लुम्बिनीको ब्रान्डिङ गरिँदै
बुटवल : पर्यटन प्रवद्र्धनका लागि लुम्बिनीलाई ‘ब्रान्डिङ’ गर्न थालिएको छ। नेपाल पर्यटन बोर्डले पहिलो चरणमा लुम्बिनीलाई ‘ब्रान्डिङ’ गर्न लागेको हो। जसका लागि पर्यटन क्षेत्रसँग सुझाव संकलन थालेको छ।
लुम्बिनीको शब्द लेखाइ ढाँचा, अक्षर, रङ, लोगोलाई एकरूपता दिई अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित बनाउने यसको ध्येय रहेको छ। जसका लागि लुम्बिनीको सांस्कृतिक, पुरातात्त्विक, धार्मिक महत्त्वलाई लोगोमा रूपान्तरण गर्ने योजना छ। कलाकारले विभिन्न खालका नमुना निर्माण गरेका छन्। पर्यटन बोर्डले त्यसको अन्तिम रूप दिन छलफल चलाएको छ।
लुम्बिनीको ब्रान्डिङ लोगो, अक्षर पहिचानपछि हरेक क्षेत्रमा सोही प्रयोग हुन्छ। यसले पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने र लोगो देख्नासाथ नेपालको लुम्बिनी भन्ने पहिचान हुने नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले बताए। ‘पर्यटन प्रवर्द्धनका लागि ब्रान्डिङ महत्त्वपूर्ण हुन्छ’, उनले भने, ‘लुम्बिनीलाई ब्रान्ड बनाउने योजनामा काम भइरहेको छ।’
लुम्बिनी आसपासका पर्यटन व्यवसायी, प्रदेश सरकार, पर्यटन विज्ञसँग बोर्डले छलफल गरेको छ। सो छलफलमा बोर्डले अशोक पिल्लर, बुद्ध जन्मस्थल र बुद्धिजमसँग सम्बन्धित तथ्यलाई प्रभावकारी ढंगले ब्रान्डिङमा प्रस्ताव गरिएको छ। लोगोमाथिको छलफलमा सहभागीले अक्षर रञ्जना लिपिमा राख्न सुझाव दिए। रञ्जना नेवारी भाषाको लिपि हो। संयुक्त राष्ट्रसंघमा नेपाल यही लिपिबाट पहिचान भएको छ।
लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा. ईश्वर गौतम लुम्बिनीको प्रभावकारी प्रचारप्रसार र प्रवद्र्धनको लागि ब्रान्डिङ आवश्यक रहेको बताउँछन्। ‘पर्यटन बोर्डले निर्धारण गर्ने ब्रान्ड सबैले उपयोग गरेमात्रै प्रभावकारी हुन्छ’, उनले भने। लुम्बिनीमा पर्यटक भित्र्याउनका लागि प्रदेश सरकारले लुम्बिनीमा प्रसूति अस्पताल खोल्ने योजना बनाइरहेको छ। उपाध्यक्ष डा. गौतमले लुम्बिनीमा प्रसूति अस्पताल हुँदा बच्चा जन्माउनकै लागि पर्यटक लुम्बिनी आउने विश्वास व्यक्त गर्छन्।
लुम्बिनीको प्रवद्र्धनका लागि प्रदेश सरकारले गत वर्ष लुम्बिनी भ्रमण वर्ष मनाएको थियो। लुम्बिनी प्रदेश सरकारका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव डा. राजेन्द्र केसीले सरकारले सधैं लुम्बिनीलाई केन्द्रमा राखेर काम गरिरहेको बताए।
लुम्बिनीमा पर्यटक टिकाउन समस्या छ। भैरहवा विमानस्थल सञ्चालनपछि पर्यटकको वृद्धि हुने र आउने पर्यटकलाई दुई दिन टिकाउन पर्यटन बोर्डले विभिन्न कार्यक्रम बनाइरहेको छ। लुम्बिनीको ब्रान्डिङ पनि त्यसको पाटो रहेको बोर्डका कार्यकारी प्रमुख डा. रेग्मीले बताए।
बोर्डले लुम्बिनीमा पर्यटक टिकाउन चारवटा अवधारणा ल्याएको छ। स्थानीयलाई प्रत्यक्ष जोड्ने गरी कार्यक्रम गर्ने, लुम्बिनी क्षेत्रका हिन्दू पर्यटकीय धामसँग लुम्बिनीको सञ्जाल विस्तार गर्ने, विभिन्न निकुञ्जमा कार्यक्रम गराउने तथा हिल स्टेसन र हिमाली दृश्य हेर्न मिल्ने गरी कार्यक्रम बनाउने योजना छन्। लुम्बिनी आउने पर्यटकलाई स्थानीय होमस्टेमा राख्ने, हिन्दू धाम पनि भ्रमण गराउने, निकुञ्ज र हिल स्टेसनसमेत देखाउने गरी कार्यक्रम बनाउन पर्यटन व्यवसायीलाई सुझाव पनि उनले दिए। नेपाल एसोसिएसन अफ ट्राभल एन्ड टुर एजेन्ट (नाट्टा) का अध्यक्ष अच्युत गुरागार्इंले निजी क्षेत्रलाई जोडेर पर्यटन प्रवद्र्धनका काम गर्नुपर्ने बताउँछन्।
थाइल्यान्डको एमाइजिङ थाइल्यान्ड, भारतको अतुल्य भारत, मलेसियाको मलेसिया इज ट्रुली एसिया र नेपालको नेचुरल्ली नेपाल भन्ने ब्रान्ड बनाए लुम्बिनीलाई ब्रान्ड दिन लागिएको हो। जसका लागि नारा, लोगो, अक्षर र रङको एकरूपता दिन लागिएको हो। पर्यटन पुनरुत्थान समिति संयोजक सागर अधिकारीले यसले लुम्बिनी प्रवद्र्धनमा टेवा पुग्ने बताउँछन्।