हिन्दु-मुस्लिम मिलेर सुरु गरे अष्टजाम
विराटनगर : वैदिक सनातन हिन्दु धर्मावलम्बीहरुको महान पर्व महाशिवरात्रिको अवसरमा विराटनगरमा हिन्दु र मुस्लिम समुदाय मिलेर अष्टजाम सुरु भएको छ। मुलुकमा राजनीतिक अस्थिरता उत्पन्न भएको बेला धार्मिक रुपमा समाज एक भएको सन्देश दिन हिन्दु-मुस्लिम मिलेर ७२ घण्टे अष्टजाम सुरु गरेका हुन्।
विराटनगर- ११ स्थित रहेको सब्जी फलफूल तथा गुद्धी बजार व्यवस्थापन समितिको अगुवाईमा हिन्दु र मुस्लिम व्यापारीहरुले सामुहिक रुपमा अष्टजाम सुरु गरेका हुन्। प्रत्येक वर्ष फाल्गुन कृष्ण चतुर्दशी मध्यरातमा पर्ने दिन मनाइने महाशिवरात्रि पर्व भगवान् शिवलाई खुशी पार्ने विशेष दिन भएकाले राजनीतिक फाइदा लिने गरी गरिने धार्मिक मतभेद हुन नदिन हिन्दु-मुस्लिम मिलेर अष्टजाम सुरु गरेको बजार व्यवस्थापन समितिका सचिव साहेव अहमद गुड्डु (मियाँ)ले जानकारी दिए।
समाजमा आपसी भाईचारा र धार्मिक सहिष्णुता अभिबृद्धि गरी मुलुकमा दीगो शान्ति र जनभावना अनुसारको विकास गर्न ७२ घण्टे अष्टजाम सुरु मुस्लिम अगुवासमेत रहेका सचिव गुड्डुले जानकारी दिए। सब्जी फलफुल तथा गुद्धी बजार व्यवस्थापन समितिले गुद्धी बजारका हिन्दु –मुस्लिम समुदायका व्यापारीहरुको संयुक्त निर्णयले उक्त अष्टयाम सुरु गरेका हुन्।
समाजमा विभिन्न धर्मालम्वीहरु रहेकाले कुनै धार्मिक भावनामाथि ठेस पुग्ने काम गर्न नहुने र प्रत्येक धर्म ,रितिरिवाजलाई संरक्षण गर्न, एक आपसमा सहयोग गर्ने भावना जागृत गराई आपसी भाईचारालाई झन बलियो बनाउन सन्देश दिन अष्टजाम आयोजना गरिएको अध्यक्ष पशुपति भगतले जानकारी दिए।
सब्जी मण्डी तथा गुद्धी बजार व्यवस्थापन समितिका सचिव तथा अष्टजाम उपसमितिका प्रमुख सल्लाहकार साह्व अहमद गुडु (मियाँ) नै रहेका छन्। व्यापारीहरुको सामुहिक निर्णयबाट आयोजना हुने सो अष्टजाम हिन्दु धर्मको परम्परा तथा रितिरिवाजबाट हुने गरेको छ। हिन्दु र मुस्लिम एकैसाथ प्रसाद वितरण गर्ने गरेका छन्। अष्टजाममा लाग्ने खर्च गुद्धीका व्यापारीबाट संकल्न गर्ने गरेको बताइएको छ।