मजस्ता सबैले न्याय पाउनुपर्छ
अन्तर्राष्ट्रिय अवार्ड पाउँदा कस्तो लाग्यो ?
अवार्डको हकदार थिएँ भन्ने लाग्छ ?
एसिड आक्रमणविरुद्धको कडा कानुन बन्नुमा तपाईंको कस्तो भूमिका छ ?
मेरो प्रयास त छ नै; एसिड अभियन्ता उज्ज्वल विक्रम सरको भूमिका पनि सशक्त छ। समग्रमा हामी सबैले निरन्तररूपमा वकालत गरिरह्यौं। अस्पताल बेडमा हुँदादेखि नै निरन्तर बोलिरहें। बाबाआमाले पनि मलाई हौसला र प्रेरणा दिइरहनुभयो। सञ्चारमाध्यमकोे पनि ठूलो सहयोग रह्यो। अस्पतालको बेडमा रहँदादेखि नै प्रधानमन्त्रीलाई भेट्न खोजिरहें। यही आशय राखेर पत्र पनि लेखें। पाँच महिनापछि अस्पतालबाट डिस्चार्ज भएपछि विभिन्न सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिएकी थिएँ। एसिडपीडितका पक्षमा कानुन आउनुपर्छ भनेरै सञ्चारमाध्यममा बोलिरहें। अरू दिदीबहिनीलाई पनि साहस आओस् भनेरै निरन्तर वकालत गरिरहेकी थिएँ। नेपालमा कानुन अभावमा अपराधीहरू खुलेआम हिँडिरहेका थिए। पीडितको घाउ हेरेर तीनदेखि पाँच वर्षमात्रै सजाय हुन्थ्यो। यसले एसिड आक्रमण बढिरहेको थियो। प्रधानमन्त्रीसँग पनि यी विविध विषयमा छलफल भए। उहाँले तदारुकताका साथ कानुन निर्माणमा सहयोग गर्नुभयो।
प्रधानमन्त्रीसँगको भेटलाई कसरी सम्झनुहुन्छ ?
प्रधानमन्त्रीसित भेट्ने इच्छा धेरै कार्यक्रममा व्यक्त गरेकी थिएँ। एक दिन मेरो अन्तर्वार्ता एउटा सञ्चारमाध्यममा प्रसारण भएको थियो। त्यो महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले हेर्नुभएको रहेछ। उहाँले फोन गरेरै भन्नुभयो– प्रधानमन्त्रीसित भेट गराइदिन्छु। त्यसपछि उहाँकै कारणले मैले प्रधानमन्त्रीलाई भेट्ने अवसर पाएकी हुँ। नेपालमा २२ जना एसिडपीडित हुनुहुन्छ। उहाँहरूका लागि पनि मैले केही कुरा भन्नैपर्ने थियो। यो पीडा मेरो मात्रै थिएन; देशकै पीडा थियो। अरूले पनि भोग्नु नपरोस् भन्ने मेरो आशय हो। मैले आउने दिनमा कसैले पनि एसिड आक्रमणको सिकार हुन नपरोस् भनेर कडा कानुन बनाइदिन आग्रह गरेकी थिएँ। प्रधानमन्त्रीले हाम्रो कुराको सम्बोधन गरिदिनुभयो र १५ दिनभित्रमा कानुन ल्याइदिनुभयो। यो कानुनले धेरै सहज भएको छ। सरकारले नै एसिड आक्रमणमा परेकाहरूको उपचार गरिरहेको छ। यो हामी सबैका लागि सकारात्मक पक्ष हो।
कानुन बनेर मात्रै न्याय मिल्ला त ?
अहिले एउटा अपराधी नक्कली जन्मदर्ता बनाएर बाहिर निस्केको छ। स्थानीय स्तरबाटै नक्कली जन्मदर्ता बनाइनु गलत हो। यो अन्त्य हुनुपर्छ। मेरो मुद्दाको पेशी पनि छिटै तोकिन्छ होला। त्यसपछि मुद्दामा सजाय तोकियो भने अहिले जुन अपराधी बाहिर घुमिरहेको भनिएको छ; उसलाई पनि जेलमा राखिन्छ होला। यस्तो परिपाटी परिवर्तन गर्नुपर्छ– दोषीलाई उन्मुक्त दिने खालको काम कसैले पनि गर्नुहुन्न। ममाथि आक्रमण गर्ने मानिसको जन्ममिति सच्याएर कम उमेरको देखाउन खोजिएको विषयमा थप अनुसन्धान हुन जरुरी छ। मजस्ता सबैले न्याय पाउनुपर्छ। आम छोरीचेली जोखिममा छन्। उनीहरूलाई सुरक्षित र स्वतन्त्र रूपमा हिँडडुल गर्न सक्ने वातावरण बनाइनुपर्छ।
तपाईंले न्याय पाएको अनुभूति गर्नुुभएको छ ?
