विश्व ब्रह्माण्डको कल्याण !
विश्वमै पञ्चमुखी शिवलिंगको ठूलो महत्व छ। अन्यत्र कतै नभएको पञ्चमुखी शिवलिंगको पूर्वीमुख शिवको हो भने पश्चिम मुख नन्दीस्वरूपको हो र उत्तरमुखलाई उमा अनि दक्षिणमुखलाई भैरव स्वरूप मानिएको छ। माथितिरको मुख महादेवको हो। यस्तै पूर्वीमुख तत्पुरुष, उत्तर वामदेव, पश्चिम सद्योजात र दक्षिणमुख अघोरको रूपमा लिइन्छ भने ऊध्र्वमुखलाई ईशान भनिन्छ। प्रत्येक मुखलाई ब्रह्माण्डका चारै दिशा र आकाश भागसम्मका रूपमा चित्रण गरिएको छ। सम्पूर्ण जीव र जगत् जहाँबाट उदय हुन्छ र जहाँ विलय हुन्छ, त्यो क्षेत्र शिवलिंग हो।
नेपाल नगरी काठमाडौंको पूर्वक्षेत्रमा रहेको बागमती किनारामा भस्माञ्चल पर्वत, भस्मतीर्थ, भस्मगंगा आदि नामले पुकारिने श्लेष्मान्तक क्षेत्र पश्चिम भागमा पावन पशुपतिनाथको मन्दिर छ। यो द्वादश ज्योतिर्लिंगको शिरभाग हो। भारतका प्रसिद्ध क्षेत्र बद्रीनाथ, केदारनाथ, रामेश्वर र चीन तिब्बतको कैलाश क्षेत्रको दर्शनपछि पनि पशुपतिनाथको दर्शन नगरेसम्म अगाडिका दर्शनको पुण्य नमिल्ने हिमवत्खण्ड, स्कन्दपुराणमा उल्लेख छ। यहाँ शिवरात्रि, जनैपूर्णिमा, तीज, एकादशी, सोमबार, शनिबारदेखि बालाचतुर्दशीजस्ता पावन दिनमा हजारौं भक्तहरूको भीड लाग्छ। सबैभन्दा बढी भीड शिवरात्रिमा लाग्ने गर्छ। भारतलगायत अन्यत्रबाट समेत यहाँ आउनेको घुइँचो हुन्छ। यसपालि सीमानाकाको कडाइ, कोरोनाको त्रासले भक्तजनको उत्साहमा असर पर्ने देखिएको छ। कोरोनाले महिनौंसम्म बन्द भएको पावन पशुपतिनाथ मन्दिर खुले पनि दर्शनको क्रम सहज देखिएन। भर्खरै मूल शिवलिंगमा सुनको जलहरी राखिएको छ।
पशुपतिनाथको मन्दिर करिब दुई हजार वर्ष पुरानो मानिन्छ। यद्यपि यो आधुनिक मन्दिरचाहिँ सन् १६९२ मा राजा भूपतीन्द्र मल्लले बनाउन लगाएका हुन्। वंशावलीका अनुसार यो मन्दिर बनाउने श्रेय सुपुष्पदेवलाई जान्छ। सन् ३२५ मा राजा हरिदत्त वर्माले मन्दिर बनाउन उत्सुकता देखाएका हुन् भन्नेहरू पनि धेरै छन्। यो मन्दिर कलात्मक छ। छानो धातुले बनेको छ भने सुनको जलप लगाइएको छ। ढोकाहरू चाँदीका छन्। मन्दिर पश्चिम फर्केको छ। मूल ढोकाअगाडि शिवको वाहन नन्दी भन्डै १५ फिट लामो र ८ फिट अग्लो छ। मन्दिरको दक्षिण भागमा उन्मत्त भैरव छन् भने त्यसदेखि दक्षिण भागमा पूरै ६४ शिवलिंग छन्।
