पिउने पानी बोक्नै चार घण्टा पैदल

पिउने पानी बोक्नै चार घण्टा पैदल

बागलुङ: उमेरले ७० वर्ष नाघेका हिराबहादुर बिकको सेताम्य केस फुलेका छन् । लठ्ठीको सहारा लिने बेलामा उकाली ओराली गर्दै गाग्री बोकेर पिउने पानीको गर्जो काट्नु पर्ने बाध्यताले पिरोलिरहेको छ । हिराबहादुरले पिउने पानीकै लागि यस्तो सकस बेहोरेको ७ दशक लामो अवधी भइसकेको कहाली लाग्दो कथा सुनाए ।

यसरी दैनिक घण्टौको पैदल यात्रा गरेर पानी नबोक्दाको दिन काकाकुल बन्नुपर्ने विवशता हिराबहादुरको मात्र होइन, जिल्लाको निसीखोला गाउँपालिका–२ अर्नाकोटका स्थानीयको दुर्दान्त समस्या हो । ‘जुन दिन घण्टौ हिँडेर पानी बोक्दैनौं, त्यो दिन घरमा बिहान बेलुका छाक पाक्दैन,’ उनले भने, ‘उमेरले चार बीस नजिक पुगे पनि रित्तो गाग्रीले साथ छोडेको छैन ।’

गाउँ नजिक खानेपानीको मुहान नहुँदा अर्नाकोटका सयौँ नागरिक घण्टौको यात्रा गरेर पानी बोक्न बाध्य छन् । हरेक बिहान सबेरै उठेर गाउँ भन्दा केही तल बसुन्धरा भन्ने ठाउँ पानी बोक्न जाने गर्छन् । पानी मुहानमा को छिटो पुग्ने भन्ने होडबाजी समेत स्थानीयबीच हुने गरेको छ । छिटो पुग्न नसके लामो समय लाइन बसेर पानी भर्नुपर्ने स्थानीय बताउँछन् ।

यहाँका करिब ७ सय घरधुरीका जनता वषौँदेखि खानेपानीको समस्यामा छन् । गाउँमा खानेपानीको चरम अभाव भएपछि गाउँलेले घर–घरमा सिमेन्टका घ्याम्पाहरु निर्माण गरेर आकाशे पानी संकलन गरेर प्रयोग गर्दै आएका छन् । यहाँका अधिकांश घरका छेउहरुमा समेत ठूला–ठूला घ्याम्पाहरु देखिन्छन् ।

घ्याम्पोमा संकलन भएको पानी करिब डेढ महिना पुर्‍याउनु पर्ने बाध्यता रहेको स्थानीय यमकुमारी बिकले बताइन् ।  लामो समय खडेरी परेपछि गाउँमा खानेपानीको हाहाकार मच्चिने उनी बताउँछिन् । गाउँमा प्लास्टिकका ड्रमको प्रचलन नआउँदा घ्याम्पोमै पानी संकलन गर्ने गरेका अर्नाकोटवासीको घर–घरमा ठूला प्लास्टिकका ड्रम समेत भेटिन्छन् ।

यामकुमारीले घण्टौँको यात्रा गरे पानी ल्याउन जाँदा बालबालिकालाई विद्यालय पठाउन ढिला हुने गर्दा छोराछोरीको पढाइ समेत बिग्रिने गरेको बताए । उनले पानी बोक्दैमा दिन बित्ने गरेको र अरु काम धन्दा गर्न समेत नभ्याउने बताए । ‘घर नजिक धारो छैन, २/३ घण्टा हिँडेर बल्ल धारोमा पुगिन्छ, पुग्न साथ पालो पाए त हुन्थ्यो, धारोमा पनि एक/डेढ घण्टा पालो कुर्नु पर्छ, घरमा जाँदा केटाकेटीलाई स्कूल पठाउन ढिला भएको हुन्छ,’ उनले भने, ‘यसले गर्दा केटोकेटीको पढाइ पनि बिग्रिराखेको छ, अरु काम गर्ने फुर्सद पनि हुँदैन ।’

यहाँका अधिकांश स्थानीयहरु पानी बोक्नको लागि ढोरपाटन नगरपालिका वडा नम्बर ५ को बशुन्धरा, बाँसखोला र बराहथान जान बाध्य छन् । लामो समयदेखि खानेपानीको माग गरे पनि काकाकुल अर्नाकोटवासीको चित्कार कसैले सुन्न र सम्बोधन गर्न नसकेको स्थानीय टेकबहादुर बिक बताउँछन् । ‘वर्षौँदेखि खानेपानीको समस्या भोग्दै आएका छौँ, अझै सम्म कुनै पनि निकायले हाम्रो समस्या बुझेको छैन,’उनले भने ‘चुनावको समयमा धेरै आउँछन्, आश्वासन दिन्छन्, तर चुनाव जितेर गए पछि कोही कसैले वास्ता गर्दैनन्, हाम्रो समस्या जहाँको त्यही छ ।’

