लागुपदार्थ जस्तै हो इन्टरनेट दुर्व्यसन ?
अहिले विश्वले विज्ञान तथा प्रविधिको विकास र विस्तारमा ठूलो छलांग लगाएको छ। नयाँनयाँ प्रविधिका कारण मानिसको श्रम बचत हुनुका साथै मानिसले प्रशस्त सेवा, सुविधा र मनोरञ्जन प्राप्त गरिरहेका छन्। मोबाइल, कम्प्युटर तथा इन्टरनेटको विकास र विस्तारले त ज्ञानविज्ञान तथा सूचनासञ्चारलाई मानिसका हातहातमा पुराइदिएको छ।
हातमा मोबाइल वा कम्प्युटर छ र इन्टरनेटको सुविधा छ भने आपूmले खोजेको वा जान्न चाहेको जुनसुकै सूचना वा ज्ञानगुन तुरुन्त पढ्न, सुन्न र हेर्न पाइने अवस्थामा छ अहिलेको विश्व। तर विज्ञान तथा प्रविधिको विकाससँगै यसको दुरुपयोग पनि ह्वात्तै बढेको छ। कतिपय प्रविधिका यस्ता साधनले मानिसलाई नराम्रोसँग दुर्व्यसनको दलदलमा फसाउँदै लगेको छन्। दुर्व्यसनी बनाउँदै लगेका छन्। प्रविधि–दुर्व्यसन लागुपदार्थको दुर्व्यसनजस्तै गम्भीर तथा खतरनाक भएको अनेक वैज्ञानिक अध्ययनले देखाएका छन्।
के हो प्रविधि–दुर्व्यसन
साधारण शब्दमा भन्ने हो भने टीभी, कम्प्युटर, टेबलेट, स्मार्टफोन, भिडियो ग्याम तथा इन्टरनेट आदि प्रविधि प्रयोग गर्ने अनियन्त्रित इच्छा वा लतलाई प्रविधि लत वा दुर्व्यसन भनिन्छ। प्रविधि–दुर्व्यसनमा फसेको व्यक्तिको ध्यान केवल यस्ता प्रविधि प्रयोग गर्नमा हुन्छ। अम्मली व्यक्ति दिनको १०—१२ घन्टासम्म पनि यस्ता प्रविधि प्रयोग गर्न पछि पर्दैन। यस्ता प्रविधि प्रयोग नगरी बस्न सक्दैन। प्रयोग गर्न नपाएको खण्डमा आक्रोशित या उदासीन हुन्छ। यहाँ उल्लेखनीय पक्ष के भने नयाँ प्रविधि सिक्नका लागि घन्टौं प्रयासरत रहनु या आवश्यकताअनुसार यसको प्रयोग गर्नु लत होइन। यो तबसम्म नशा होइन जबसम्म यसले सामान्य जीवनयापन वा सम्बन्धमा नराम्रो प्रभाव पार्दैन।
तुलनात्मक रूपमा किशोरकिशोरी तथा युवा वर्ग बढी यस्तो दुर्व्यसनको दलदलमा फस्ने गरेको भए पनि बालबालिका तथा पाका मानिसमा पनि यस्तो लत कम छैन। विश्वका सयमा ६ जना अर्थात् १८ करोड २० लाख मानिस प्रविधि–दुर्व्यसनबाट ग्रस्त रहेको हालैको एक अध्ययनले देखाएको छ। हङकङ विश्वविद्यालयका शोधकर्ताका अनुसार मध्यपूर्व एसिया विश्वमा सबैभन्दा धेरै इन्टरनेट अम्मलीको क्षेत्र बनेको छ। अध्ययनमा समावेश गरिएका देशहरूमा इन्टरनेट अम्मलीको संख्या कूल जनसंख्याको औसतमा ६ प्रतिशत रहेको पाइयो।
प्रविधि–दुर्व्यसनको प्रमुख लक्षण भनेको आवश्यकताविना दैनिक पाँचदेखि १० घन्टा वा त्योभन्दा बढी समय प्रविधि प्रयोग गर्न बिताउनु हो।
सबैभन्दा उच्च इन्टरनेट लत भएको क्षेत्र मध्यपूर्व रहेको छ। त्यहाँ इन्टरनेट लतको दर १०.९ प्रतिशत रहेको छ। त्यसमा इरान, इजरायल, लेबनान र टर्की समावेश छन्। इन्टरनेट अम्मल उच्च रहेको दोस्रो क्षेत्र उत्तर अमेरिका परेको छ। त्यहाँ इन्टरनेट अम्मलीको संख्या आठ प्रतिशत छ। समग्र एसियामा इन्टरनेट एडिक्सन ७.१ प्रतिशत रहेको छ। दक्षिण तथा पूर्वीयुरोपमा ६.१ प्रतिशत, उत्तरी तथा पश्चिमी युरोपमा २.