कालिकोटमा एमाले र माओवादीका छुट्टै कार्यालय
कालिकोट : कालिकोटमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले छुट्टाछुट्टै कार्यालय संचालन गरेका छन्। तत्कालिन नेकपा एमाले र माओवादीको एकतापछि बनेको नेकपाको संयुक्त कार्यालयमा नेकपा एमोलेको बोर्ड राखिएको छ भने अर्को छुट्टै घरमा नेकपा माओवादी केन्द्रको बोर्ड राखिएको छ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रले नारा जुलुससहित छुट्टा छुट्टै कार्यालय स्थापना गरेका हुन्। पार्टी एकता पछिको नेकपाका जिल्ला सचिव तथा तत्कालिन नेकपा एमालेका अध्यक्ष नगिन्द्र शाही नेशनलले पार्टी विभाजन नभएर पार्टी एक ढिक्का भएको बताए। पार्टीमा रहेका गलत व्यक्तिहरु किनारा लागेका हुन्। उनले भने, 'जनतामा भिजेको नेकपा एमाले थप एकताबद्ध भएर अगाडि बढ्छ। अब जिल्लामा तत्कालिन नेकपा एमाले जस्तै पार्टीका गतिविधि अगाडि बढ्छन्।'
नेकपा माओवादी केन्द्रकी महिला नेतृ तथा पचालझरना गाँउपालिका उपाध्यक्ष तारा न्यौपानेले नेकपाको विभाजन दुखदायी भएको बताइन्। उनले नेपालका सबै कम्युनिस्ट पार्टीहरु एक ठाँउमा आउनुपर्ने बेलामा एकता भएका दुई ठूला कम्युनिस्ट पार्टी छुट्टिनुले आफूहरुमा पनि निरासा छाएको बताइन्। उनले भनिन्, 'जनताले एकता चाहेका थिए। तर विभाजन राम्रो सन्देश दिएन। यसले नेपाली कांग्रेसलाई फाइदा हुने देखिन्छ।'