शिवरात्रिमा भक्तको भीड

शिवरात्रिमा भक्तको भीड

काठमाडौं : महाशिवरात्रिका दिन बिहीबार लाखौं भक्तजनले पशुपतिनाथ मन्दिरमा भगवान् शिवको दर्शन र पूजाआजा गरेका छन्। विगत वर्षजस्तो भीडभाड नभए पनि झन्डै ८ लाख भक्तजन पाशुपत क्षेत्र पुगेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

बिहान साढे ३ बजेदेखि मन्दिरका ढोका खोलिएको र रातभर खुला राखिने कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाले बताए। ‘रातभर पनि खुला हुने भएकाले ९ बजेसम्म लाइनबाटै दर्शन भइरहेको छ’, कोषाध्यक्ष डा. थापाले भने।

कोरोना भाइरसका कारण यसपटक नागाबाबाको संख्या सय र अरू साधुसन्तको संख्या ३ सयमा सीमित रह्यो। विगत वर्ष नागाबाबाको संख्या ५–६ सय पुग्थ्यो। अन्य साधुसन्तको संख्या २ हजारभन्दा बढी हुन्थ्यो। मलेसियालगायत देशबाट आउनेको संख्या पनि एकदमै न्यून थियो।

कोषले केही दिनअघि भक्तजनलाई मास्क अनिवार्य लगाउन भनेको थियो। सकेसम्म दूरी कायम राख्न पनि आग्रह गरेको थियो। ‘सबैजसो भक्तजनले दूरी राख्न त सम्भव भएन तर मास्क नलाउनेलाई फर्काउने भनिएकाले सबैले लगाएको पायौं’, कोषका निमित्त उपनिर्देशक एवं शिवरात्रि पर्वका प्रवक्ता रेवती अधिकारीले भने, ‘कतिपय संस्थाले मास्क त कतिपयले स्यानिटाइजर ठाउँठाउँबाट बाँडे। निःशुल्क खाना र चियापानीको व्यवस्थाले पनि भक्तजनलाई सहज बनाएको थियो।’

गत वर्ष थाइल्यान्ड, अस्ट्रेलिया, इन्डोनेसिया र भारतबाट ल्याइएका झन्डै अढाई करोड रुपैयाँको फूलले सजाइएको पाशुपत क्षेत्रमा यसपटक त्यो रमझम थिएन। अधिकांश भक्तजनले भने यसपटक सुनको जलहरी शिवरात्रिको आकर्षण भएको बताए। झापा दमकबाट आएकी शारदा नेपाल भट्टराईले दोस्रोपटक पाशुपत क्षेत्रमा शिवरात्रि मनाएको बताइन्। ‘एक दशकअघि अत्यधिक भीड थियो यसपटक सायद कोरोनाले होला, धेरै भीड भएन’, उनले भनिन्। गत वर्ष फूलको झिलिमिली पनि हेर्न नपाएको उनले बताइन्। भनिन्, ‘मन्दिरभित्रको जलहरी हेर्ने मन भए पनि लाइन नबसेकाले पाइएन।’

महाशिवरात्रिका अवसरमा मन्दिर दर्शन र पूजाआजा गर्न कोषले चारवटा लाइनको व्यवस्था गरेको थियो। मित्रपार्क–गौरीघाट, उमाकुण्ड–दक्षिणामूर्ति हुँदै रुद्रगाडेश्वर भएर उत्तरढोकाबाट एउटा लाइन, बत्तीसपुतली–गौशाला, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल–तिलगंगा, पिंगलास्थान–सुमार्गी भवन अगाडिबाट चार शिवालय–पञ्चदेवल, दक्षिणढोका हुँदै स्थानबाट दुई लाइन गरी बाहिरी रूपमा पशुपति मूल मन्दिर परिसर प्रवेश गर्न सक्ने व्यवस्था गरिएको थियो। अर्को लाइन पश्चिममा वनकाली ओरालो हुँदै जुत्ताचप्पल कक्षबाट मूल मन्दिर प्रवेश गर्न सकिने गरी व्यवस्थापन गरिएको कोषका सदस्य सचिव डा. प्रदीप ढकालले बताए। डा. ढकालका अनुसार बिहानपख तिलगंगाबाट सुरु हुने लाइन लम्बिएर झन्डै सूचना विभागसम्म पुगेको थियो। साँझपख पुनः लाइनमा संख्या थपिएको र भक्तजनको संख्या बढेको उनले बताए।