६ प्रतिशत रहेको छ। यस्तै सन् २००७ मा गरिएको एक अर्को सर्वेक्षणअनुसार अमेरिकामा दुई प्रतिशत तथा युरोपमा ८ प्रतिशत मानिस यस लतबाट प्रभावित भएको देखाएको छ। नेपालमा प्रविधि–दुर्व्यसनीको संख्या कति छ भन्ने यकिन नभए पनि प्रविधि–दुर्व्यसनमा फस्नेको संख्या दिनप्रतिदिन बढ्दै गएको छ। तर सरकारले यस समस्याप्रति कुनै चासो देखाएको छैन। अस्ट्रेलिया, चीन, भारत, जापान, इटाली, कोरिया तथा ताइवानजस्ता देशमा भने इन्टरनेट दुर्व्यसनलाई एक गम्भीर समस्याका रूपमा लिएका छन्। यस समस्याको समाधानका लागि उपाय खोजिरहेका छन्।
प्रविधि–दुर्व्यसनको लक्षण
प्रविधि–दुर्व्यसनको प्रमुख लक्षण भनेको आवश्यकताविना दैनिक पाँचदेखि १० घन्टा वा त्योभन्दा बढी समय प्रविधि प्रयोग गर्न बिताउनु हो। यसका अन्य लक्षणमा साथीसंगी तथा परिवारबाट टाढा रहने। पर्याप्त निद्रा नसुत्ने। खेलकुद तथा अन्य मनोरञ्जनपूर्ण क्रियाकलापमा चाँसो नदेखाउने। धेरै खाने वा कम खाने। शरीरको वजन बढ्ने वा घट्ने। हात र कलाइमा दर्द हुनु। कार्पेल टनेल सिन्ड्रोमको समस्या देखा पर्नु। बारम्बार टाउको दुख्नु। दृष्टिसम्बन्धी समस्या देखा पर्नु। शरीर, ढाड र कम्मर दुख्ने। यस्ता प्रविधि प्रयोग गर्न नपाउँदा मुड खराब हुनु। चिडचिड हुनु। आत्मविश्वासमा कमी तथा भावनात्मक रूपमा कमजोर महसुस गर्नु।
प्रविधि–दुर्व्यसनको प्रकार
प्रविधि–दुर्व्यसनअन्र्तगत प्रविधिसँग सम्बन्धित अनेक दुर्व्यसन पर्छन्। तीमध्ये प्रमुख दुर्व्यसन हुन्– भिडियो तथा कम्प्युटर ग्याम दुर्व्यसन, स्मार्टफोन, टेबलेट तथा आईप्याड दुर्व्यसन, साइबरसेक्स तथा पोर्नोग्राफी दुर्व्यसन, अनलाइन गेम्बलिङ, अनलाइन सपिङ, सोसल मिडिया दुर्व्यसन (जस्तै– फेसबुक, युट्युब, स्काइप, ट्विटर, इन्ट्राग्राम, माइस्पेस आदि।)।
लत लगाउनेजति पनि यस्ता प्रविधि छन्, इन्टरनेटको विकास र विस्तारपछि इन्टरनेट चलाउने माध्यम पनि भएका छन्। जस्तो कि पहिला–पहिला मोबाइल बातचित गर्न तथा खबर पठाउनका लागि प्रयोग गरिन्थ्यो भने अहिले मोबाइलबाटै इन्टरनेट चलाउन सकिन्छ। नेपालमा मोबाइलबाट इन्टरनेट चलाउनेको संख्या धेरै छ। यही कारणले प्रविधि–दुर्व्यसनलाई अहिले इन्टरनेट दुर्व्यसन भन्ने गरिन्छ।
इन्टरनेट लत र ब्रेन
हालै गरिएको एक मनोवैज्ञानिक शोधअनुसार इन्टरनेट लत ड्रग्स वा मद्यपानको लतजस्तै खतरनाक र हानिकारक देखिएको छ। विशेषगरी बालबालिका, किशोर तथा युवा वर्ग इन्टरनेट एडिक्सनबाट बढी पीडित छन्। अनलाइन ग्याम तथा सोसल नेटवर्क जस्तै– पेसबुक, ह्वाट्सएप्सको बढी प्रयोग तथा अश्लील चिज हेर्ने आदत यसको सुरुवाती लक्षण हो। आदत बढ्दै गएमा इन्टरनेट प्रयोग गर्न नपाउँदा बेचैनी, चिडचिडापन तथा क्रोध आउने स्थिति देखा पर्छ। यो नै इन्टरनेट एडिक्सन डिसअर्डरको लक्षण हो।
चाइनिज एकाडेमी अफ साइन्सको अध्ययनअनुसार इन्टरनेटको लतले मस्तिष्क तथा इम्युन सिस्टमलाई कमजोर बनाइदिन्छ। जसले गर्दा मस्तिष्क शक्ति तथा स्मरण शक्ति घट्ने तथा रोगसँग लड्ने क्षमता ह्रास हुने गर्छ। यसको अत्यधिक प्रयोगले मानिसको सोच्ने शक्ति तथा सृजनाशीलतामा पनि निकै असर गर्छ।
