चन्द्रमामा अन्तरिक्ष स्टेशन बनाउने योजना
चीन र रुसले चन्द्रमामा अन्तरिक्ष स्टेशन बनाउने घोषणा गरेका छन् । रुसी रोसकोसमोसले चीनको न्याश्नल स्पेस एड्मिनिस्ट्रेशनसँग चन्द्रमाको सतह, बाहिरी कक्ष वा दुवै स्थानमा अनुसन्धान सुविधाहरू विकास गर्न सहमति गरेको बताएको छ । दुवै देशको अन्तरिक्ष निकायहरूको एउटा वक्तव्यमा स्टेशन अन्य देशका लागि पनि उपलब्ध हुने उल्लिखित छ ।
रुसले पहिलो मानवयुक्त अन्तरिक्षयानको उडानको साठिऔँ वार्षिकोत्सव मनाउने तयारी गरिरहँदा यो घोषणा भएको हो। इन्टरन्याश्नल साइन्टिफिक लूनर स्टेशनले चन्द्रमाको अध्ययन र उपयोग अनुसन्धान लगायतका अन्तरिक्षसम्बन्धी कामहरू गर्ने विज्ञप्तिमा जनाइएको छ ।
'चीन र रुसले अन्तरिक्ष विज्ञान, अध्ययन र विकासमा बटुलेको अनुभव एवम् अन्तरिक्ष उपकरण र अन्तरिक्ष प्रविधि प्रयोग गरेर संयुक्त रूपमा इन्टरन्याश्नल साइन्टिफिक लूनर स्टेशनको निर्माणका लागि कार्य योजना तयार गर्नेछन्,' चिनियाँ भाषाको विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा योजना, डिजाइन, विकास र सञ्चालनका लागि चीन र रुसले सहकार्य गर्ने बताइएको छ ।
चीनको अन्तरिक्ष कार्यक्रममा विज्ञता हासिल गरेका चेन लानले यो ठूलो महत्त्वको कुरा भएको बताए । 'चीनका लागि यो सबैभन्दा ठूलो अन्तरिक्ष सहकार्य योजना हो, त्यसैले यो महत्त्वपूर्ण छ,' उनले थपे ।
अन्तरिक्षको विषयमा चीन नवागन्तुक देश हो तर गत वर्षको डिसेम्बरमा चिनियाँ यानले चन्द्रमाबाट चट्टान र माटो सफलतापूर्वक पृथ्वीमा फर्काएको छ।यसलाई चीनको अन्तरिक्ष क्षमताको उदाहरणको रूपमा हेरिएको थियो ।
अन्तरिक्ष अध्ययनमा अग्रणी भूमिका खेलेको रुसलाई भने अमेरिका र चीनले हालैका दिनमा ओझेलमा पारेका छन् । गत वर्ष स्पेसएक्सको सफलतापछि रुसले इन्टरन्याश्नल स्पेस स्टेशनमा यात्रु ओसार्ने एकाधिकार गुमाएको थियो ।
अमेरिकाले सन् २०२४ मा चन्द्रमामा फर्किने योजना बनाएको छ । योजनाअनुसार भएमा सन् १९७२ पछि पहिलो पटक एक अमेरिकी पुरुष र एक महिलाले चन्द्रमाको सतहमा पाइला टेक्नेछन् ।