फ्रान्सबाट नयाँदिल्ली उडेको जहाज बुल्गेरियामा आपतकालीन अवतरण
पेरिस: फ्रान्सबाट भारतको नयाँदिल्लीका लागि उडेको एयर फ्रान्सको जहाज आपतकालीन रुपमा बुल्गेरियाको सोफिया विमानस्थलमा अवतरण गरेको छ ।
बुल्गेरियाका अधिकारीहरुका अनुसार जहाजभित्र भारतीय एक यात्रुले अमानवीय र अस्वभाविक हर्कत् देखाउन थालेपछि जहाज अन्यत्रै मोडिएको थियो । अधिकारीहरुका अनुसार भारतीय ती नागरिकले जहाज उड्नासाथ चिच्याउने, अन्य यात्रुसँग झगडा गर्ने, ककपिटको ढोका तान्ने जस्ता हर्कत् देखाएका थिए । साथै उनले विमान परिचारिकाहरुमाथि आक्रमण समेत गरेका थिए ।
उनको आक्रामक व्यवहारका कारण सोफिया विमानस्थलमा आपतकालीन अवतरण गराइएको बताइएको छ । सुरक्षाकर्मीले ती व्यक्तिको पहिचान भने सार्वजनिक गरेको छैन ।
उनी अहिले सुरक्षाकर्मीको नियन्त्रणमा छन् । साथै उडान सुरक्षामा खतरा निम्त्याएको भन्दै उनीविरुद्ध मुद्दा समेत दायर गरिएको छ । यदी ती व्यक्तिले मुद्दा हारेमा १० वर्ष जेल सजाय भोग्नुपर्ने छ । एयर फ्रान्सले भने यस घटनाबारे छानविन भइरहेको जनाएको छ ।