बालप्रज्ञा प्रतिष्ठान : आवश्यकता र औचित्य

बालप्रज्ञा प्रतिष्ठान : आवश्यकता र औचित्य

‘प्रत्येक चरणमा बच्चालाई जीवनको वास्तविक अनुभव प्राप्त गर्न दिइनुपर्छ; कुनै पनि बालकको गुलाबबाट काँडा उम्रन कहिल्यै दिनु हुँदैन।’ एलेन कीले भनेका यी दुई वाक्य प्रत्येक अभिभावकले गहन ढंगबाट ग्रहण गर्न जरुरी छ। हामी कति अभिभावकले आफ्ना सन्तानलाई जीवनको वास्तविक अनुभव गर्ने अवसर प्रदान गर्‍यौं होला ? अझ प्रत्येक चरणमा गर्ने अवस्था छ कि छैन ? अझ दोस्रो प्रश्न सर्वाधिक मर्मस्पर्शी छ। के सबै बालबालिकामा गुलाब फुल्न सकेको छ ? वा अभिभावकले उनीहरूको गुलाबबाट काँडा उम्रन नदिन के, कति र कस्ता पहल र प्रयास गर्‍यौं ? आफैंमा अनुत्तरित यस्ता दर्जनौं प्रश्न छन् तर न अभिभावक, न समाज न त राज्यले नै यिनका उत्तर खोजिरहेछ। हरेक बालबालिकालाई सुसंस्कारी बनाउन सके मानव होइन, नयाँ र योग्य मानव जन्मने छन्।

बालबालिकामा सही संस्कार बसाल्न सक्यौं भने परिवार खुसी र सुखी हुन्छ। यही जग हरेक परिवार र क्रमशः समाजमा बसाल्न सक्यौं भने बालबालिकालाई सही चरित्र, बोलीमा पक्का र सादा जीवनमा उच्च विचारको महामार्गमा दौडाउन सकिन्छ। परिणाम अन्ततः समृद्धि नै हो चाहे त्यो व्यक्ति, परिवार, समाज वा राष्ट्र।

अन्तर्राष्ट्रिय प्रचलन आत्मसात गर्ने हो भने १८ वर्षमुनिका बालबालिकाका नेपालको कुल जनसंख्याको झन्डै ४० प्रतिशत छन्। आजसम्म नेपालमा विकास हुन नसक्नुको प्रमुख कारण नै जग बलियो नभएरै हो। के समयमै बालबालिकालाई संस्कारको यो जगमा राख्न सकियो भने भोलि देश हाँक्ने युवामा सामाजिक दायित्व पूरा गर्ने, देशभक्त, नैतिकवान् र मानवीय हुँदैनन् र ? यसले परिवार, समाज र राष्ट्रप्रति उत्तरदायी त अवश्य बनाउँछ नै; सँगै अरूप्रति सद्भाव राख्ने, सहयोग र सम्मान गर्ने परिपाटीको पनि विकास हुन्छ।

नेपालमा बालबालिकालाई हेर्ने दृष्टिकोण नै गलत छ। उनीहरूलाई सम्मान गर्नुपर्छ; उनीहरूका विचारलाई स्थान दिनुपर्छ र उनीहरूले गर्न चाहेका काममा होस्टेमा हैंसे गर्नुपर्छ भन्ने संस्कारकै अभाव छ अभिभावकमा। बालबालिकाले जुनजुन उमेरमा जेजे पाउनुपर्ने हो; त्यो पाएकै छैनन्। यी सबैका लागि नेपालमा बालप्रज्ञा प्रतिष्ठान अत्यावश्यक छ।

सर्वांगीण विकासमा प्रारम्भिक बालविकासको अवधारणा विश्वव्यापी छ। तर यसलाई नेपालमा पछिल्ला वर्षमा मात्र आत्मसात गर्न थालेको देखिन्छ। यो पनि पूर्णरूपमा र सबैलाई समेट्न सकिएको छैन। संयुक्त राष्ट्रसंघको बालअधिकारसम्बन्धी अनुबन्धको धारा १७ मा पनि बालबालिका आफ्नो विकासका लागि आवश्यक विभिन्न माध्यमबाट सूचना र ज्ञान, भाषाको विकास गर्ने अवसर, बालपुस्तक तथा स्वस्थ मनोरञ्जनका सामग्री पाउने र हानिकारक सामग्रीबाट बच्न पाउने अधिकार उल्लेख गरिएको छ।

