बर्न आउट : समस्या र समाधान
अत्यधिक कार्यबोझ, मानसिक तनाव र अफिसको वातावरण राम्रो नभए बर्न आउट हुन सक्दो रहेछ
बर्न आउटको ठ्याक्कै नेपाली शब्द पाउन गाह्रो छ। यद्यपि, व्यक्तिको क्रियाशीलता, शक्ति, जोस जाँगर र आफूले गर्दै आएका काममा गुणात्मकता घट्दै जान्छ वा काम गर्न मन लाग्न छाड्छ भने त्यो बर्न आउट हो। बर्न आउटका तीन मुख्य लक्षण हुन्छन्– (१) थकावट, (२) तिक्तता र (३) काम गर्ने क्षमतामा ह्रास।
आफ्नो व्यवसाय होस् वा अफिसको काम मानसिक तनावको अनुभव प्राय: सबैले गरेका हुन्छन्। शारीरिक परिश्रम धेरै गर्दा धेरै थकाइ लागेजस्तै दिनभरि बसेर टेबल वर्क गर्दा पनि त्यस्तै थकाइ लाग्छ। अझ अफिस, कार्यालय वा व्यवसायमा धेरै तनाव छ भने त्यसले अझ बढी थकाउँछ। बर्न आउट आफ्नो कामको तनावकै कारण हुन्छ। काममा तनाव हुने मुख्य कारणमा कामको बोझ बढी, बिहानदेखि बेलुकासम्म लगातार गर्नुपर्ने काम, पहिले यो काम सक्नुपर्यो, त्यसपछि यो सक्नुपर्यो भन्ने लगातारको प्रेसर र समयसीमाभित्र सक्नैपर्ने काम। त्यस्तै मरीमरी अफिसको काम गर्दा पनि र सकभर आफूले राम्रो काम गर्ने प्रयास गर्दासमेत कहिल्यै पनि राम्रो काम गर्यौ नभन्ने, प्रोत्साहन नदिने र हीनताबोध गराउने। समयसीमाभित्र काम सकिँदैन, त्यसरी काम सक्नका लागि बिदाका दिनमा काम गर्नुपरे पनि यो काम सक्नैपर्छ भनेर अर्डर गर्ने र काम सक्न बाध्य पार्ने। जुनसुकै बेला पनि नोकरीबाट हटाउने हो कि ? भन्ने डर तथा असुरक्षाको अनुभव र यसकै कारण आफ्नो भविष्यको सुरक्षा विल्कुलै छैन भन्ने सोचाइ।
आफ्नो सुपरभाइजर वा प्रमुखवाट द्विविधापूर्ण कुरा गर्ने, यसरी गर्नु र यस्तो नगर्नु भन्ने खालको प्रस्ट निर्देशन नदिने आफ्ना कठिनाइ र काम गर्दा आइरहेका समस्या सुपरभाइजर वा प्रमुखले कहिल्यै नसोध्ने र केही कुरा बताउन खोज्यो भने पनि सुन्न नचाहने, काम गर्दा आवश्यक पर्ने सरसामान जस्तै– कम्प्युटर, प्रिन्टर, टेलिफोन, पंखा, पिउने पानी आदिको व्यवस्था राम्रो नहुने आफ्नो कामसँग सम्बन्धित केही विषयगत कठिनाइ र द्वन्द्व जसले आफूलाई नकारात्मक असर पारिरहेका हुन्छन्।
परिभाषा
लगातारको मानसिक तनाव र फ्रस्टेसनले शारीरिक, मानसिक र भावनात्मक रूपले थकित अवस्थालाई जनाउँछ। बर्न आउट एकैचोटी नभएर विभिन्न स्टेजमा बढ्दै जाने अवस्था हो। यस हिसाबले बर्न आउटलाई तीनवटा स्टेजमा बाँड्न सकिन्छ।
पहिलो : आफ्नो कामबाट निराशा लाग्छ, फ्रस्टेसन हुन्छ, काम गर्ने इच्छा हुँदैन, पहिलेजस्तो काम गर्न सकिँदैन, ससाना कुरामा रिस उठ्न थाल्छ। टाउको दुख्ने, पेट दुख्ने, निद्रा राम्रो नलाग्ने जस्ता लक्षण देखिन थाल्छन्।
