घाइतेलाई सकस
सुर्खेत : सुर्खेतको भेरीगंगा नगरपालिकास्थित मैनतडाका कविराम खड्काले समयमै उपचार पाएनन्। थलिएको १६ वर्ष भयो। छातीदेखि तलको भाग चल्दैन। तत्कालीन माओवादीले थालेको सशस्त्र विद्रोहका क्रममा खड्काको यो अवस्था आएको हो।
उनी न माओवादीमा थिए न त सुरक्षाकर्मी नै। सेनामा भर्ती हुन वीरेन्द्रनगर आएका खड्का २०६१ कात्तिकमा माओवादीको आक्रमणमा परे। भाग्यले बाँचे। तर, शारीरिक अशक्त बने। हाल औषधिकै सहारामा बाँचिरहेका छन्। मासिक ५/६ हजारको औषधि प्रयोग गर्नुपर्छ। द्वन्द्वमा घाइते भएका खड्का भन्छन्, ‘समयमै राम्रो उपचार पाएको भए मेरो यो हालत हुन्थेन, पैसा नहुँदा उपचार गर्न सकिँन।’ भरणपोषणका लागि सरकारले मासिक ६ हजार २ सय रुपैयाँ दिने गरे पनि त्यो भत्ता रोकिएकोमा उनको गुनासो छ।
वीरेन्द्रनगर–१ निवासी वसन्ता विष्टको शरीरमा गोलीका छर्रा छन्। द्वन्द्वकालमा उनको खुट्टा र हातमा गोलीका छर्रा लागेका थिए। खड्काले द्वन्द्वकै क्रममा हातका औंला गुमाइन्। रुकुमको खारामा भएको भिडन्तमा गम्भीर घाइते भएदेखि उनी शारीरिक अशक्त छिन्।
सरकारले दिने भरणपोषण भत्ताले केही राहत मिले पनि नियमित औषधि र उपचारमा कठिनाइ भइरहेको खड्काको भनाइ छ। कविराम र वसन्ता मात्रै होइनन्। सशस्त्र द्वन्द्वमा घाइते र अपांग भएकाहरूको अवस्था प्रायः उस्तै छ। सुर्खेतका १४ जना घाइतेलाई सरकारले मासिक रूपमा भरणपोषण भत्ता उपलब्ध गराउँदै आएको थियो। तर चालू आर्थिक वर्षदेखि कसैले पनि भत्ता पाएका छैनन्।
भत्ता नपाउँदा औषधि उपचार र घरव्यवहार धान्न समस्या भएको र सरकारले अन्याय गरेको पीडितको गुनासो छ। ‘घाइतेका लागि भनेर दिने भत्ता पनि सरकारले जतिबेला मन लाग्यो त्यतिबेला दिने हो र,’ कविराम भन्छन्, ‘अबदेखि मासिक रूपमा भत्ता पाउनुपर्छ।’ सरकारले पैसा उपलब्ध नगराउँदा द्वन्द्वका घाइतेलाई भरणपोषणा भत्ता उपलब्ध गराउन नसकेको जिल्ला प्रशासन कार्यालय सुर्खेतले बताएको छ।