कोभिडको पुनः संक्रमण

कोभिडको पुनः संक्रमण

कोभिड– १९ संक्रमणपछि निको भएर घर फर्केका पेप्सीकोला, काठमाडौं, रौतहट र दिल्लीनिवासी बीरगन्जमा एकपछि अर्काे गर्दै पीसीआर रिपोर्ट पोजेटिभ देखिनुले उपचारमा संलग्नहरूलाई चुनौती थपिँदै छ। त्यसो त, दक्षिण कोरिया, चीनलगायतका देशमा पुनः संक्रमणका घटना छन्। हालै खोपको पहिलो मात्रा लगाइसकेकामा पनि संक्रमण फाट्टफुट्ट देखिँदै छ। चीनमा १० प्रतिशतसम्म परीक्षणका क्रममा कोरोना नेगेटिभ देखिएकामा पुनः संक्रमण देखिएको थियो।

संसारभर फैलिइरहेको कोरोना कहिल्यै नजाने हो कि चिन्ता बढेको छ। प्रतिरोधात्मक क्षमता विकास भए पनि पुनः संक्रमण भइरहँदा रुघाखोकी जस्तै– विश्वभर रहिरहने डर छ। कोभिड– १९ संक्रमितहरूको संख्या दिनानुदिन बढिरहेका बेला निको हुनेको संख्या पनि बढिरहेको छ। निको भइसकेकालाई संक्रमण हुनसक्छ कि सक्दैन भन्नेमा यथेष्ट प्रमाण नभेटिएको भन्दै गर्दा नेपालमा एकपछि अर्काे पुनः संक्रमण देखिइरहेको छ। सरकारी तथा आधिकारिक निकाय नेपाल अनुसन्धान परिषद् अध्ययनबारे सोच नै नभएको भन्छ।

पुनः संक्रमण

संक्रमित निको भएको तीन महिनासम्म पीसीआर परीक्षण गर्दा पुनः कोभिड– १९ पोजेटिभ आउने सम्भावना रहने सीडीसीले जनाएको छ। तथापि दोस्रोपटकको पाजेटिभ पहिलाको जस्तो खतरनाक र अन्यलाई रोग सार्ने हुँदैन। सीडीसीले संक्रमण र सार्न सक्ने हिसाबले सामान्य लक्षण देखिएकामा पीसीआर परीक्षण भएको १० दिन र गम्भीर लक्षण देखिएकामा भने पोजेटिभ देखिएको २० दिनपछि आइसोलेसनबाट बाहिर आउनसक्ने बताएको छ।

हङकङमा एक ३३ वर्षीय पुरुषलाई चार महिनापछि अगस्ट १५ मा स्पेनबाट बेलायत हुँदै हङकङ पुग्दा दोहोरिएर कोरोना संक्रमण भएको थियो। भारतको ब्याङलोरमा एक निजी अस्पतालले जुलाईमा पहिलोपटक संक्रमण देखिएको २६ वर्षीया महिलामा दोस्रोपटक अगस्ट २४ मा ¥यापिड एन्टिजेन र पीसीआर दुवै जाँचमा कोरोना संक्रमण भएका व्यक्ति फेला परेको बीबीसीले जनाएको छ।

जापानको ओसाकामा एक हेल्थ केएर सेन्टरमा फेब्रुअरीको अन्त्यमा एक ४० वर्षीया महिलामा कोरोनाको उपचार गराएर घर फर्किएको १० दिनमा फेरि पोजेटिभ पाइएको थियो। त्यस्तै जियाग्सु प्रान्तका एक चिनियाँ व्यक्ति पनि निको भएर घर फर्किएको तीन दिनपछि फेरि संक्रमण देखिएर भर्ना भएका थिए।

