बलात्कारका दुई मुद्दामा क्षतिपूर्ति सहित कैद सजायको फैसला
बाग्लुङ: ७८ वर्षीया बृद्धालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत बाग्लुङले जिल्लाको गलकोट नगरपालिका–१ का २६ वर्षीय बुलबहादुर बिकलाई ३ वर्ष ६ महिना कैद सजायको फैसला सुनाएको छ ।
जिल्ला अदालत बाग्लुङका न्यायाधीश बासुदेव न्यौपानेको मंगलबारको एकल इजलासले कसुर ठहर गर्दै जबरजस्ती करणी उद्योग कसुरमा आरोपितलाई ३ वर्ष ६ महिना कैद सहित पीडितलाई २५ हजार रुपैयाँ क्षतिपूर्तिको फैसला गरेको जिल्ला अदालत बाग्लुङका सूचना अधिकारी सुर्यप्रसाद भण्डारीले बताए ।
पीडित बृद्धालाई आरोपित बिकले २०७६ भाद्र २ गते बलात्कार गर्ने प्रयास गरेको भन्दै पीडित पक्षले भाद्र ४ गते जिल्ला प्रहरी कार्यालय बाग्लुङमा उजुरी दिएका थिए । त्यस लगत्तै प्रहरीले आरोपितलाई भाद्र ४ गते गिरफ्तार गरेको थियो ।
प्रहरीले अनुसन्धान पूरा गरी जिल्ला सरकारी वकिलको कार्यालय मार्फत् ०७६ भाद्र २६ गते जिल्ला अदालत बाग्लुङमा जबरजस्ती करणी उद्योग अभियोगमा मुद्दा दर्ता गरेको थियो ।
यस्तै, ४३ वर्षीया महिलालाई बलात्कार गरी गर्भवती बनाएको कसुरमा जिल्ला अदालत बाग्लुङले बाग्लुङ नगरपालिका–१२ अमलाचौरका ४० वर्षीय लिला बहादुर बिकलाई ७ वर्ष कैद सजायको फैसला सुनाएको छ ।
जिल्ला अदालत बाग्लुङका न्यायाधीश बासुदेव न्यौपानेको मंगलबारको इजलासले कसुर ठहर गर्दै जबरजस्ती करणी कसुरमा आरोपितलाई ७ वर्ष कैद सहित पीडितलाई ८० हजार रुपैयाँ क्षतिपूर्तिको फैसला गरेको छ ।
पीडित महिलालाई आरोपित बिकले २०७६ बैशाख १ गते बलात्कार गरेको भन्दै पीडित पक्षले कात्तिक २९ गते जिल्ला प्रहरी कार्यालय बाग्लुङमा उजुरी दिएका थिए । आरोपित विरुद्ध जिल्ला अदालत बाग्लुङमा २०७६ पुस २९ गते जबरजस्ती करणी अभियोगमा मुद्दा दर्ता गरिएको थियो ।