पशुपतिनाथको मन्दिर दुईतले प्यागोडा शैलीको छ। झन्डै साढे तीन फिट अग्लो शिवलिंग मन्दिरभित्र विराजमान छन्। मन्दिरको मर्मत तथा पूजा व्यवस्थापनको परम्पराको श्रेय आठौं शताब्दीताका यहाँ आएका आद्यगुरु शंकराचार्यलाई जान्छ। यहाँ शंकराचार्य मठ पनि छ। पश्चिम क्षेत्रमा कैलाशबाट आराम गर्न आएका महादेवले गुह्येश्वरी अर्थात् उमालाई साथै लिई यहाँ विराजमान गर्ने गरेको बुझिन्छ। पूर्व–दक्षिणतर्फ ब्रह्ममनाल क्षेत्र छ; जसलाई आर्यावर्त भनिन्छ। यहाँ जल स्नान गर्नेहरू भवरोगबाट मुक्ति पाउँछन्। ब्रह्मनालदेखि भस्मेश्वर क्षेत्रसम्मलाई भस्मतीर्थ भनिन्छ। भस्मतीर्थमा पाइला राख्ने कुनै पनि प्राणीले भवाटवीको मोहबाट छुट्टी पाउन सक्छन्।
मानिसहरू दुराचारी भएकाले तिनको पापको कारण मृत्युपछि यमलोकमा यमराजलाई कार्यबोझ बढेछ। यमराजको सोच के रहेछ भने आफू धरतीमा ओर्लिएर धरतीबाटै प्राणीलाई गति मुक्ति दिने सोच बढेपछि शरीरमा भस्मलेपन गरी बागमतीमा स्नान गर्न आइपुगेछन्। यमराजले भस्मतीर्थ बागमतीमा स्नान गर्दा ‘ॐ नमः शिवाय’ पाँच अक्षरको मूलमन्त्र जपेका थिए। स्नान गर्दागर्दै शरीरको भस्मका कण उछिट्टिएर भस्मेश्वर ज्योतिर्लिंग प्रकट भएछ। शिव स्वरूप त्यो ज्योतिर्लिंगलाई यमराजले प्रार्थना गर्दै भनेछन्– हे प्रभु, मलाई कार्यबोझ धेरै भयो। यमलोकमा पापीहरू राख्ने ठाउँ छैन। यहींबाट उद्धार गरिदिनुपर्यो। शिवजीले ‘हुन्छ’ भनिदिएछन् र आफू भस्मेश्वर ज्योतिर्लिंगका रूपमा आर्यावर्त क्षेत्रमा बस्ने निधो गरेछन्। अबदेखि जसको शवदाह हुन्छ, ती सबैको भस्मकण मेरो शिवलिंगमा पर्छ। त्यो धुवाँको कण मेरो क्षेत्रमा पर्ने प्राणीले जीवनमा जतिसुकै कुकर्म गरेका भए पनि मुक्ति हुनेछन् र तिनको पुनर्जन्म हुने छैन भनेर शिवजीले भन्नुभएकाले सत्ययुगदेखि नै यहाँ शवदाह गर्न थालिएको हो।
पशुपतिनाथ मन्दिरपरिसरमै आफू नित्य निरन्तर सेवा गर्ने अवसर पाउन लालायित शक्तिस्वरूपा उमाले शिवको प्रार्थना गरेपछि शिव आज्ञाअनुसार उमाले वत्सलाको रूप लिनुभएको र वत्सलाको दर्शन गरेपछि मात्र शिवको दर्शन गरेको पुण्य मिल्ने कुरा हिमवत् खण्डमा विशद वर्णन गरिएको छ। पार्वतीका रूपमा सतीको गुह्य पतन भएको क्षेत्र विश्वको सात करोड पावन पीठको आदिमस्थल गुह्येश्वरी क्षेत्र पशुपतिनाथ मन्दिरको झन्डै एक किमि उत्तरपूर्वमा रहेको छ भने माघस्नान गरेर पार्वतीले गौरीघाटमा रहेर किरातेश्वर भगवान्लाई पाएको क्षेत्र पनि यसै मन्दिर उत्तर पूर्वीक्षेत्र हो।
मोक्ष हुनुको नाम जीवले शिव प्राप्ति गर्नु नै हो ! शिवको अर्को नाम कल्याण हो।
