प्रोटागोनिस्ट

प्रोटागोनिस्ट

म्याकुली र प्याकुली ! गरिबी र अशिक्षाको चरम प्रतिनिधित्व गर्ने नाम ! तर सेक्सपियरले भनेझैं नाममा के नै छ र ? आखिर गुलाबलाई अरू नै नाम दिए पनि त्यसको प्रकृति र सुगन्ध कहाँ बदलिन्छ त ! चौध वर्षको उमेरसम्म अनिता–बिनिता रहेका हामी पन्ध्र वर्ष नपुग्दै लाल झन्डा र बन्दुक उठाएर कम्युनिस्टको युद्ध लड्न निस्किएपछि मात्र म्याकुली–प्याकुलीमा बदलिएका थियौँ। 

हामी पनि नाममा मात्र बदलियौं। हाम्रो प्रकृति बदलिएन। अहिले पनि हाम्रो स्वाभाव उही छ। रहर उस्तै छन्। चेत उस्तै छ। फरक त केवल हामीले वर्तमानमा बाँचिरहेको भूगोल र हाम्रो समाज छ। 

‘म समयको कोल्टे पाटोमा परेर हवाना पुगें। त्यसको कथा छुट्टै छ। वर्षौंको अन्तरालमा म्याकुली भेट्न निस्किएका बेला मेरो कथा नभनौं है !’ यसबेला म आफैंलाई बिर्सिएर म्याकुलीको अनुहार मात्र सम्झिन चाहन्थें। त्यसैले होला हवाना एयरपोर्टको घुइँचोले पनि मेरा नजरबाट म्याकुलीको अनुहार धमिल्याउन सकेको थिएन। 

हवाना एयरपोर्टबाट उडेदेखि म्याकुलीको अनुहारसँगै मेरो मनभरि हाम्रो बाल्यकाल घुम्न थालेको थियो। तरुनी हुँदै जाँदा हाम्रो आँटलाई पखेटा हालेर उड्न सिकाउने त्यो चेत पुनः सल्बलाइरहेको थियो। म्याकुलीसँगै बसेर कम्युनिज्मको बहस गर्ने हतारोले मन अस्थिर भएको थियो। मैले उसलाई ‘फिडेल क्यास्ट्रो’को इतिहास बताउनु थियो। ‘ग्वान्तानामेरा’ गीत गाएर सुनाउनु थियो। ‘रम्बा’ र ‘साल्सा’ डान्सका केही स्टेपहरू सिकाउनु थियो। अलबर्टो र मेरो रोमान्सका बारेमा भन्नु थियो। सबभन्दा बढी त मन खोलेर हाँस्नु थियो।

यिनै इच्छाहरूलाई हृदयभित्र खात लगाएर हवानाबाट उडेको चार दिनपछि म म्याकुलीको घर आइपुगेकी थिएँ। ‘जिन्दगीमा यसरी भेट होला भन्ने लाग्यासम्म भा’नि मरिजाम् !’, म्याकुलीले मलाई देख्नेबित्तिकै रुन्चे आवाज पार्दै भनी। ‘छ्या ! के भनेकी नि ? भेट नभएर हुन्थ्यो त ?’, मैले उसलाई स्नेहले अँगालो हाल्दै भनें। म्याकुलीले पत्यार नमान्दै थपी, ‘समयले सामुन्ने के तेस्र्याइदिन्छ के भन्न सकिन्छ र ?’

म्याकुलीले त्यसो भन्दै मेरा हात समातेर पाहुना कोठातिर लैजाँदै गर्दा बालसखीको आत्मीयताले निकै पुलपुलिएँ। कताकता बाक्लो छालाले ढाकिएका म्याकुलीका खस्रा हातहरूको स्पर्शले भने उसले वर्षौंदेखि गुम्स्याएर राखेका दुःखका परिच्छेदहरू पालैपालो खुलेको आभास भइरहेको थियो। त्यो अप्रमाणित आभासलाई मनबाट पन्छाउँदै म्याकुलीको प्रशंसामा भनें, ‘मोरी कत्ति चिटिक्क पारेर सजाएकी घर !’

