डढेलोबाट होसियार
अपवादबाहेक मुलुकमा मुख्यगरी फागुनदेखि जेठ महिनासम्म डढेलोका घटना बढी हुने गर्छन्। यो समयमा वर्षा कम हुने भएकाले यस्तो घटना धेरै हुने गरेको हो। यस वर्ष त कात्तिक र मंसिर महिनामै ताप्लेजुङ र अन्नपूर्ण संरक्षण क्षेत्रमा दुई ठूला डढेलोका घटना भए। यी घटनाबाट मुलुक जतिबेला पनि डढेलोको उच्च जोखिममा छ भन्ने पुष्टि भएको छ। यतिखेर जमिन तथा जंगल क्षेत्रमा सुख्खापनको मात्रा बढ्दै गएको छ। बढ्दो सुख्खापनाले डढेलोको वास्तविक क्षति हुने समय अब आउँदैछ भन्ने संकेत गर्छ। हरेक वर्ष दोहोरिने डढेलोबाट हुन सक्ने मानवीय र भौतिक क्षति रोक्न बेलैमा होसियारी अपनाउनु जरुरी छ। हरेक वर्ष हुने घटना मानेर यसलाई सामान्य ठान्नु हुन्न।
डढेलो सुरु भएपछि मात्रै सचेत हुने परम्परागत शैलीका कारण हरेक वर्ष आगलागीबाट धेरै धनजनको क्षति हुने गरेको छ। अनौपचारिक तथ्यांकअनुसार हरेक वर्ष डढेलोबाट १५ लाखदेखि २० लाख हेक्टरसम्म वनमा क्षति पुग्ने गरेको छ। मानवीय क्षति पनि उत्तिकै भइरहेको छ। कतिपय घटनामा सीधा मानवीय क्षति नपुगे पनि पर्यावरणमा गम्भीर क्षति पुग्ने गरेको छ। वन्यजन्तु र रूखबिरुवामा परेको क्षति गणना गरिसाध्य छैन। वर्षोंदेखि हुर्काइएका वन, बहुमूल्य जैविक विविधता र सम्पदा पनि नासिएका छन्। कतिपय डढेलोले मानव बस्तीलाई पूरै उजाड बनाएको छ। जानेर वा नजानेर भए पनि यी सबै घटनामा मानव नै दोषी छन्। आफूलाई आपत् नपर्दासम्म नचेतिने मानवीय स्वभावले यस्ता घटना भएका छन्। त्यसैले यसको न्यूनीकरणमा पनि मानिस नै जागरुक हुनुपर्छ। जुन ठाउँमा आगलागी भए पनि त्यसको सीधा असर सोही क्षेत्रका वासिन्दालाई पर्छ। यो वास्तविकता मनन गर्दै हरेक नागरिकले आगलागीलाई आफ्नै समस्या ठानेर नियन्त्रणमा अग्रसर हुनुपर्छ।
डढेलो नियन्त्रण राज्यको प्राथमिकतामा परे पनि प्रभावकारी कार्यान्वयन भएको छैन। विगतमा साधन, स्रोत र दक्ष जनशक्तिको अभाव रहेकाले डढेलोलाई बेलैमा नियन्त्रण गर्न सकिँदैनथ्यो।अहिले परिस्थिति सहज भएको छ। भएका जनशक्ति र प्रविधिको भरपूर सदुपयोग गर्ने हो भने असम्भव छैन। डढेलो नियन्त्रणमा खटिने कर्मचारी तथा प्राविधिज्ञको सुरक्षामा ध्यान दिनुपर्छ। उनीहरूलाई राहत र प्रोत्साहनका कार्यक्रम ल्याउनुपर्छ। सामुदायिक वन उपभोक्ता समूह, अभियानकर्मी, संरक्षणविद्को साथ लिएर साझा अभियान चलाउनुपर्छ। वन पैदावार संकलन, वन अतिक्रमण, चोरीसिकारी, खेतीकिसानीका लागि प्रयोग गरिने मलका लागि डढेलो लगाउने प्रवृत्ति रोक्नुपर्छ। जलवायु परिवर्तनका कारण पृथ्वीको बढ्दो तापमानले पनि डढेलोको समस्या थप बिकराल बनेको छ। यति गम्भीर समस्या समाधानका लागि हरेक वर्ष मौसमी छलफल गरेर मात्रै पुग्दैन। सरकारी तथा गैरसरकारी संस्थाले यस विषयलाई गम्भीर रूपमा लिनुपर्छ। विश्वव्यापी रूपमै विकराल समस्या बनिरहेको डढेलो नियन्त्रणमा सरकारले अब पनि परम्परागत शैली मात्रै पछ्याएर पुग्दैन।
हरेक स्थानीय तहमा न्यूनतम एउटा दमकल राख्ने सरकारी कार्यक्रमलाई कार्यान्वयनमा ल्याउनुपर्छ। आगलागी नियन्त्रण तथा यसबाट पर्नसक्ने असरका बारेमा स्थानीय सरकारले चेतनामूलक अभियान सञ्चालन गर्नुपर्छ। आगलागी निम्तिने घटना न्यूनीकरणका लागि सर्वसाधारणलाई नै सचेत गराउनुपर्छ। सदरमुकामतिर थन्किएका दमकलको भरपूर सदुपयोग गर्नुपर्छ। दमकल चालक तथा अग्नि नियन्त्रणमा खटिने जनशक्तिको संख्या बढाउनुपर्छ। कतिपय स्थानमा सरकारी राहत लिनकै लागि खरको छानो भएको टहरा बनाउने र आफैंले आगो लगाउने गरेको घटना पनि सार्वजनिक हुने गरेका छन्। यस्ता विषयलाई राज्यले गम्भीर रूपमा छानबिन गर्नुपर्छ। दोषीलाई कानुनी दायरामा ल्याउनुपर्छ।