अमेरिकामा लुकेकी उपप्रमुखलाई कारवाहीको माग
कालिकोट : तिलागुफा नगरपालिका उपप्रमूख दन्ता नेपाली दर्शना डेड वर्षदेखि सम्पर्क विहीन भएकी छन्। तिलागुफा नगरपालिका वडा नं. ३ निवासी उप मेयर दर्शना नगरपालिकामा बिना जानकारी अमेरिका भ्रमणमा गएर २०७६ असोज महिनादेखि सम्पर्क विहीन भएकी हुन्।
उनको सामाजिक सञ्जाल फेसबुक समेत नचल्ने बनाइएको छ। उनी स्थानीय तहको निर्वाचनभन्दा अगाडि काठ्माडौंको पद्मकन्या क्याम्पसमा पढ्दा विद्यार्थी राजनीतिमा सक्रिय थिइन्। तत्कालीन एकीकृत नेकपा माओवादी निकट अखिल क्रान्तिकारीकी केन्द्रीय सदस्य हुन्। उनी तत्कालीन नेकपा माओवादी केन्द्रबाट उम्मेद्वार भएर तिलागुफा नगरपालिका उप प्रमुखमा विजयी भएकी हुन्।
नगरपालिका महासंघकी केन्द्रीय सदस्य हुन्। २०७६ साल असोजमा उनी काठ्माडौं गएको र कात्तिकमा अमेरिका गएको सामाजिक संजालबाट जानकारी दिएकी नेपाली हालसम्म पनि फर्किएकी छैनन्। नेपाली कांग्रेस तिलागुफा नगर कार्यसमितिले पत्रकार सम्मेलन गरी अमेरिकामा लुकेर बसेकी उप प्रमुखलाई कारवाही गर्न माग गरेको छ। उप्रमुख नेपाली नआउने भए उपनिर्वाचन गराउनुपर्ने ठाउँमा नगरपालिकाकै मिलेमतोमा उपप्रमुख अमेरिकामा बसेको अनुमान कांग्रेसको छ।
तिलागुफा नगरपालिकाले विकासका नाममा भ्रष्टाचार गरेको, डेड वर्षदेखि अमेरिका लुकेर बसेकी उप प्रमुखलाई कारवाही नगरेको, विकासी योजनाहरुमा डुब्लीकेशन गरी अनियमितता गरेको, कार्यकर्ता भर्ती गर्न आवश्यकता भन्दा बढी कर्मचारी नियुक्ती गरेको, नगरपालिकाको राजस्व चुहावट गरेको जस्ता आरोपहरु लगाउँदै नेपाली कांग्रेसले पत्रकार सम्मेलन गरी विरोध जनाएको छ। पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका नेता टेकराज शाही, मनराज शाही, अम्मबहादुर शाही, लक्ष्मी शाही, चन्दबहादुर शाही, टिकाराम न्यौपाने लगायतका नेताहरुले १५ बुदे नगर सरकारले गरेका अनियमितता सार्वजानिक गर्नुका साथै अमेरिका लुकेर बसेकी उप प्रमुख दन्ता नेपालीलाई कारवाही गर्न माग गरे। उनीहरुले स्थानीय सरकारले विकासका नाममा भ्रष्टाचार बढाएको बताउँदै यसको विरुद्धमा निरन्तर प्रर्दाफास गर्ने बताए।
कांग्रेसले नगरले गरेका गम्भीर अनियमितताहरु भन्दै १५ वटा अनियमितताका बुँदा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ। जसमा कोरोना महामारीका नाममा कुल ३ करोड १९ लाख ७९ हजार ४ सय ६६ रुपैयाँ खर्च गरी व्यापक रुपमा अनियमितिता गरेको, नगरपालिकाले ७५ लाख ४३ हजार ३ सय ३० रुपैयाँका १९ वटा कोटेशनहरु आसेपासेलाई वितरण गरी कामै नगरी डुब्लिकेशन गरी भुक्तानी गरेको, नगरपालिका भित्रको जडिबुटी र बालुवा निकासी करमा चुहावट गरी व्यापक अनियमितता गरेको, आवश्यकता भन्दा बढी, कार्यकता भर्ती गर्ने गरी कर्मचारी नियुक्ति गरेको आरोप लगाएको छ।
त्यस्तै सडकमा पटक-पटक गरी ६ करोड बजेट खर्च गरी सडक निमार्ण नगरेको, ग्यारेज निमार्णको नाममा ५ लाख भुक्तानी दिएर ग्यारेज संचालनमा नल्याएको, स्वास्थ्य चौकी रुडुमा ३ लाखको सामान खरिद गरेको बिल भरपाइ पेश गरी भुक्तानी दिएको सामान खरिद नगरेको, रुडुबन्चु पर्यटकीय क्षेत्र निमार्णका लागि ठेक्का प्रक्रियाको विओक्यू परिवर्तन गरी ठेक्का रद्ध गरेको, सार्वजनिक शौचालय निमार्णमा १५ लाख बजेट अनियमितता गरेको, संचालक समिति गठन नगरी आफु खुसी एम्बुलेन्स संचालन गरी उठेको पैसा हिनामिना गरेको, पोखरी निमार्णमा ३ लाख बजेट झ्वाम पारेको, जलविद्युत निमार्णका लागि भुक्तानी दिएको अहिलेसम्म सामाग्री पनि नआएको र वडाबाट उठाइएको राजश्व नगरपालिकामा दाखिला नगरी अनियमितता गरेको कांग्रेसले आरोप छ।
यस विषयमा तिलागुफा नगरपालिका प्रमूखसँग सम्पर्क गर्न खोज्दा फोन सम्पर्क भएन। नगरपालिकामा सम्पर्क गर्दा उनी सुर्खेततिर गएको नगरपालिकामा कार्यरत कर्मचारीले जानकारी दिए।