बाल्यकालदेखिकी साथीको यो अवस्था देखेर मेरो शरीरका तन्तु–तन्तु दुख्न थाले। त्यसपछि त ‘रात पर्न दे’को रहस्यमय भ्रान्तिले झन् बढी पिरोल्न थाल्यो मलाई। आखिर रात परेरै छोड्यो। म्याकुलीको प्रोटागोनिस्ट घर फर्किएको केही क्षणमै बालसखा ‘ग्वान्तानामेरा’ भएको देखें।

‘छ्या ! के जिस्क्याएकी ? विदेशी सुक्सुकाउँदा घरमा बसेकी मान्छेलाई यस्तो डाँडामाथिको सानो कटेरो नि कहीं राम्रो लाग्दो हो !’, म्याकुलीले मेरा सुटकेसहरूलाई एकातिर थन्क्याइदिँदै भनी। समयको यस मोडमा आइपुग्दा राम्रो–नराम्रोप्रति हामी दुईको दृष्टि र दृष्टिकोण अत्यन्तै भिन्न भएकाले कुरालाई अन्तै मोड्दै भने, ‘तँ त जस्ताकी तस्तै रहिछस्– तरुनी !’ मेरो जिस्क्याइमा उसको प्रतिक्रिया शून्य भयो तर तुरुन्तै त्यो शून्यतालाई चिर्दै म्याकुलीले सोधी, ‘खाना बनाऊँ की चिया पिउँछेस् ?’

‘मध्य दिनको पाहुनालाई के खाना बनाउँछेस्, बरु चिया नै पिउँछु’, मैले सहज हुँदै भने, ‘बरु भन् कस्तो चिया बनाउँछेस् ?’ ‘हैन ! बिर्सिस् ? दुईको चारवाला ?’, उसले अचम्म मान्दै भनी। ‘छ्या ! त्यै मोरो चार फुट तीन इन्चवालाको अर्डर !?’, मैले पुरानो कोड सम्झिएँ। त्यसपछि हामी बेस्सरी हाँस्दै भान्साकोठातिर लाग्यौं।

‘बिचरो ! चार फुट तीन इन्च तँलाई कस्तो मरिहत्ते हाल्थ्यो !’, दुई साथीको छिल्लिएको हाँसोसँगै म्याकुलीले मलाई छेडखानी गरी। ‘अनि तेरो नि तेरो ! तँलाई रगतले चिठी लेखेर पठाउने त्यो लालमुन्द्रीवाला चैं कहाँ बस्छ नि आजभोलि ?’, मैले पनि उसलाई छोडिनँ। ‘ह्या छोड्दे सब !’, म्याकुलीले बोल्दै ठ्यास्स लाइटर झोसी। ग्याँसको चुल्हो ह्वार्र बल्यो।

‘के छोड्नु ? कल्पना गर त त्यो लालमुन्द्रेले तेरो गाला चुमेको ! तँलाई अँगालोमा बेरेर प्रेमका कुरा गरेको ?’ साथी भेटेर मात्तिएकी मैले म्याकुलीका कानमा साउती  मारें। लाजले रातो हुँदै ह्वार्र बलेको ग्याँसमाथि चिया पकाउने प्यान बसाउँदै म्याकुलीले थपी, ‘मजस्ता आइमाईले अनुहारलाई मुखौटा र शरीरलाई कवच बनाएर बाँच्नुपर्ने समाजमा नानाथरी कल्पेर के फाइदा ? अरे ! यहाँ त सबै प्रोटागोनिस्ट लोग्ने मान्छे  !’

‘हँ !’ म्याकुलीका कुराले झस्किँदै प्रश्न गरें, ‘कसरी लोग्नेमान्छे प्रोटागोनिस्ट ?’ ‘बाल्यकालदेखिका साथी भए पनि क्युबाको अलबर्टो र कम्फुटारको अमृतजंगसँग जीवन जोडिएका हामी दुईको बुझाइ र भोगाइमा प्रोटागोनिस्टको अर्थ एकै हुन्न प्याकुली !’, म्याकुलीले निराशा बोली। ‘पन्ध्र वर्षको उमेरमै बन्दुक उठाएर समाजवाद र समानताको युद्ध लड्न ज्यानको बाजी थापेर झ्याम्सीको जंगल पसेका अनिता–बिनिता उर्फ म्याकुली–प्याकुलीको बुझाइमा प्रोटागोनिस्ट लोग्ने मान्छे मात्र कहिलेदेखि भयो ?’, मैले उम्लिँदै गरेको चिया चलाउँदै गरेकी म्याकुलीसँग विमति जनाएँ।

