अन्तरनगरपालिका बुद्धिचाल : हेटौंडा उपमहानगर च्याम्पियन
भक्तपुर : मकवानपुरको हेटौंडा उपमहानगरपालिकाले अन्तरनगरपालिका बुद्धिचाल प्रतियोगिताको उपाधि जितेको छ। भक्तपुर नगरपालिकाद्वारा आयोजित प्रतियोगितामा कूल १३ अंकका साथ हेटौंडा उपमहानगरपालिका च्याम्पियन बनेको हो।
स्वीस लिगअन्तर्गत ७ राउण्डमा भएको प्रतियोगितामा देशभरका २१ वटा नगरपालिकालाई पछि पार्दै हेटौंडाले उपाधिसँगै नगद एकलाख ५० हजार रुपैयाँ जितेको छ। पाँच/पाँच जनाको टीमबीच भएको प्रतियोगितामा हेटौंडा उपमहानगरको टीमको नेतृत्व बुद्धिचालका नेपाल च्याम्पियन पुरुषोत्तम चौलागाईंले गरेका थिए तर उनी अन्तिम चरणको खेलमा दोलखाको भीमेश्वर नगरपालिकाका सुमित पन्तसँग पराजित भए। यता हेटौंडाका सुरवीर लामाले भीमेश्वरका आशीष फुयाँल, रुपेश जैसवालले सुदीप तामाङलाई हराए। मनिष हमाल र क्षितिज भण्डारी बराबरीमा रोकिए। जसअनुसार हेटौंडाले अन्तिम चरण २.५-१.५ अंकले जितेको थियो। प्रतियोगितामा ११ अंक प्राप्त गरेको ललितपुर महानगरपालिका उपविजेता बन्यो। उसले एकलाख रुपैयाँ नगद पुरस्कार हात पारेको छ।
अन्तिम चरणमा ललितपुर र काठमाडौं महानगरपालिका बराबरीमा रोकिएका थिए। जसमा ललितपुरका सजिन महर्जन, बद्रीलाल नेपाली, सरोज महर्जन र सुमन राईले काठमाडौंका क्रमशः केशव श्रेष्ठ, रीजेन्द्र राजभण्डारी, नवीन तण्डुकार र राजेन्द्र बज्राचार्यसित बराबरी खेलेका थिए।
समान ११ अंक भएपनि काठमाडौं महानगरपालिकाले तेस्रो स्थानमा चित्त बुझाउनुपरेको छ। म्याच प्वाइन्टमा पछाडि परेको काठमाडौं नगद पचास हजार रुपैयाँमा सीमित हुनु परेको हो।
प्रतियोगितामा व्यक्तिगत प्रदर्शनतर्फ टोखा नपाका मिलन लामा, भक्तपुर नपाका निकेन कुसाथा र केशव मानन्धर, दमक नपाका चन्द्रप्रकाश नेपाल र हेटौंडा उपमनपाका रुपेश जैसवाल उत्कृष्ट घोषित भए। उनीहरुले जनही पाँच/पाँच हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन्।
प्रतियोगिताका विजेता नपा तथा खेलाडीहरुलाई नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवं प्रतिनिधिसभा सदस्य प्रेम सुवालले शिल्ड र प्रमाणपत्रसँगै नगद पुरस्कार वितरण गरेका थिए।
प्रतियोगितामा देशभरबाट २२ वटा नगरपालिकाका बुद्धिचाल खेलाडीहरुको सहभागिता रहेको थियो। भक्तपुर नपाले प्रत्येक वर्ष अन्तरनगर खेलकुद आयोजना गर्दै आएको छ। पहिलो वर्ष भलिबल र दोस्रो वर्ष सितेरियो कराते गरेको उसले यस वर्ष बुद्धिचालको अन्तरनगर खेलकुद प्रतियोगिता गरेको हो।