लमजुङमा ब्युँताइयो नेकपा एमाले, कार्यालय खोलेर पदाधिकारीको बैठक
बेंसीसहर : सर्वोच्च अदालतको फैसलापछि उत्साहित बनेको नेकपा ओली समूहले लमजुङमा साविकको नेकपा एमाले ब्युँताउँदै पदाधिकारीको बैठक गरेको छ। सोमबार दिउँसो एमालेका तत्कालीन जिल्ला अध्यक्ष धनन्जय दवाडीको अध्यक्षतामा पदाधिकारी बैठक बसेको हो।
केन्द्रीय सदस्य एवं लमजुङ इन्चार्ज मायानाथ अधिकारीको प्रमुख आतिथ्यतामा बसेको बैठकमा तत्कालिन एमाले उपाध्यक्ष गुमानसिंह अर्याल, सचिव कृष्णप्रसाद अधिकारी, उपसचिव सुभाष पौडेललगायतको उपस्थिति थियो।
सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँताइदिएपछि विगत २ महिनादेखि बन्द रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को कार्यालयसमेत सञ्चालनमा ल्याइएको छ। तत्कालिन एमालेको सो कार्यालय पार्टी एकतापछि नेकपाको कार्यालय बनाइएको थियो।
पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि पुस ६ गते ओली समूहका युवा तथा विद्यार्थीले पार्टी कार्यालयमा तालाबन्दी गरेका थिए। एमालेले बनाएको भवनमा बस्न पाइँदैन भन्दै ओली निकट युवा र विद्यार्थीहरुले नेकपा लमजुङको अध्यक्ष मधु अधिकारीलाई २ घण्टा कार्यालयमा समेत थुनेका थिए। गण्डकी प्रदेश सभा सदस्यसमेत रहेकी अधिकारी कार्याकारी अध्यक्ष पुष्पकमल दहाल (प्रचण्ड) निकट हुन्।
नेकपाले एकीकरण गर्दा तत्कालीन माओवादी जिल्ला संयोजक अधिकारीलाई अध्यक्ष र एमालेका अध्यक्ष एवं प्रदेश सभा सदस्य धनञ्जय दवाडीलाई सचिव बनाएको थियो। ‘सोमबारबाट नेकपा एमालेको कार्यालय खुलेको छ। अब यहीँबाट नियमित कामहरु सञ्चालन गछौं’, नेकपा केन्द्रीय सदस्य एवं नेकपा गण्डकी प्रदेशका प्रमुख सचेतक मायानाथ अधिकारीले भने।
बैठकले सर्वोच्च अदालतको फैसलालाई पूर्ण कार्यान्वयन गर्दै अघि बढ्ने, एमाले पार्टीको नाउँमा नियमित काम गर्ने, साविक माओवादी, अन्य पार्टी र स्वतन्त्र व्यक्तिहरुलाई समेट्दै पार्टीको काम तीव्र रुपमा अघि बढाउने निर्णय गरिएको तत्कालिन एमाले जिल्ला अध्यक्ष दवाडीले जानकारी दिए।