एकहजार ९ सय २७ ज्येष्ठ नागरिकले लगाए खोप
भक्तपुर : भक्तपुरमा एकहजार ९ सय २७ ज्येष्ठ नागरिकले दोस्रो चरणको पहिलो दिने कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्। स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार पहिलो दिन एकहजार एकसय ९ पुरुष र ८ सय १८ महिला गरी एकहजार ९ सय २७ जना ६५ वर्षमाथिका ज्येष्ठ नागरिकहरुले निःशुल्क खोप लगाएका हुन्।
कार्यालय प्रमुख कृष्ण मिजारले भक्तपुरका ४ नपामध्ये आइतबार सबैभन्दा बढी सूर्यविनायक नगरपालिका ७ सय २१ जना ज्येष्ठ नागरिकले खोप लगाएको जानकारी दिए। सूर्यविनायक नपाभित्र रहेका ११ वटा खोप केन्द्रमा ४ सय १६ पुरुष र ३ सय ५ महिलाले खोप लगाएको उनको भनाइ थियो।
त्यस्तै मध्यपुर थिमि नपाका ३ सय ३९ पुरुष र २ सय १६ महिला गरी ५ सय ५५ जना र चाँगुनारायण नपाका २ सय ३७ पुरुष र २ सय १४ महिला गरी ४ सय ५१ ज्येष्ठ नागरिकले कोरोना भाइरसविरुद्धको खोप लगाए।
मध्यपुर थिमि र चाँगुनारायण नपामा क्रमशः १० र ११ वटा खोप केन्द्र रहेका छन्। ‘पहिलो दिन भक्तपुर नपामा सबैभन्दा कम जम्मा २ सय जना ज्येष्ठ नागरिकहरुले कोरोना भाइरसविरुद्धको खोप लगाए’, स्वास्थ्य कार्यालय प्रमुख मिजारले भने, ‘१० वटा खोप केन्द्र रहेको भक्तपुर नपाका एकसय १७ पुरुष र ८३ महिलाले मात्रै खोप लगाएका छन्।’
भक्तपुर नपाभित्र १० वटा खोप केन्द्र निर्धारण गरिएको छ। यस हिसाबले प्रतिखोप केन्द्र जम्मा २० जनाले मात्रै खोप पाएको देखिएको छ। उनले पहिलो दिन खोप लगाएका कुनै पनि ज्येष्ठ नागरिकमा जटिल असर नदेखिएको जानकारी दिए। भक्तपुरमा खोप लगाउँदा कसैलाई जटिल असर देखिए तत्काल उपचारको लागि आईसीयूसहितको व्यवस्था गरिएको छ।
भक्तपुरमा ६५ वर्षमाथिका करिब २५ हजार ज्येष्ठ नागरिकहरुलाई खोप दिने लक्ष्य रहेको छ। स्वास्थ्यकर्मीहरुका अनुसार खोप लगाउँदा ज्वरो आउने, जाडो महसुस हुने, टाउको दुख्ने, जीउ र जोर्नी दुख्ने जस्ता सामान्य लक्षण देखिन्छ। तर यी लक्षण एकदुई दिनमा आफै निको हुन्छ। ज्वरो लामो समय रहे सिटामोल खान सकिने चिकित्सकहरु बताउँछन्।
आइतबारदेखि सुरु भएको दोस्रो चरणको खोप कार्यक्रम भक्तपुरमा करिब ९ दिन सञ्चालन हुने स्वास्थ्य कार्यालयले जनाएको छ। भक्तपुरमा रहेका ४२ वटा खोप केन्द्रमा ४ सय २८ खोपकर्ता तथा स्वास्थ्यकर्मी र एकहजार २ सय ८४ जना स्वयंसेवक परिचालन भएको कार्यालय प्रमुख मिजार बताउँछन्।
उनका अनुसार पहिलो चरणमा भक्तपुरमा ५ हजार ७ सय ९३ जनाले खोप लगाएका थिए। भक्तपुरका करिब ९ हजार ६ सय जनामा कोरोना भाइरस संक्रमण पुष्टि भइसकेको छ।