भैरवनाथ रथको काम धमाधम
भक्तपुर : भक्तपुरको प्रसिद्ध बिस्का जात्राको लागि भैरवनाथको रथको काम धमाधम सुरु भएको छ। गत वर्ष कोरोना भाइरस संक्रमण नियन्त्रण तथा व्यवस्थापन गर्न भनी बिस्का जात्रालाई औपचारिकतामा सीमित गरिएको थियो।
भैरवनाथको रथ निर्माणसमेत बीचैमा रोकिएको थियो तर यस वर्ष भने बिस्का जात्रा नरोकिने गुठी संस्थान कार्यालय भक्तपुर शाखाले जनाएको छ।
यस वर्ष बिस्का जात्रा विधिवत रुपमा सञ्चालन गर्ने गरी भैरवनाथको रथ बनाउन सुरु गरिएको गुठी संस्थान भक्तपुरका प्रमुख आनन्दप्रसाद कर्माचार्यले जानकारी दिए।
‘यस वर्ष बिस्का जात्रा सञ्चालन गर्न भैरवनाथको रथ निर्माण अघि बढाएका छौं’, उनले भने, ‘लिंगोको लागि आवश्यक काठसमेत व्यवस्था भइसकेको छ।’
भक्तपुर नगरपालिका ५ टौमढीस्थित भैरवनाथ तथा पाँचतले मन्दिर परिसरमा करिब आधा दर्जन सिकर्मीहरु भैरवनाथको रथ निर्माण कार्यमा जुटिरहेका छन्।
उनीहरुले रामो, बसिला र काठको मुंग्रो लिएर रथको लागि आवश्यक काठको काम गरिरहेका छन्। जसले गर्दा टौमढी क्षेत्रमा एकोहोरो ट्वाक, ट्वाक आवाज गुञ्जायमान भइरहेको छ।
भैरवनाथको रथ निर्माणमा संलग्न सिकर्मी प्रेमलाल शिल्पकारले अहिले रथको बेतसिं र काँसि बनाउने काम भइरहेको जानकारी दिए।
रथको अगाडि सवार हुने बेताल देवता विराजमान हुने काठलाई बेतसिँ भनिन्छ। यस वर्ष नयाँ बेतसिँ तयार गरिन लागेको हो। बेतसिँको लागि गतवर्ष नै काठको जोहो गरिएको थियो तर बिस्का जात्रा रोकिँदा बेतसिँ बनाउने कार्य रोकिएको थियो।
बिस्का जात्रा आठ दिन नौ रात मनाइन्छ। यस वर्ष आउँदो चैत २८ गतेदेखि बिस्का जात्रा सुरु हुँदैछ। जात्राको मुख्य आकर्षण काठैकाठले बनेको तीन तले अजंगको भैरवनाथको रथ तान्नु हो।
यो रथलाई काष्ठकलाको उत्कृष्ट नमुना मानिन्छ। बडेमानका चार पांग्रामाथि बन्ने रथलाई अगाडि र पछाडि गरी आठ वटा मोटा डोरीले तानेर जात्राअनुसार गन्तव्यमा पुर्याउनु बिस्का जात्राको प्रमुख आकर्षण हो।
तर भैरवनाथको रथ पुरानो जीर्ण बन्दै आएको छ। जसले गर्दा गत वर्ष नयाँ पांग्रा नबनाएका छन्। रथको छानामा राखिने पाताहरु पनि नयाँ बनाइएका छन्।
गुठी संस्थान भक्तपुरका प्रमुख कर्माचार्यले गत वर्ष नै रथका बुट्टेदार टुँडाल, झ्यालका चौकोसहरुसमेत नयाँ बनाइएको बताए।
रथलाई आवश्यक सम्पूर्ण काठको जोहो भइसकेको छ उनको भनाइ छ। ‘फटाफट काम भए महिनादिनमै रथ निर्माण भइसक्छ’, उनले भने।