पाठ्यक्रमले मात्र बालबालिकाको सर्वांगीण विकास सम्भव छैन। यसका लागि विभिन्न विधाका बालसाहित्य आवश्यक हुन्छ तर हामी कति अभिभावकले सन्तानका लागि बालसाहित्य किनेर लगिदिन्छौं; पढाउँछौं र साथमा राखेर बुझाउँछौं ? बालसाहित्यका पुस्तकले बालबालिकाको शारीरिक, संवेगात्मक, सामाजिक, मानिसक र आध्यात्मिक विकास गराउँछन्। बालबालिकाले हरसमय अवसर खोजिरहेका हुन्छन् तर अभिभावक त्यो दिन तयार छैन। अभिभावक त्यसको आवश्यकता बोध गर्दैन वा अल्पज्ञान र आर्थिक अभावले त्यो वातावरण दिनै सक्दैन। परिवार र समाजले नै बालबालिकालाई हरेक दिन यसरी नै खुम्च्याइरहेको छ। यो खाडल बालप्रज्ञा प्रतिष्ठानले पुर्नेछ।

‘तपाईं एउटा बच्चालाई उचित वातावरण, पारिवारिक परिवेश, भोजन, आमाबाबुको माया, समुचित स्वतन्त्रता, संस्कार एवं शिक्षाबाट वञ्चित राख्नुहुन्छ भने तपाईं एक त्यस्तो वयस्कको निर्माण गर्दै हुनुहुन्छ; जसको व्यक्तित्व सधैं अविकसित रहन्छ। साथै उसको व्यक्तित्व विकास अगाडि नबढेर त्यसको सट्टा पछौटेपनतिर धकेलिन्छ।’ जोन ग्रेनको यो भनाइलाई या आत्मसात गर्न नसकेर या त नचाहेर सन्तानलाई सही बाटो दिन हामी सकिरहेका छैनौं। परिणामतः हिंसात्मक स्वभाव हुने, गलत संस्कार एवं मूल्यमान्यता अपनाउने, लागूपदार्थ दुव्र्यसनमा फस्ने, अश्लील र हानिकारक सामग्रीको कुलतमा पर्ने, पारिवारिक एवं सामाजिक दायित्व बोध नहुने जस्ता समस्याको दलदलमा उनीहरू फस्छन्। भोलिका यस्ता नागरिकबाट देश र देशवासीले के अपेक्षा गर्ने ? ग्लोबल भिलेजको यो जमानामा कसरी विश्वसँग प्रतिस्पर्धा गर्ने ? यसका लागि बालसाहित्यका अलावा कला र संस्कृतिको नियमित अभिलेखन (डकुमेन्टेसन), अध्ययन, अनुसन्धान हुन जरुरी छ। सँगै अनुगमन, मूल्यांकन तथा गुणस्तर निर्धारण गर्नु र गराउनुपर्छ।

जीवन र जगत्लाई नेपालीमय बनाउने र सोही वातावरण र संस्कारमा हुर्कने गरी बालबालिकाको खानपानदेखि समग्र जीवनशैली अटाउने गरी प्रतिष्ठानको अवधारणा बनाएर काम थाल्न ढिलो भएको उहाँको भनाइ छ। 

