गलकोटमा एक युवकको मृत्यु, हत्या आंशका
बागलुङ : गलकोटमा एक युवकको शंकास्पद मृत्यु भएको छ। गलकोट नगरपालिका–४ भयरखर्क गल्छिनाका ४० वर्षीय धनबहादुर नेपालीको मृत्यु शंकास्पद रहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।
आइतबार धनबहादुर र उनका २० वर्षीय छोरा अनिल नेपाली मादक पदार्थ सेवन गरी झगडा गरेका थिए। सोमबार बिहान धनबहादुर घरभन्दा ३० मिटर तल घाइते अवस्थामा फेला परेका थिए। उनको मंगलबार आफ्नै घरमा मृत्यु भएको पाइएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक इकबल हबारीले बताए।
बाबु छोराको झगडा हुनु, मृतकको शरिरमा चोट पटक हुनु, घाइते बुबाको उपचारमा चासो नदिनुले हत्याको आशंका पैदा भएको हबारीको भनाई छ। घाइते अवस्थामा रहेका धनबहादुरलाई परिवारले अस्पताल नलगी घरमै राखेका थिए। नियोजित हत्या या अन्य कारण मृत्यु भएको भन्ने बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक हबारीले जानकारी दिए।