काठमाडौं र ललितपुर महानगरको विजयी सुरुवात
![काठमाडौं र ललितपुर महानगरको विजयी सुरुवात](https://annapurnapost.prixacdn.net/media/albums/Chess_20210313150826_HMiDfwA13Y.jpg)
भक्तपुर : काठमाडौं र ललितपुर महानगरपालिकाले भक्तपुरमा सुरु भएको अन्तरनगरपालिका बुद्धिचाल प्रतियोगितामा विजयी सुरुवात गरेका छन्।
भक्तपुर नगरपालिकाद्वारा आयोजित प्रतियोगिताअन्तर्गत काठमाडौं महानगरले तारकेश्वर नपालाई पराजित गरेको हो।
स्वीस लिगअनुसार ७ राउण्डमा सञ्चालित प्रतियोगिताको पहिलो राउन्डमा काठमाडौं महानगरका केशव श्रेष्ठ, नवीन तण्डुकार र राजेन्द्र बज्राचार्यले जीत दर्ता गरेका थिए। काठमाडौंका रीजेन्द्र राजभण्डारी भने तारकेश्वरमा १२ वर्षीय पुरुषोत्तम सिलवालसँग बराबरीमा रोकिए।
त्यस्तै ललितपुर महानगरले सुदूर पश्चिमको गोदावरी नगरपालिकालाई ४–१ अंकले हरायो। ललितपुरका सजिन महर्जन, बद्रीलाल नेपाली, विमललाल श्रेष्ठ र सरोज महर्जनले जीत दर्ता गरेका हुन्।
काठमाडौंको गोकर्णेश्वर नपाले पोखरा महानगरपालिकालाई ३-१ ले हराएको छ। गोकर्णेश्वरका पुण्यमान कर्माचार्य, जनार्दन श्रेष्ठ र भगवती शर्माले जित्दा राजभक्त कक्षपती पोखरा महानगरका रामबहादुर क्षेत्रीसित पराजित भए।
दोलखाको भीमेश्वर नपाले भक्तपुरको सूर्यविनायक नपालाई ३-१ ले हरायो। झापाको दमक नपाले काभ्रेका बनेपा नपालाई ४-० ले माथ खुवायो।
चारदिनसम्म चल्ने प्रतियोगितामा देशभरका २२ वटा नगरपालिकाको सहभागिता रहेको आयोजक भक्तपुर नपाले जनाएको छ। प्रतिनपा ५–५ जना खेलाडीको टीमगत प्रतियोगिताको शनिबार एक कार्यक्रमबीच नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले उद्घाटन गरेका थिए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)