बालबालिकाका क्षेत्रमा जेजति काम भए; ती अधिकांश हचुवाकै भरमा छन्। अनुसन्धानबाट प्राप्त निष्कर्षबाट गर्ने परिपाटी नबसुञ्जेल यो क्षेत्रको गुणस्तरीयताको अपेक्षा गर्नै सकिन्न। अनुसन्धानमूलक बालपुस्तक, शोध तथा अनुसन्धान पत्र, विश्व बालसाहित्य र कलाका उत्कृष्ट कृतिको नेपालका विभिन्न भाषामा अनुवाद ढिलो भइसकेको छ। बालसाहित्यलाई सर्वसुलभ रूपमा देशव्यापी बनाउन विशेषगरी ‘डिजिटल बालसाहित्य’ को अवधारणामा जानैपर्छ। यी सबै बालप्रज्ञा प्रतिष्ठानबाट मात्र सम्भव छ।

आजसम्म जति पनि प्रयास भए; सबै ठूला मानिसका लागि भए। गिलो माटो मात्र हो जस्तो स्वरूप दिए पनि आकारमा आउने। हामीले यति कुरो बुझ्न ढिलो गर्‍यौं। माटो कडा भएपछि वा सुकेपछि त्यसलाई आकार दिन खोज्नु भनेको मूर्खता हो। हो, अहिले त्यही भइरहेछ। उमेर छिप्पिएपछि आफ्नो कमजोरी सुधार्न सक्ने मान्छे हजारमा एक होलान् तर बालबालिकालाई सानैदेखि सही दिशा दिने हो भने हजारमा हजार नै सही गोरेटोमा हिँड्नेमा दुईमत हुनै सक्दैन।

सर्वश्रेष्ठ सम्पत्ति भनेकै असल संस्कार हो भन्ने बुझाउन र सोहीअनुसार वातावरण प्रदान गर्नु आजको आवश्यकता हो। परिवार र समाजले सही वातावरण दिन नसक्दा थुप्रै बालबालिका अहंकारी र कुसंस्कारी बनेका छन्। अहंकारले हराउँछ र संस्कारले जिताउँछ भन्ने सन्देश दिन सकेनौं। संस्कारले सभ्य र सुसंस्कृत बनाउँछ। परिवार पहिलो पाठशाला भए पनि यी सबै सिकाउन सम्भव नहुन सक्छ। पाठ्यक्रममा आधारित शिक्षा भएकाले त्यहाँ पनि यी सबैको अपेक्षा गर्न सकिन्नँ। त्यसैले बालप्रज्ञा प्रतिष्ठानको औचित्य यहाँनेर छ। विश्वका केही देशले बालबालिकामा गरेको लगानी हेरे मात्रै पनि यसको औचित्य स्वतः पुष्टि हुनेछ।

‘फूल फक्रिएपछि सुन्दर र मनमोहक देखिन्छ। दूध राम्रोसँग जम्यो भने मात्र दही राम्रो बन्दछ र घिउ राम्रोसँग निस्कन्छ। फूल फक्रिएर मनमोहक देखिनु र दूध जमेर घिउ बन्नु विशुद्ध प्राकृतिक प्रक्रिया हो। ठीक यसैगरी संस्कार शिक्षाद्वारा मानवलाई असल, कुशल र सफल बनाउनु पनि एक प्राकृतिक प्रक्रिया हो। खेतबारीमा रोपिएको अन्नबाली गोडमेल गरेपछि त्यसले राम्रो फल दिन्छ। त्यस्तै दुर्गुण, दुव्र्यसन, दुर्भाव, दुव्र्यवहारजस्ता स्वभावगत झारपातलाई बेलैमा गोडमेल गरी मिल्काएपछि व्यक्तिको व्यक्तित्वले सुसंस्कृत र सुयोग्य बन्ने मौका प्राप्त गर्छ। सुसंस्कारको फल यही हो।’ डा. राजु अधिकारीका यी वाक्यलाई बालप्रज्ञा प्रतिष्ठानले शतप्रतिशत कार्यान्वयन हुने गरी काम गर्नुपर्छ। बालसाहित्यकार शाश्वत पराजुली पनि अब बालबालिकालाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्नेमा जोड दिन्छन्। राज्यले महत्व दिनुपर्नेमा जोड दिने उहाँ थप्नुहुन्छ, ‘बालबालिकाको क्षेत्रलाई दुईचार एनजीओलाई सुम्पेर राष्ट्र मूकदर्शक बन्नु हुँदैन। प्राज्ञिक संस्था गठन गरी धेरै काम गर्नुपर्छ।’