‘त्यसो भए तँ अलबर्टोलाई प्रोटागोनिस्ट मान्दिनस् ?’, म्याकुलीले मेरो विचार मागी। ‘मान्दिनँ। अलबर्टो मेरो प्रोटागोनिस्ट होइन। ऊ एक प्रेमी हो। जीवनसाथी हो। हामी दुईको भावी जीवनको आधा भाग हो। उसलाई म सम्मान गर्छु। उसले मलाई सम्मान गर्छ। योभन्दा बढी ऊ केही होइन’, मैले प्रस्ट भनें, ‘पराया देशको सुखसुविधा भोगेर आदर्शका कुरा गर्न पाए म पनि यस्तै भन्थें।’

मेरो विमतिमा म्याकुलीले पराया देशको सुखसुविधाको प्रभाव देखी। मैले विदेश देख्नुभन्दा कयौं वर्ष पहिले झ्याम्सीको जंगलभित्रको सेल्टरमै महिला पुरुषको समानताका विषयमा घन्टौं बहस गरेको त उसले बिर्सिसकिछ। छक्क पर्दै सोधें’, ‘के तेरो अमृतजंग प्रोटागोनिस्ट हो ?’ ‘हो। अमृतजंग मेरो प्रोटागोनिस्ट हो’, उसले तातो चियाका कपहरू उठाएर ट्रेमा राख्दै विश्वासका साथ भनी।

‘उसोभए तँ आर्थिक रूपमा उसैको भर परेकी छस् !’, मैले दाबी गरें। ‘व्यवसाय छ मेरो। आजसम्म यो ज्यान ढाक्ने र यो ज्यान पाल्ने जिम्मेवारी आफ्नै कमाइले धानेकी छु’, म्याकुली अलि रिसाउँदै बोली। ‘आफ्नो सुन्दरतालाई अमृतजंगबाट अनुमोदन त गराउँदिनस् ?’, मैले संशय गरें। ‘आफूलाई कुरूप ठान्दिनँ’, उसले शिर ठाडो पार्दै भनी। ‘तेरो सामाजिक र राजनीतिक चेत कमजोर छ !’, ऊप्रतिको धारणा राखें।

‘महिला जागरण केन्द्रको सचिव पद सम्हालेको नौ वर्ष भयो’, उसले वर्षै तोकी र चियाका कप भएको ट्रेमा केही बिस्कुट राख्दै भनी, ‘राजनीतिक चेतको सिंगो साक्षी भइहालिस्।’ ‘पक्कै पढाइ बीचमै छोडिस् ?’, सोधें। ‘त्रिभुवन विश्वविद्यालयको दीक्षान्त ग्रहण गर्दाको फोटो छ मसँग।’ ‘असल आमा बन्न सकिनस् कि ?’, उसको मातृत्वमा शंका गरें।

‘मबिना छोराछोरी बाँच्न सक्दैनन्’, म्याकुलीका आँखा रसाए। ‘त्यसो भए बराबर साझेदारीको सम्बन्धमा अमृतजंग मात्र प्रोटागोनिस्ट भयो कसरी हँ ?’, म जंगिएँ। ‘रात पर्न दे, थाहा पाउँछेस्’, म्याकुलीले चियाको कपको ट्रेसँगै एउटा भ्रान्तिलाई मेरोअगाडि ल्याएर छोडिदिई। अनि डाइनिङ टेबलकोे कुर्सी तानेर मेरो छेवैमा बस्दै भनी, ‘ल सुना तेरो अल्बर्टोले तँलाई कति माया गर्छ ?’

