीत सुपरहिट भयो।

गीत समाजसापेक्ष र सन्देशमूलक हुनपर्छ भन्ने खरेल पछिल्लो समय सन्देशमूलक र सूचनामूलक गीतको रचना गरेका छन्। उनले जातीय विभेद, धर्म, संस्कृतिलगायतका विषयमा पनि गीत लेखेका छन्। फरक खालको साहित्य लेखनमा लागेका खरेल यति बेला ‘हाम्रा बाजेको पालामा’ शीर्षकको पुस्तक प्रकाशन गर्ने तयारीमा छन्। भन्छन्, ‘मेरो नाति अमेरिकामा हुर्किएको छ। उसले एउटा बेग्लै संस्कार सिकेर आएको छ। उसलाई गाउँमा लगेर परम्परागत मूल्यमान्यता र संस्कार देखाउने सिकाउने योजना छ।’ हाम्रो बाजेको पालामा केही नौलो साहित्य निर्माण पनि गर्ने सोचमा छन् उनी।

गीतजस्तै अर्को सशक्त क्षमता हो, उनको फिल्म निर्माण र निर्देशन। सामाजिक परिवर्तनको हिसाबमा इतिहास बनोस् भनेर उनले केही फिल्म निर्देशनसमेत गरेका छन्। राणाकालीन समयको पृष्ठभूमिमा कुनै फिल्म बनेको थिएन। यो नेपाली फिल्म इतिहासमा महत्त्वपूर्ण हुन्छ भन्ने ठानेर यही परिवेशमा अटाउने पहिलो सिनेमा प्रेमपिण्ड बनाए। धार्मिक फिल्म निर्माण गर्न श्रीस्वस्थानी निर्माण गरे। व्यक्तिविशेषमा फिचर फिल्म बनेकै थिएन। यसैले आदिकवि भानुभक्त निर्देशन गरे।

दलितको सवाल उठाउन सधैं हेपिएको समुदायको प्रतिनिधित्व हुने गरी फिल्म निर्देशन गरे। चेलीबेटी नामक फिल्ममा उनले बेचबिखनमा परेका महिलालाई सामाजिक पुनस्र्थापनाका लागि आवाज उठाए। नेपाली महिलालाई चंगुलमा पारेर बेचबिखनमा पुर्‍याउने गिरोहका अन्तरकथा पनि यो फिल्मले समेटेको थियो। बेचबिखनमा परेका महिलालाई समाजले स्वीकार गर्नुपर्छ भनेरै सन्देशमूलक, चेतनामूलक फिल्म निर्देशन गरेका हुन्। यसका साथै महाकवि लक्ष्मीप्रसाद देवकोटाको जीवनीमा आधारित वृत्तचित्र पनि निर्देशन गरेका छन्।

तीन दशकअघिको साहित्य, सिनेमा र लेखनको तुलना गर्दै उनले समयसापेक्षताको आधारमा लेखनलाई बुझ्नुपर्ने धारणा व्यक्त गरे। भन्छन्, ‘त्यो बेलाको लेखन र बनाउने तरिका फरक थियो। अहिले प्रविधिले धेरै परिवर्तन गरिसक्यो। अहिले चाहेको भन्दा बढी देखाउन सकिन्छ। तर उस बेला आफूसँग भएको भन्दा कम मात्रै देखाइन्थ्यो। तुलना गर्न मिल्दैन। अहिलेका मानिस शिक्षा र सूचना प्रविधिले धेरै जान्ने बनाइसक्यो। परिवर्तन धेरै आयो। अहिलेको पुस्ताले हरेक पल सिक्न सक्छन्। उनको बुझाइ हुन् यी।

पहिले लेखेर खालास् भनेर जिस्क्याउने अवस्था थियो। अहिले लेखेरै बाँच्न सक्ने वातावरण बनेको बताउँदै उनले साहित्य लेखनमा सकारात्मक माहोल बन्न थालेकोमा खुसी व्यक्त गरे। अहिले हरेक श्रेत्रमा नयाँ–नयाँ विचार र शैलीको प्रयोग भइरहेको छ। धेरै संख्यामा आउँदा गतिलो चिज पनि आइरहेको छ। गुणात्मक लेखनमा लाग्नेहरूको संख्या पनि बढी छ। यसको प्रभाव पनि राम्रो छ। भन्छन्, ‘अहिलेको पुस्ता लेखनमा पनि चुस्त छ। पढेर बुझेर आएको छ। नयाँ–नयाँ प्रयोग गरिरहेको छ। नेपाली साहित्यलाई डोर्‍याउन सक्षम छ यो पुस्ता। अखबारमा निरन्तर लेख्ने साहित्यहरू पनि उत्कृष्ट छन्। हुन त सबै उस्तै छ भन्न सकिन्नँ तर धेरै संख्यामा गतिला चिज भेटिन थालेको छ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.