युरोपियन सेन्टर फर डिजिज प्रिभेन्सन एन्ड कन्ट्रोलको अध्ययनमा हङकङ, अमेरिका, बेल्जियम, इक्वेडर, भारतलगायतका देशमा पुनः संक्रमणका केस मात्र भेटिएको बताएको थियो। प्रायः शरीरमा एन्टिबडी बने तीन महिना धान्ने हो तर कसैकसैको एन्टिबडी नै नबन्न सक्छ। भाइरल संक्रमणमा ५ देखि १० प्रतिशतमा एन्डिबडी नै आउँदैन। त्यस्तोमा पुनः संक्रमण हुन सक्छ। जेनेटिक सिक्वेन्सिङ नेपालमा नभएकाले लक्षण र पीसीआर रिपोर्टकै भरमा पुनः संक्रमण भएनभएको भन्न नेपालमा गाह्रो छ।

खोप लगाएकामा पनि संक्रमण

निजामती अस्पताल, काठमाडौंमा माघ ३० गते पहिलो मात्रा खोप लगाएको १६ दिनपछि अर्थात् फागुन १४ गते कोरोनाको जस्तै लक्षण देखिएपछि ५६ वर्षीय पत्रकार दामोदरप्रसाद दवाडीलाई संक्रमण भएको पीसीआरबाट पुष्टि भएको छ। तथापि पहिलो डोज लगाएको २२ दिनपछि मात्र एन्टिबडी बन्छ, त्यसमा पनि सयमा ७१ जनामा। तसर्थ संक्रमणको सम्भावना रहने भएकाले सुरक्षा सावधानी निको भएका तथा खोप लगाएका सबैलाई जरुरत छ।

कारण

पुनः संक्रमण देखिनुमा शरीरमा केही मात्रामा भाइरस छुटेको हुनुपर्छ वा रोग प्रतिरक्षा प्रणालीमा समस्या भई सही एन्टिबडीको निर्माण नहुने वा प्रयोगशाला तथा परीक्षणको विश्वसनीयतामा कमी हुन सक्छ। संक्रमितको स्वास्थ्य र उमेरले पनि निर्धारण गर्छ। स्पेनका भाइरोलोजिस्ट लुई इन्वानेसका अनुसार कम्तीमा १४ प्रतिशत बिरामीमा कोरोनाको पुनः संक्रमण देखा परेको छ तर यो पुनः संक्रमण नभई पुरानै भाइरस फेरि बल्झिएको हो ? अर्थात् रोगप्रतिरोधी क्षमता घट्दा शरीरमा रहेका भाइरस बल्झिन सक्छ।

एन्टिबडी नबनेका व्यक्तिमा पुनः संक्रमणको सम्भावना बढी रहन्छ। श्वासप्रश्वास, पाचन, मिर्गौला, अन्डकोषलगायतमा रहेका एस२ रिसेप्टर भएका कोषमा लुकेर बसेकामा भाइरस पुनः सक्रिय हुने सम्भावना छ तर पर्याप्त मात्रामा एन्टिबडी बनेको भए भाइरस नष्ट हुन्छ। कोभिड– १९ बाट निको भएका बिरामीलाई संकलित स्वाबको पीसीआर परीक्षणमा नेगेटिभ देखिनुबाहेक अन्य परीक्षणसमेत एन्टिबडी जाँच, रगत र दिसामा भाइरसको जाँच गर्न आवश्यक छ।

पुनः संक्रमण गम्भीर

काठमाडौंका ४२ वर्षीय पुरुषमा कोरोना पुष्टि भए पनि सामान्य घाँटीमा खसखस मात्र भएपछि होम आइसोलेसनमा बसी १४ दिनपछि रिपोर्ट नेगेटिभ आएपछि काममा फर्किए। तर एक हप्तापछि उनलाई ज्वरो, रुघाखोकी, जीउ दुख्ने हुन थालेपछि फ्लु होला भनेर चुप बसे तर लक्षणमा कमी नभएपछि पीसीआर गर्दा कोरोना पुष्टि भई अस्पतालमा उपचार गराए। यस्तै धुलिखेलका ५० वर्षीय पुरुषसहित धुलिखेल अस्पतालमा तीनजनामा पुनः कोभिडका बिरामी आएको बताइन्छ। तथापि पुनः संक्रमण हो कि होइन भन्नेमा नेपालमा भन्न गाह्रो छ।

