नेकपा कैलालीको कार्यालयमा एमालेको बोर्ड
धनगढी : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कैलालीको कार्यालयमा नेकपा एमालेको बोर्ड राखिएको छ । नेकपाका प्रदेश अध्यक्ष कर्णबहादुर थापा, जिल्ला ईञ्चार्ज दिपक प्रसाद देवकोटा, अध्यक्ष रतन थापा सहितका युवाहरुको उपस्थितिमा धनगढी उपमहानगरपालिका वडा नम्बर १ मा रहेको पार्टी कार्यालयमा नेकपा एमालेको बोर्ड राखिएको हो ।
एमाले र माओवादी (केन्द्र) एकीकरण भएपछि उक्त कार्यालयलाई नेकपाको जिल्ला कार्यालय बनाईएको थियो । सर्वोच्चको फैसला पछि, यसअघि एमालेकै कार्यालय रहेको उक्त कार्यालयमा नेकपा एमालेको बोर्ड टाँसिएको हो ।
‘सर्वोच्चको फैसलापछि, हामीहरुले आफ्नो साविकको कार्यालयमा नेकपाको स्थानमा नेकपा एमाले लेखेर बोर्ड टाँसेका छौं,’ नेकपाका प्रदेश अध्यक्ष कर्णबहादुर थापाले भने । उनी साविकको एमाले भएका बेला पनि प्रदेश अध्यक्ष थिए भने नेकपामा पनि उनी प्रदेश अध्यक्ष नै यथावत थिए । पुस ५ गतेपछि ओली समूहले आफ्नो र प्रचण्ड नेपाल समूहले आफ्नो भनेर दाबी गरेपछि पार्टी कार्यालयबारे विवाद भएको थियो । पार्टी कार्यालयबारे विवाद भएपछि त्यो कार्यालय आधिकारिकता नआउँदासम्मका लागि सुरक्षाको जिम्मा लगाइएको थियो ।
त्यसपछि ओली समूहले जिल्ला इञ्चार्ज दिपक प्रसाद देवकोटाको घरबाटै कार्यालय सञ्चालन गरेका थिए । नेकपा एमालेको बोर्ड लगाउने क्रममा, यसअघि प्रचण्ड नेपाल पक्षमा देखिएका साविकका एमालेका युवाहरुको पनि सहभागिता रहेको थियो ।
एमालेको बोर्ट राख्नका लागि पार्टी कार्यालय पुगेका जिल्ला अध्यक्ष रतन थापाले सचिवको कार्यकक्षमा तोडफोड गरिएको र त्यहाँबाट सदस्यता नविकरणका रसिदहरु गायव पारिएको बताए । प्रहरी र पार्टीले बोर्ड टास्नु अघि पार्टी कार्यालयको अवस्थाको मुचुल्का तयार पारेको छ । सेर्वोच्चको फैसलापछि, एमाले एमालेतिर र माओवादी, माओवादीतिरदेखि थालेका छन् ।