देउवालाई अग्रसर हुन पार्टीको सहमति

देउवालाई अग्रसर हुन पार्टीको सहमति

काठमाडौं : कांग्रेस सभापति शेरबहादुर देउवा सरकारको नेतृत्व लिन अग्रसर हुनुपर्नेमा पार्टीका नेताहरू सहमत देखिएका छन्। पार्टीका पूर्व र वर्तमान पदाधिकारीको शुक्रबार बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको विकल्प खोज्नुपर्नेमा एकमत देखिएको हो।

‘कांग्रेस अहिले पर्ख र हेरको अवस्थामा छ। ओली सरकारलाई हटाएर नयाँ सरकार गठन हुनुपर्छ भन्ने कांग्रेसको मान्यता हो’, पदाधिकारी बैठकपछि काठमाडौंमा आयोजित नेपाल शिक्षक संघ बागमती प्रदेशको कार्यक्रममा महामन्त्री डा. शशांक कोइरालाले भने, ‘त्यसका लागि कांग्रेसकै नेतृत्वमा सरकार बनाउन हाम्रो जोड हुन्छ। त्यो सम्भव छ कि छैन थाहा छैन।’
केन्द्रीय सदस्य गगन थापाले राजनीतिक निकासका लागि कांग्रेस नेतृत्व अपरिहार्य रहेको बताए। ‘ओलीलाई चाँडो घर पठाउनु छ। सकिन्छ भने कांग्रेसको नेतृत्वमा सरकार बनाएर केपी शर्मा ओलीले जति पनि संविधानमा भ्वाङ पार्ने काम गर्नुभएको छ, त्यसलाई पुर्ने काम गर्नुपर्छ। अनि मुलुकलाई निर्वाचनमा लैजानुपर्छ’, नेता थापाले भने, ‘सर्वाेच्च अदालतको आदेशपछि

नेकपाले पाएको जनमत खारेज भएको छ। त्यसकारण अहिले जनादेश पाएको दल नै छैन। अब यस्तो अवस्थामा मुलुकलाई निकास दिने दायित्व कांग्रेसको काँधमा छ।’
कांग्रेसले सम्भावित सत्ता समीकरणबारे शुक्रबारै जनता समाजवादी पार्टी (जसपा) सँग औपचारिक संवाद गर्‍यो। जसपाका नेताहरूले माओवादी केन्द्रलाई समेटेर तीन दल मिलेर अगाडि बढ्नुपर्ने प्रस्ताव गरेको बैठकमा सहभागी एक कांग्रेस नेताले बताए। ‘उहाँहरूले माओवादी, जसपा र कांग्रेस मिलेर अगाडि बढ्नुपर्छ यसको नेतृत्व कांग्रेसले गरोस् भन्ने औपचारिक प्रस्ताव राख्नुभयो’, ती नेताले अन्नपूर्ण पोस्ट्सँग भने, ‘तर, कसरी अगाडि बढ्ने भन्नेमा अहिले नै ठोस निष्कर्षमा भने हामी पुगेका छैनौं।’

माओवादी केन्द्रले समर्थन फिर्ता लिए यो सरकार अल्पमतमा पर्नेछ। त्यसलाई ध्यानमा राखी ओलीले सत्ता समीकरणबारे जसपासँग छलफल गर्न कार्यदल बनाएका छन्। जसपाले भने कार्यदल बनाए पनि त्यो सरकार निर्माणका लागि नभई आफूले उठाउँदै आएका मुद्दाको सम्बोधन गर्न भएको बताएको छ।

जसपाले रेशम चौधरीको रिहाइ, आफ्ना नेताकार्यकर्तामाथि लगाइएका मुद्दा खारेजी र संविधान संशोधनको विषयलाई सम्बोधन गर्ने दलसँग सत्ता सहकार्य गर्न सकिने जनाएको छ। उसले यसका लागि एमाले, कांग्रेस र माओवादी केन्द्रसँग संवाद गर्ने निर्णय गरेको थियो।

कांग्रेससँगको संवादमा सहभागी जसपा अध्यक्ष महन्थ ठाकुरले आफ्ना मुद्दाबारे कांग्रेस नेतृत्वलाई जानकारी गराएको बताए। ‘जेलमा रहेका राजबन्दी छाड्ने। नागरिकताको मुद्दा, संविधान संशोधनको विषयबारे हामीले कुरा राख्यौं’, अध्यक्ष ठाकुरले भने, ‘यसमा उहाँहरूका कुरा सुन्यौं। कुनै निष्कर्षमा भने पुगेका छैनौं।’ ठाकुरले ओलीको विकल्पमा कांग्रेस, माओवादी केन्द्र र जसपा मिलेर सरकार गठन गर्ने विषयमा भने बृहत् छलफलको आवश्यकता औंल्याए। ‘हामी अब माओवादी केन्द्रसँग पनि छलफल गर्छाैं। त्यसपछि मात्रै एउटा निर्णयमा पुग्छौं’, उनले भने।

‘प्रतिनिधिसभा पुनःस्थापनापछि अबको राजनीतिक निकासका लागि प्रमुख प्रतिपक्षी दलले अग्रसरता लेओस् भन्ने उहाँहरू (जसपा)बाट आयो’, कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘कांग्रेस, माओवादी केन्द्र र जसपा एउटै ठाउँमा उभिँदा उचित हुन्छ भन्ने धारणा जसपाका साथीहरूको थियो। आज साझा धारणा बनाउने प्रयास भयो।’

कांग्रेस सभापति शेरबहादुर देउवा भने सत्ता समीकरणलाई लिएर अझै बोलेका छैनन्। जसपासँगको बैठकमा देउवाले अझै केही समय कुर्नुपर्ने बताएका थिए। तर, देउवाले संविधान र लोकतन्त्र जोगाउन ओलीको विकल्प खोज्नु जरुरी रहेको बताएका थिए। प्रवक्ता शर्माले परिस्थिति थप परिपक्व बनोस् भन्ने चाहना कांग्रेसको रहेको बताए।

जसपाबाट अध्यक्ष ठाकुर, उपेन्द्र यादव, डा. बाबुराम भट्टराई, राजेन्द्र महतो छलफलमा सहभागी थिए। कांग्रेसबाट सभापति देउवा, उपसभापति विमलेन्द्र निधि, विजयकुमार गच्छदार, महामन्त्री डा.शशांक कोइराला, कृष्णप्रसाद सिटौलालगायत नेता थिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.