हङकङमा सबैभन्दा पहिले दोस्रोपटक संक्रमण पुष्टि भएकामा सिटी २६ र कुनै लक्षण थिएन। नेदरल्यान्डकी ८९ वर्षीया महिलाको मृत्युसमेत भयो, जुन पुनः संक्रमणबाट पहिलो मृत्यु थियो। अमेरिकाका नभाडामा २५ वर्षीय पुरुष एकजनालाई कोरोना भाइरसको संक्रमण साढे एक महिनामै सिटी भ्यालु ३६ सहित दोहोरिएको थियो; जुन धेरै डरलाग्दो थियो। दुवै फोक्सोमा अक्सिजन नभरिएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो। यसअघि हङकङ, बेल्जियम र नेदरल्यान्डमा संक्रमण दोहोरिए पनि यति डरलाग्दो थिएन। तथापि इक्वेडरमा ४६ वर्षीय पुरुषमा एक महिनापछि पुनः देखिएमा भने अमेरिकामा जस्तै बिरामीमा गम्भीर समस्या भए पनि अस्पताल भर्ना गर्नुपरेको थिएन।

पहिलो संक्रमण सामान्य भएकोमा दोस्रो कडा हुन सक्ने र भिन्न जिन बोकेका भाइरसहरू जहाँ घुमिरहेका हुन्छन्, त्यहाँ एउटै व्यक्ति एकभन्दा बढी संक्रमित हुनसक्ने देखिन्छ। नेपालमा कति प्रकारका जिन बोकेका कोरोना भाइरस छन् भन्ने थाहै छैन। तर संक्रमण देखिएको १४ महिना भइसक्दा कोरोनाको जिनमा परिवर्तन आइरहेको हुन सक्छ। त्यसो रहेछ भने नेपाल पुनः संक्रमणको जोखिम पनि नकार्न सकिँदैन।

निको भएपछि कहिलेसम्म रोग लाग्दैन ?

अमेरिकामा गरिएको पछिल्लो एक खोजमा एकपटक संक्रमण भएर निको भएपछि शरीरमा अर्काे चार महिनासम्म भाइरसले फेरि संक्रमण गर्न नसक्ने गरी आईजीजी एन्टिबडी विकास हुने देखिएको हावर्ड विश्वविद्यालयको अस्पतालमा भर्ना भएका गम्भीर ३४३ जनाको खोजमा छ। राष्ट्रपति ट्रम्पले आफू निको भएपछि जीवनभरका लागि एन्टिबडी बनेको दाबी पनि गलत भनिदिएको छ।

भारतस्थित आईसीएमआरले एकपटक निको भएपछि पनि लापरबाही गरेमा फेरि कोरोना संक्रमण हुन सक्ने चेतावनी दिँदै अहिलेसम्म प्राप्त विवरणअनुसार संक्रमण निको भएको तीनदेखि पाँच महिनासम्म शरीरमा कोरोनाविरुद्ध लड्ने एन्टिबडी हुन्छ। त्यसपछि विस्तारै संख्या घट्दै जान्छ र फेरि संक्रमण हुन सक्छ। निको भएको ९० दिनभित्र फेरि मानिस संक्रमित भयो भने त्यसलाई पुनः संक्रमण मानेको छ। तसर्थ निको भएका तथा खोप लगाएकाले पनि कोरोना रोकथामका लागि एसएमएस विधि अपनाउन जरुरी छ।

–नेपाल सरकारका आँखा, नाक, कान, घाँटी तथा मुख स्वास्थ्य प्रमुख डा. बुढाथोकी नेपाल चिकित्सक संघका केन्द्रीय कोषाध्यक्ष हुन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.