अर्नाकोट उच्च पडाडी क्षेत्रमा भएको हुँदा खानेपानीको मुहान त्यस वरपर छैन । सानोतिनो भएको मुहान पनि सुक्दै गएको छ । ‘प्रशस्त खानेपानी छैन, काम गर्ने, आयआजन गर्ने अधिकांश समय पानी बोक्नमै बित्छ, तरकारी पनि राम्रोसँग उब्जाएर खाने अवस्था छैन,’ उनले भने ‘काम नगरेपछि मान्छेहरुलाई खान लाउन पनि गाह्रो हुन्छ, यसले गर्दा दैनिकी चलाउन पनि सकस भइरहेको छ, आयआर्जनमा ध्यान दिन पनि नपाउने अवस्था छ ।’

गाउँमा पहिला सानो मुहान भएको र सोही मुहानबाट स्थानीयले पानी प्रयोग गर्ने गरेकोमा जनसंख्या तीव्र गतिमा बढ्दै गएपछि पानीको हाहाकार भएको स्थानीय बताउँछन् । ‘पहिला–पहिला त तल गाउँमा एउटा मुहान थियो, त्यहीँबाट गाउँलेहरुले पानी खाने गर्थे, पछि–पछि मान्छेहरु बढ्दै गए, सडक डोजर लाएर खनियो, घरहरु बन्दै गए, जसले गर्दा अहिले मुहान पनि सुक्दैगयो, पानीको पनि अभाव हुँदै गयो’ बिकले भने ।

केही वर्षअघि गाउँमा पानीको हाहाकार मच्चिएपछि युनिका फाउण्डेसनको सहयोगमा निसीखोला गाउँपालिका वडा नम्बर २ बाँसखोलाबाट ३ सय ३५ मिटर दूरीमा लिफ्टिङ मार्फत् खानेपानी आयोजना निर्माण गरिएको थियो । यसबाट पनि अहिले पिउने पानी अप्रयाप्त देखिएको छ ।

‘उकालो ओरालो गरियो, निसीखोलाबाट गिट्टी बोकियो, सिमेन्ट बोकियो र अलिअलि पैसा लगानी गरियो तर धारोमा पानी निरन्तर आउन सकेन,’ स्थानीय बिकले भने, ‘सुरुमा निकै खुसी भएका थियौँ अब खानेपानीको समस्या हट्यो भनेका थियौँ तरपछि गएर पानी नै आउन छोड्यो ।’

गाउँ भन्दा धेरै टाढा खानेपानीको धारो भएको हुँदा आउजाउ गर्दा ४ घण्टा बित्ने बिक बताउँछन् । पानीको अभावले गर्दा सरसफाइ गर्नदेखि पशुचौपायालाई खुवाउन समेत निकै गाह्रो भएकाले बसाइ सराइ नै गर्ने अवस्था आएको स्थानीयको भनाइ छ । त्यसो त पानी अभावका कारण बसाइ सर्न आफूहरुको सम्पति जायजेथा नभएको उनीहरुको गुनासो छ ।

‘यही पानीको कारणले गर्दा समयमा खानु छैन, समयमा सुत्नु छैन, गाई भैँसीलाई खुवाउन पनि टाढैबाट ल्याउनु पर्छ,’ टेकबहादुरले भने, ‘खानेपानी अभावकै कारण गाउँबाट केहीले त बसाइँ पनि सरे, आफ्नो बसाइँ सरेर अन्तै जाउँ भने पनि ठाउँ छैन ।’

यहाँका स्थानीयलाई खानेपानीको व्यवस्थापन गर्नका लागि निसीखोला गाउँपालिका वडा नम्बर ६ को धुरीमा रहेको हाँचे दहबाट पानी ल्याउनका लागि गाउँपालिकामा छलफल भइरहेको निसीखोला वडा नम्बर २ का अध्यक्ष कुबिर विश्वकर्माले बताए । ‘गाउँपालिका र वडा नम्बर ६ का स्थानीय जनप्रतिनिधिसँग हाँचे दहबाट पाइप लाइन मार्फत् पानी ल्याउने विषयमा छलफल भइरहेको छ,’ अध्यक्ष विश्वकर्माले भने ‘छलफल टुंगिए पछि खानेपानीको काम अगाडि बढ्नेछ र केही समयमै खानेपानीको व्यवस्थापन हुनेछ ।’

उनले केही महिना अगाडि यहाँका करिब ५ सय घरका जनतालाई ढोरपाटन नगरपालिकासँग समन्वय गरेर फुर्तुङबाट पाइप लाइन मार्फत् पानी पुर्‍याए पनि त्यो प्रयाप्त नभएको बताए । ‘केही महिना अगाडि ढोरपाटन नगरपालिका वडा नम्बर ७ को फुर्तुङबाट खानेपानी लिएर ढोरपाटन र निसीखोलाका विभिन्न वडामा पुर्‍याइएको छ, त्यसले पिउन र खान पकाउन मात्रै पुगेको छ, प्रशस्त छैन,’ उनले भने ‘प्रयाप्त खानेपानीको व्यवस्थापन गर्न सबै निकायसँग सहकार्य गरेर काम अगाडि बढाउने तयारीमा छौँ ।’ निसीखोला गाउँपालिका वडा नम्बर २ र ढोरपाटन नगरपालिका वडा नम्बर ७, ५ र २ का विभिन्न स्थानमा पनि अझै खानेपानीको सहज पहुँच पुगेको छैन ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.