इन्टरनेट एडिक्सन डिसअर्डर
मनोरोग म्यानुअल (डीएसएम) ले इन्टरनेट एडिक्सनलाई अहिलेसम्म मनोरोगका रूपमा सूचीबद्ध गरेको छैन। तर निकट भविष्यमै एक मनोरोगका रूपमा सूचीबद्ध गर्ने पक्का छ। त्यसो त सन् १९९५ मा मनोविद् किम्बर्ली योङले इन्टरनेट एडिक्सन केन्द्र खोलेका थिए। उपचारका लागि कग्निटिभ बिहाभियर थेरापी (सीबीटी) मा आधारित उपचार पद्धति बनाएका थिए। सोही वर्ष मनोचिकित्सक डा. इभान गोल्डबर्गले इन्टरनेटको लतलाई इन्टरनेट एडिक्सन डिसअर्डर निदान गरी मनोवैज्ञानिक उपचार पद्धतिको सुरुवात गरेका थिए। संवत् इन्टरनेट एडिक्सनलाई एक मनोरोग (मेन्टल डिसअर्डर) का रूपमा लिएर उचार गर्ने उनी पहिलो व्यक्ति हुन्।
लागुपदार्थ दुर्व्यसन जस्तै इन्टरनेट दुर्व्यसन पनि हल्का र कडा खालको हुन सक्छ। यसले पनि विथड्रबल लक्षण देखाउँछ। जस्तैः मानसिक तनाव, चिडचिडापना तथा उदासी। आत्मविश्वासमा कमी। कसैकसैलाई निद्राको समस्या हुने, काँप्ने वा पाचन प्रक्रिया गडबड हुने गर्छ।
प्रविधि–दुर्व्यसनका कारण
प्रविधि–दुर्व्यसनका अनेक कारण हुन्छन्। साधारणतया मानिसहरू तनाव, उदासीनता, चिन्ता तथा एक्लोपना कम गर्न इन्टरनेटको सहारा लिन्छन्। यसरी इन्टरनेट प्रयोग गर्दा उनीहरूलाई आनन्द मिल्छ। यस्तो आनन्दले उनीहरूलाई अम्मली बनाउँछ। अधिकांश व्यक्ति साथीसंगीको देखासिकीमा तथा खुल्दुलीका कारण अनलाइन ग्याम तथा पोनोग्राफी दुर्व्यसनको दलदलमा पर्छन्। ससाना बालबालिका कार्टुन फिल्म हेर्दाहेर्दै तथा भिडियो तथा अनलाइन गेम खेल्दाखेल्दै इन्टरनेट दुर्व्यसन डिसअर्डरको सिकार बन्छन्।
रोकथाम र उपचार
इन्टरनेट दुर्व्यसनले व्यक्तिको दैनिक जीवनमा प्रत्यक्ष असर पार्ने र यसले अन्य मनोरोगको समस्यासमेत निम्त्याउने हुनाले छिटोभन्दा छिटो उपचार गर्न आवश्यक हुन्छ। त्यसो त हल्काखाले इन्टरनेट दुर्व्यसनको उपचार आफैं पनि गर्न सकिन्छ। जस्तो कि सामाजिक सञ्जालमा बिताउने समय कम गर्दै जाने। बाहिर खेल खेल्ने। साथीसंगी तथा परिवारका साथमा समय बिताउने। राम्रा किताब पढ्ने। राति छिटै सुत्ने र बिहान सबेरै उठ्ने बानी बसाल्ने। योग, ध्यान तथा व्यायाम गर्ने। सामाजिक सञ्जाल चलाउने समय तालिका बनाउने। सोही समयमा मात्र इन्टरनेटको प्रयोग गर्ने। यससम्बन्धी सेल्पहेल्प किताब पढेर उल्लिखित उपायको पालना गर्ने।
तर कडा खालको इन्टरनेट दुर्व्यसनको उपचारका लागि विशेषज्ञको आवश्यता पर्छ। इन्टरनेट दुर्व्यसन एक मनोवैज्ञानिक समस्या भएकाले यसको उपचार पनि मनोवैज्ञानिक तरिकाबाट गर्नुपर्छ। कग्निटिभ बिहाभियर थेरापी (सीबीटी) तथा ईडीएमआर जस्ता मनोवैज्ञानिक पद्धति इन्टरनेट दुर्व्यसन डिसअर्डरका लागि उत्तम उपचार पद्धति हुन्।
अन्त्यमा
आधुनिक जीवनमा इन्टरनेटजस्ता प्रविधिको ठूलो महŒव र आवश्यकता छ। यस्ता प्रविधिलाई आवश्यकताअनुसार प्रयोग गर्दा धेरै फाइदा हुन्छ। आवश्यकताअनुसार प्रविधि प्रयोग गर्नु लत होइन, दुर्व्यसन होइन। त्यसैले प्रविधिलाई नशा नबनाईकन त्यसबाट सक्दो फाइदा उठाउनु नै बुद्धिमानी हो।