पशुपतिनाथको दर्शन गर्नुपूर्व गौरीघाटमा स्नान, जलअर्चन गर्नुपर्ने, कैलाश क्षेत्रमा स्पर्श गर्नुपर्ने, प्रसिद्ध गौशाला क्षेत्रमा रहेकी जयवागेश्वरी आमाको स्तुति वन्दना गर्नुपर्ने नेपाल महात्म्यमा वर्णन गरिएको छ भने वत्सलादेवीकी पुत्र चन्द्रविनायक चाबहिल क्षेत्र र त्यस क्षेत्रमा जात्रा चलाइने नक्साल भगवतीको चर्चा पनि स्कन्दपुराणले विशद वर्णन गरेको छ। वत्सलादेवी र नक्सालभगवती दिदीबहिनी हुन् भनिन्छ। दुवैलाई शिवको प्रेमिकाका रूपमा मानिएको छ।
पशुपतिनाथको दर्शनपूर्व मन्दिरपरिसर उत्तरतर्फ रहेको वासुकि नागको दर्शन गर्नुपर्ने हुन्छ। पशुपतिनाथ मन्दिरलाई पूरै परिक्रमाभन्दा पनि किरातेश्वर, गुह्येश्वरीको दर्शन, मृगेश्वरमा जलअर्पण, गणेश, क्षेत्रपाल, नवग्रह, उन्मत्त भैरव, वत्सला, आकाश भैरव, जय मंगला, राजेश्वरी, भुवनेश्वरी, भस्मेश्वर आदि क्षेत्रको दर्शन महत्वपूर्ण छ।
मृगरूपी शिवले विचरण गरेको स्थल मृगस्थली हो। कैलाशमा शिवलाई नदेखेर ब्रह्मा–विष्णु–इन्द्रले मृगस्थलीमा मृगरूप शिवलाई देखेपछि शिवजीलाई समात्न लाग्दा शिवस्वरूप मृगको स्वर्ण सिङ तीन टुक्रा भएको र आफूलाई अपराध लागेकाले प्रार्थना गर्दा शिवजीले यो अपराध लाग्दैन। तीनवटा सिङका टुक्रा स्वर्ग, पाताल र नेपाल क्षेत्र गोकर्णमा लगेर स्थापना गर्नू भन्ने आज्ञा भएपछि मत्र्यमण्डलको अर्को पावन क्षेत्र बागमती तटमा गोकर्णेश्वर क्षेत्रको उदय भएको हो। जहाँबाट वाग्द्वारदेखि झरेकी बागमती स्वरूपा शिवगंगा बग्दै आएर आर्यघाट हुँदै पवित्र शंखमूल पुग्छिन्।
मायारूपी पासोमा बाँधिएका बद्धप्राणीलाई पशु भनिन्छ र मायाबाट मुक्त पार्नेको नाम पतिका रूपमा सबै जीवका मालिक शिवलाई पशुपति भनिएको हो। अज्ञानी मनुष्य नश्वर छन्। नश्वरले ईश्वर प्राप्त गर्ने प्रयास गर्नुपर्ने हुन्छ। जीव र जगत् दुवै परमेश्वर शिवका गहना हुन् र खेलौना पनि हुन्। तिनले हरदम परमेश्वरको चाहना गरेका हुन्छन्। अंशले अंशी प्राप्त गर्ने प्रयासस्वरूप जीवात्मा ब्रह्मादेखि स्थावरपर्यन्त सबै परमेश्वर शिवमा लय हुन चाहन्छन्।
संसारको रचना सृष्टि हो। सृष्टिलाई चलाइराख्नु पालना हो र सृष्टिलाई नाश गर्नु संहार हो। जीवात्माबाट प्राणपखेरू निस्कनुलाई तिरोभाव भनिएको छ। यी चारै कार्यबाट उन्मुक्त हुनुचाहिँ ‘अनुग्रह’ हो। अर्थात् यहाँ जम्माजम्मी पाँच कार्य भए संसार चलाउन ! सृष्टि, पालना, संहार, तिरोभाव र अनुग्रह– यी पाँचै कार्य गर्ने पञ्चमुखी महादेव नै हुन्। मोक्ष हुनुको नाम जीवले शिव प्राप्ति गर्नु नै हो ! शिवको अर्को नाम कल्याण हो। शिवका पाँच मुखले यही संकेत गर्छ, विश्व ब्रह्माण्डको कल्याण !