बालसाहित्यकार रामबाबु सुवेदी बालबालिकालाई असल नागरिक बनाउन ढिलो भइसकेको तर्क गर्नुहुन्छ। भन्नुहुन्छ, ‘नेपालको भौगोलिक, सामाजिक, सांस्कृतिक, जातीय, लैंगिक, क्षेत्रीय आदि विविधतालाई सम्मान गर्ने उच्च गुणस्तरको समतामूलक, समावेशी तथा बहुसांस्कृतिक बालसाहित्य एवं बालहितकारी कला सिर्जना गर्न, गराउन बालवांमयका सर्जक, कलाकार, संगीतकर्मी, शोधकर्ताहरू अब संस्थागत रूपमै लाग्नुपर्छ।’

हिन्दी कार्टुनले बालबालिकालाई तानेजसरी अब नेपाली कार्टुनको उत्पादन र विस्तार गर्नुपर्ने भनाइ वरिष्ठ चित्रकार केके कर्माचार्यको छ। भन्नुहुन्छ, ‘श्रव्यदृश्यले बालबालिकालाई छिटो तान्छ र सिकाउँछ। गुणस्तरीय कार्टुन भए सिकाइ र संस्कारको जग पनि त्यसैबाट सुरु हुन्छ। अब संस्थागत प्रयास ढिलो गर्न हुन्न।’ वरिष्ठ बालसाहित्यकार शान्तदास मानन्धर ‘बालबालिका आशाको दियो भएकाले तिनलाई बाल्ने र बलिरहने वातावरणको खाँचो भएको’ औंल्याउनु हुन्छ। सबै भनाइप्रति बुझाइ एकमत हुँदै गराइमा समाहित हुन सके गीतसंगीतमा जस्तै शब्द, सूर र ताल मिल्नेछ।

‘तपाईंहरूले मात्र होइन; मैले पनि बालबालिकाको सर्वांगीण विकासका लागि यस्तो संस्थाको अभाव महसुस गरिरहेछु’, राष्ट्रपति विद्यादेवी भण्डारीले बालसाहित्यकारको समूहमा अवधारणा–पत्र ग्रहण गर्दै भन्नुभयो, ‘योग्य र सिर्जनात्मक बनाउन बालप्रज्ञा प्रतिष्ठान यो देशका लागि अति आवश्यक छ, कताकता रेल छुटेजस्तो महसुस भइरहेछ।’ टेलिभिजनलगायत सबै सञ्चारमाध्यम, श्रव्यदृश्य र बालसाहित्यका सबै विधालाई यत्रतत्र सर्वत्र बनाएर बालबालिकाको सर्वांगीण व्यक्तित्व विकास गर्नुपर्नेमा राष्ट्रपतिको जोड छ। जीवन र जगत्लाई नेपालीमय बनाउने र सोही वातावरण र संस्कारमा हुर्कने गरी बालबालिकाको खानपानदेखि समग्र जीवनशैली अटाउने गरी प्रतिष्ठानको अवधारणा बनाएर काम थाल्न ढिलो भएको उहाँको भनाइ छ। भण्डारीले भन्नुभयो, ‘सबै स्थानीय सरकार, प्रदेश र केन्द्रबाट भएगरेका प्रयासलाई पनि समेटेर बालप्रज्ञा प्रतिष्ठानलाई बहुभाषिक, बहुजाति, बहुसांस्कृतिक बनोटका आधारमा अघि बढाउन अब ढिलो गर्नुहुन्न।’ विकासका नाममा हुने भ्रष्टाचार र योजना÷आयोजनाका नाममा हुने आर्थिक अनियमितता मात्रै कटौती गर्न सक्ने हो भने बालहितका लागि अर्थात् देश विकास गर्ने नागरिक बनाउन लगानी गर्ने बजेटमा पनि कुनै समस्या हुँदैन। ‘भोलिका लागि लगानी’ गर्नुमै देश र देशवासीको कल्याण हुनेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.