तिलगंगाबाट सुरु हुने लाइन सुमार्गी भवनबाट अगाडि बढ्दा बीचबाट मान्छे छिरेका कारण लाइन केही बेर असरल्ल बनेको थियो। काँडाघारीबाट पुगेकी रोमिसा कोइरालाले लाइन व्यवस्थित भए पनि बेलाबेला अरू घुसेको बताइन्। उनका अनुसार लाइन बसेर पूजा गर्दा चार घण्टा लागेको थियो। कोषले भने छिटोमा एक घण्टामै दर्शन गराएको दाबी गरेको छ। ‘प्रहरीले लाइन व्यवस्थित गरेको पाएँ, स्वयंसेवकले पनि नम्र व्यवहारसहित सेवा गरेको पाएँ’, उनले भनिन्।

राष्ट्रपतिबाट विशेष पूजा
राष्ट्रपति विद्यादेवी भण्डारीले साँझ पौने ५ बजे पशुपतिनाथ मन्दिरको दर्शन र पूजाआजा गरिन् । राष्ट्रपति भण्डारीले राष्ट्रका नाममा ११ हजार १ सय रुपैयाँको विशेष पूजा गरेकी थिइन्।

यसैगरी सवा ५ बजेतिर मन्दिर पुगेका उपराष्ट्रपति नन्दबहादुर पुनले ५ हजार १ सय रुपैयाँको पूजा गरे। कोषाध्यक्ष डा. थापाका अनुसार शिवरात्रिका दिन खुला गरिएका ११ हजार एक सय र पाँच हजार एक सयका दुईवटा विशेष पूजा ७ सय भक्तजनले गरे। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले साढे ४ बजे दर्शन गरेका थिए। उनले सुनको जलहरीबारे चासो व्यक्त गरेका थिए।
‘यो वर्ष भक्तजन कम भए’
पशुपतिस्थित राममन्दिर परिसरको दृश्य खुब रमाइलो थियो। भारतको हरिद्वारबाट आएका ६५ वर्षीय बाबा रामानन्द स्वामी गाँजा भर्दै युवालाई दिन तल्लीन थिए। उनले गाँजा भर्ने ठाउँ प्रहरीकै सामुन्ने थियो। युवाहरू बाबाकै वरिपरि झुम्मिएका थिए।  कसैले एक खिल्ली मात्रै तान्थे। कसैले त्योभन्दा धेरै।

हेलिकप्टरबाट पुष्पवृष्टि भइरहेको थियो। भक्तजन तँछाडमछाड गर्दै फूल टिप्दै थिए। तर एक जना किशोर बाबाछेउ आए। र, भने ‘बाबा गाँजा पाइन्छ ?’ बाबाले भने, ‘गाँजाकै त काम भइरहेको छ। गाँजा नपाए के पाउँछ ?’

बाबाको उत्तर सुनेर ती युवा मुस्कुराउँदै एक खिल्ली मागे। प्रत्येक खिल्लीको ५० रुपैयाँ पर्ने रहेछ। कतियय युवा गाँजाले झुम्म भएका आँखा लिएर बाबाका वरिपरि बसेका थिए। लामो–लामो कपाल भएका एक युवाले एक खिल्ली तानेपछि बाबालाई ५० रुपैयाँ चढाउँदै ढोगे। पुनः अर्को खिल्ली मागे।

भारतको हरिद्वारबाट तीन दिनअघि पशुपति आएका रामानन्द प्रत्येक वर्ष शिवरात्रिमा पशुपति आउने रहेछन्। उनका अनुसार कोरोनाका कारण यो वर्ष एकदमै थोरै साधुसन्त तथा बाबा नेपाल आए। पशुपतिमा भक्तजनको संख्या पनि घटेको देखेको बताए।

उनी प्रत्येक वर्ष यसैगरी गाँजा बेच्दा रहेछन्। ‘यो वर्ष भक्तजन कम भएकाले एकदमै कम बिक्री भयो’, उनले भने, ‘गाँजा बेच्नु अरू दिन त गैरकानुनी हो। तर, आज भोलेको नाममा बेच्दै छु। भोलेको नाममा एक खिल्ली खाँदा केही हुन्न। भोले पनि त गाँजा रुचाउनुहुन्थ्यो।’

उनले शिवरात्रिका लागि भनेर दक्षिणकालीबाट गाँजा ल्याउने गरेको सुनाए। कोरानाका कारण वर्षदिनसम्म बाहिर ननिस्किएका उनी शिवरात्रिका लागि भने नेपाल आएको जनाए।
रामजानकी शरण जनकपुरबाट आएका ७५ वर्षका अर्का सन्त हुन्। सात वर्षदेखि पशुपति क्षेत्रमा बस्दै आएका उनलाई यो वर्ष भतmजनको चाप शून्यझैँ लागेको बताए। उनले भने, ‘कोरोनाले होला यो वर्ष मान्छेहरू आउन सकेनन्। नत्र कस्तो भीड हुन्थ्यो पशुपतिमा।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.