अफगान शान्ति वार्ताअघि रुसले भन्यो: तालिबानलाई समेटिनुपर्छ
मस्को: रुसले तालिबानलाई अफगानिस्तानको कुनै अन्तरिम प्रशासनमा समावेश गरिनुपर्ने बताएको छ ।
मस्कोमा इस्लामिस्ट समूह र अफगानिस्तान सरकारबीच शान्ति वार्ताअघि रुसले यस्तो प्रतिक्रिया दिएको हो । रुसले उक्त वार्तामा सहयोग गरिरहेको पनि छ ।
मार्च १८ मा मस्कोमा हुने उक्त वार्तामा तालिबान प्रतिनिधिसहित अरु क्षेत्रीय प्रतिनिधि तथा समूह पनि निम्त्याइएका छन् । मे १ सम्म विदेशी सेना अफगानिस्तानबाट फिर्ता लैजानुपर्ने प्रतिवद्धता पूरा नहुँदै आयोजित यस वार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
जबकि यसअघिका वार्तामा तालिबान र अमेरिका दुबैले गरेका सम्झौता पूरा गर्न सकेका छैनन् । यस्तैमा अफगानिस्तानमा अब बन्ने अन्तरिम समावेशी प्रशासनमा तालिबानलाई पनि समावेश गरिनुपर्ने आवाज उठेको छ। जहाँ उनीहरु पनि अब शान्तिपूर्ण राजनीतिक जीवनमा प्रवेश गर्नसक्ने तर्क उठ्ने गरेको छ ।
रुसले भने आगामी साता मस्कोमा हुने यस वार्तालाई यसअघि दोहामा भएको शान्ति वार्तालाई समर्थन गर्नका लागि आयोजना गरिएको भन्दै अर्थ्याएको छ । मस्कोको वार्तामा दोहास्थित तालिबानको राजनीतिक कार्यालयका चार वा पाँच सदस्य सहभागी हुने बताइएको छ ।
यस्तैमा टर्कीले पनि आगामी अप्रिलमा आफूले इस्तानबुलमा अफगान शान्ति वार्ताको आयोजना गर्ने जनाएको छ ।