पीडा त कहिल्यै पनि कम हुँदैन। पहिले घाउचोट हेरेर सजाय दिने भन्ने थियो। घाउचोट हेरेर होइन, अपराधीको सोच हेरेर सजाय दिइनुपर्छ। यो कानुनले नपुगेमा अझ कडा कानुन ल्याउनुपर्छ। एसिड आक्रमण गर्नेलाई त्यस्तो सजाय दिइनुपर्छ ताकि उनीहरूले पनि महसुस गरून्।
अनुहार लुकाएर हिँड्दिनँ भन्नुभयो, अरूका लागि प्रेरणा मिलोस् भनेरै हो ?
प्रायः एसिडपीडितलाई जलेको दाग स्वीकार गर्न कठिन छ। उनीहरू पुरानो स्वरूप सम्झिएर कमजोर हुने गर्छन्। गल्ती अरूले गर्ने हामी किन लजाउने ? किन डराउने ? म यो दागले तर्सिन्न। त्यसैले अनुहार खुला गरेरै हिँड््छु। यसले मलाई शक्ति दिएको छ। विश्वभरमा चिनिन सकूँ भनेरै मैले दाग लुकाएर नहिँड्ने अठोट गरेकी हुँ। मेरो आत्मविश्वास देखेर एसिड हान्ने अपराधी नै जलोस्। छट्पटियोस्।
पहिला मलाई कसैले चिन्दैनथे। ममाथि जुन आक्रमण भयो; त्यसले पीडा पाएँ। त्यसलाई सामना गरेर अघि बढ्न खोजें। आज मलाई यो साहस मिलेको हो। यही दागले आज मलाई चिनाएको छ। यसबाट म कहिल्यै आत्तिन्न। यसबाट मलाई हिम्मतका साथ अगाडि बढ्न ऊर्जा मिलेको छ।
यत्रो साहसी बन्न कसरी प्रेरणा मिल्यो ?
सबैभन्दा धेरै सहयोग त घरपरिवारको रह्यो। बाबाआमाले निकै सहयोग गर्नुभएको छ। साथीभाइ र विभिन्न सामाजिक क्षेत्रले साथ दिनुभएको छ। उहाँहरूको हौसला र साहसले नै मलाई ऊर्जा दिएको हो। हरेक छोरीलाई पहिलो सहयोग परिवारको चाहिन्छ। अहिले पनि घरपरिवारको सहयोग छ। म मात्र होइन; सबै छोरी यस्ता घटनामा पर्नुभएको छ भने बोल्न थाल्नुस्। अरू छोरीहरू पनि आफूलाई साहसिक भएर लड्न अघि बढ्नुस्।
सामाजिक अभियन्ता बन्ने रहर कसरी जाग्यो ?
म बच्चादेखि नै खुला स्वभावकी थिएँ। बोल्नका लागि लजाउने बानी थिएन। समाजका घटनामा अपडेट भइरहन्थें। सबैसित राम्रोसँग बोल्थें। शिक्षासँगै व्यावहारिक ज्ञान पनि लिनुपर्छ भन्ने सोच्थें। अन्य अपराधका बारेमा सुनेको भए पनि एसिड आक्रमणका बारेमा सुनेकी थिइनँ। भविष्यमा हिंसापीडित महिलाको न्यायका लागि बोल्छु भनेर सोच्थें। महिला हिंसाका घटना बन्द गर्नुपर्छ भनेर सोच्थें। ममाथि आक्रमण भइसकेपछि पनि हिम्मत हारिनँ। अगाडि बढिरहें। यो दागले मेरो लक्ष्य र सपना कहिल्यै छेक्न सक्दैन।
एसिड आक्रमण हुन नदिन के गर्नुपर्छ ?
प्रथमतः जनचेतना फैलाउनुपर्छ। घरपरिवारले पनि यसबारेमा सन्तानलाई जानकारी दिनुपर्छ। एसिडबारेमा जनचेतना फैलाउन बाँकी छ। हामीले गाउँगाउँ, घरघर र स्कुलस्कुलबाट जनचेतना फैलाउनुपर्छ। कानुन र विभिन्न पक्षबाट अगाडि बढ्नुपर्छ। मुख्य कुरा विद्यालयीय पाठ्यक्रममा समेत पढाइन जरुरी छ।
एसिड आक्रमण हुँदाको क्षण कसरी सम्झिनुहुन्छ ?