अब भने म्याकुली उसका कुरा छोडेर मेरो प्रेम–प्रसंग सुन्न चाहन्थी। मेरो मनमा भने ‘रात पर्न दे’को रहस्यमय सुइरोले घोच्न थालिसकेको थियो। तैपनि कृत्रिम उत्साहको स्विच अन गर्दै भनें, ‘अहो...! अलबर्टोको कुरै नगर !! असाध्यै माया गर्छ। छुट्टीमा सँगै घुम्न जान्छौं। बेलामौकामा ककटेलको स्वाद लिन्छौं। कहिलेकाहीं साल्सा पनि नाच्छौं।’

‘साल्सा ? के नाच हो यो ?’, म्याकुलीले अचम्म मान्दै सोधी। ‘आइज म तँलाई सिकाउँछु !’ म्याकुलीलाई बसिरहेको कुर्सीबाट उठाएँ र नाच्न सिकाउन लागें। ‘छि ! यसरी पो लठारिन्छौ तिमीहरू ?’, म्याकुलीले लजाउँदै उसको दाहिने कुम र ढाडमाथि राखेका मेरा हात पन्छाउँदै भनी। 

‘तँ र अमृतजंग कहिल्यै नाच्दैनौं ?’, म्याकुली लजाएको देखेर सोधें। ‘यो क्युबा होइन। त्यसैले नाच्दैनौं।’ उसले क्युबालाई दोष दिई। ‘एक सबल लोग्नेस्वास्नी रमाएर सँगै नाच्न क्युबामा बस्नुपर्छ र ?’ चित्त बुझेन मेरो। ‘गीत त गाउँछौ होला ?’, गीततिर मोडिएँ। ‘गीत ? छि ! के गीत गाउनु ?’, उसले भनी।

‘पख ! तँलाई म क्युबाको प्रसिद्ध लोकगीत गाएर सुनाउँछु’, ख्वाक्क खोक्दै घाँटी सफा गरेर गीत सुरु गरें– ‘ग्वान्तानामेरा...ग्वाहीरा...ग्वान्तानामेरा...!’ ‘के हो यस्तो ? ग्वान्ते...स्वान्ते...!’ मैले गाएको गीतको पहिलो अंश सुनेरै म्याकुली मुख छोपेर हाँस्न थाली।

‘कुरै नबुझी त्यसरी नहाँस केटी ! त्यो ‘ग्वान्तानामेरा’ की ‘ग्वाहिरा’ तँ हुनु परेको भए थाहा पाउँथिस्’, म्याकुलीलाई सतर्क गराउँदै भावुक भएर भनें, ‘संसारका कोही आइमाईले ‘ग्वान्तानामेरा’ हुन नपरोस् !’ ‘किन र त्यस्तो ?’ म्याकुलीको हाँसो एकाएक रोकियो। ‘यो ‘ग्वान्तानामेरा’ गीत आफ्नै लोग्नेको हिंसा र व्यभिचारबाट विरक्त भएपछि घर छोडेर हिँडेकी क्युबाकी एउटी गाउँले आइमाईको कथा हो।’

मैले अर्थ्याउन भ्याइनसक्दै म्याकुलीले काँपेको स्वरमा भनी, ‘त्यसो भए लोग्ने छोड्न नसकेकी त्यही ‘ग्वान्तानामेराकी’ एक प्रतिनिधि हुँ म !’ म्याकुलीलाई पत्याउन नसकेर शिरदेखि पाउसम्म हेरें। आँखाका डिलहरू टिलपिल भरिए पनि मुस्काउने कोसिमा थिई ऊ। बाल्यकालदेखिकी साथीको यो अवस्था देखेर मेरो शरीरका तन्तु–तन्तु दुख्न थाले। त्यसपछि त ‘रात पर्न दे’को रहस्यमय भ्रान्तिले झन् बढी पिरोल्न थाल्यो मलाई।

आखिर रात परेरै छोड्यो। म्याकुलीको प्रोटागोनिस्ट घर फर्किएको केही क्षणमै बालसखा ‘ग्वान्तानामेरा’ भएको देखें। अकल्पनीय दृश्यको साक्षी भएको त्यो रात मेरो जीवनकै कालो रात दर्जियो।

‘मेरी साथीलाई ‘ग्वान्तानामेरा’ बनाउने अंमृतजंग कसरी भयो प्रोटागोनिस्ट ?’, कालो रातभर यही एउटै प्रश्न मेरो मनभरि खेलिरह्यो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.