प्रत्येकपटक ऐना हेर्दा मनसँगै अनुहारमा पनि पीडा हुन्छ। चर्चरी दुख्छ र सम्झनै चाहन्न म त्यो दिन। भन्न पनि गाह्रो हुन्छ जलन र पीडा। दाग कहिल्यै जान्न। दागले मेरो सपना खोस्न सक्दैन। स्कुलको व्याग बोकिरहेकै बेला आक्रमणमा परेकी हुँ। एसिडको दाग नै मेरो शक्ति हो। कुनै पनि दिदीबहिनी एसिडको सिकार बन्नु नपरोस्। आगोले अलिकति पोल्दा पनि कस्तो पीडा हुन्छ भने एसिडको पीडा शब्दमा भन्न सकिन्न। परिवारका सदस्यले भोग्ने मानसिक, सामाजिक र आर्थिक तनाव त कति हो कति ?
अमेरिकी प्रथम महिलाले पुरस्कार दिने कुराले कस्तो लागिरहेको छ ?
मैले सोचेकी पनि थिइनँ अन्तर्राष्ट्रिय तहको अवार्ड पाउँछु भनेर। त्यसमा पनि प्रथम अमेरिकी महिलाले दिन लागेको कुराले झनै हर्षित बनेकी छु। मेरो जीवनका लागि यो ठूलो सरप्राइज बनेको छ। म यो कहिल्यै भुल्न सक्दिनँ।
अवार्डले खुसीसँगै चुनौती पनि थपियो नि ?
यसलाई चुनौती भन्न मिल्दैन। हामीले निराश बन्ने होइन; समस्या हल गर्नेतर्फ लाग्नुपर्छ। अझ यसलाई साहसका साथ र समाजमा केही गर्नुपर्छ भन्ने हिसाबले अघि बढ्नुपर्छ। आज जे कुरा चुनौती जस्तो लागेको छ; म त्यही गर्न चाहन्थें। यो मेरो सपना हो। भविष्यको बाटो हो।
आगामी योजना के छन् ?
म शिक्षालाई पनि सँगसँगै लैजाने सोचमा छु। यो अवार्डले थप हौसला मिलेको छ। सानैदेखि डाक्टर बन्ने मेरो सपना त थियो। यसका साथै सामाजिक कर्मैलाई पनि अगाडि बढाउने उद्देश्य छ।
घरेलु हिंसाको विरुद्धमा आवाज उठाउनुपर्छ जस्तो लाग्छ ?
जुनसुकै हिंसा होस्, महिलामाथि हुने अपराध झनै गम्भीर हो। एसिड आक्रमण सबैभन्दा गम्भीर अपराध हो; जुन आफैंले भोगें। नेपालमा घरेलु हिंसाका घटना धेरै भइरहेका छन्। यसको रोकथामका लागि सबैले आआफ्नो ठाउँबाट पहल गर्नुैपर्छ। सामाजिक उत्तरदायित्व सम्झनुपर्छ। जनचेतनामूलक कार्यक्रम गर्नुपर्छ। यसमा सबैको साथ, सहयोग र माया त्यत्तिकै आवश्यक छ।
तपाईंको स्वास्थ्योपचार कस्तो छ त ?
हप्ताको कम्तीमा दुईपटक अस्पताल जानुपर्छ। एक दिनमा पाँचपटक औषधि लगाएर फिजियोथेरापी गर्नुपर्छ। तीनतीन महिनामा शल्यक्रिया गर्नुपर्छ। मैले अझै लामो समयसम्म शल्यक्रिया गरिरहनुपर्ने हुन्छ।
अन्त्यमा, सुन्दरतालाई कसरी हेर्नुहुन्छ ?
अनुहारको बाहिरी सुन्दरता खासै ठूलो कुरा होइन, यो त उमेर बढ्नासाथ आफैं घटेर जान्छ। परिवर्तन भएर जान्छ। तर काम र सपना ठूलो कुरा हो। मानिस बौद्धिक रूपमा सुन्दर हुनुपर्छ। असल र राम्रा काम गर्नेहरू नै समाजका सुन्दर व्यक्ति हुन्। कामलाई लिएर अगाडि बढ्नुपर्छ। आफूसँग भएको हिंसा अपराधबारे बोल्नुपर्छ। आफूलाई त भयो तर अन्यलाई नहोस् भनेर हिंसाको विरुद्धमा आवाज उठाउनुपर्छ। कसैले पनि आफ्नो जस्तो पीडा खप्न नपरोस्।
जिन्दगी के हो जस्तो लाग्छ ?
जिन्दगी भनेको आफू रमाउने भन्ने हो। जति निराश भयो निराश जस्तै लाग्छ, आशावादी भए आशावादीजस्तै भइन्छ। संघर्ष गरे त्यस्तै हुन्छ। लुकेर बस्नु हुँदैन। आफ्नो र अरूको न्यायका लागि डटेर अघि बढ्न सक्नुपर्छ। जस्तो सोच्यो त्यस्तै बन्छ जिन्दगी। मेरो लागि काम हो जिन्दगी। सपना पूरा गर्ने समय हो जिन्दगी।
-प्रस्तुति : अजवी पौड्याल