दोस्रो : पहिलो स्टेजका सबै लक्षण अझ बढ्छन् र साथसाथै काम गर्ने चाहना मर्दै जान्छ। कार्यालयमा कार्यरत अन्य कर्मचारीसँगको घुलमिल घट्दै जान्छ, आफन्तसँग टाढै बस्न मन लाग्ने र रक्सी, चुरोट, कफी आदिको प्रयोग गर्ने बानी छ भने अझ बढ्दै जान्छ। कुनै निर्णय लिन मन लाग्दैन।
तेस्रो : शारीरिक र मानसिक रोगका जस्ता लक्षण देखिन्छन्। पेट दुख्ने, टाउको दुख्ने, अत्यधिक थकाइ लाग्ने हुन्छ। साँच्चै विभिन्न रोग जस्तै– उच्च रक्तचाप, चिन्ता रोग, डिप्रेसन आदि सुरु हुन सक्छन्। पति वा पत्नीसँगको सम्बन्धसमेत बिग्रन थाल्छ। आफ्नो नोकरी छाड्न मन लाग्छ। किनकि सबै समस्याको जड नै त्यही नोकरी हो जस्तो लाग्छ।
रोकथामका तरिका
आफ्नो सीप, शिक्षा, काम गर्ने क्षमता, अफिसको वातावरण र कामको प्रकृतिमा तालमेल मिलेन भने बर्न आउटको समस्या देखिन्छ। आफूलाई मन नपर्ने काम जबर्जस्ती गर्नुपरे तनाव बढी हुन्छ भने मन पर्ने काम गर्न पाउँदा रमाएर गर्न सकिन्छ। जोस र जाँगरले गर्न मन लाग्छ।
काम कति गर्ने र परिवारसँग समय कति बिताउने भन्नेमा तालमेल मिलेन भने पनि बर्न आउट हुने रिस्क हुन्छ। त्यसैले काम र जीवनमा सन्तुलन हुनु पनि महत्वपूर्ण मानिन्छ। दु:खी जीवनका लागि सम्बन्ध राम्रो हुनैपर्छ।
बेलाबेलामा आफूलाई रिचार्ज गर्नुपर्छ। छुट्टी लिएर वा केही समय फुर्सद लिएर आफूलाई रिचार्ज गर्न सकिन्छ। अफिसमै काम गर्दा पनि रिल्याक्स गर्ने, सास फेर्ने तरिका प्रत्येक दुई घन्टामा प्राक्टिस गर्न सकिन्छ। प्रकृतिमा खुला ठाउँमा उभिएर ८/१० पटक आनन्दसँग लामो सास लिने र विस्तारै सास छाड्ने गर्दा पनि फ्रेस भइन्छ। बर्न आउट भनेको डिप्रेसन होइन, त्यसैले डिप्रेसनको औषधि खानु पर्दैन। पहिल्यैदेखि त्यस्तो औषधि खाइरहेको छ भने छाड्नु हँुदैन किनकि कोहीकोहीलाई डिप्रेसन र बर्न आउट दुवै हुन पनि सक्छ।
सर्वप्रथम त अत्यधिक कार्यबोझ, मानसिक तनाव र अफिसको वातावरण राम्रो नभए बर्न आउट हुन सक्दो रहेछ भन्ने जानकारी राख्नुपर्यो। बर्न आउट अचानक एकै दिनमा हुने समस्या होइन, यो विस्तारै मात्र हुने समस्या हो। हरेक व्यक्तिको मानसिक तनावको व्यवस्थापन गर्न सक्ने क्षमता फरकफरक हुन्छ। त्यसैले सबैलाई बर्न आउट हुन्छ भन्ने छैन। बर्न आउट प्राय: त्यस्ता व्यक्तिलाई हुन्छ; जसको बानी निम्नअनुसार हुन्छन् :
हरेक कुरा परफेक्ट हुनुपर्छ भन्ने मान्यता र स्वभाव जसलाई पूर्णता भनिन्छ। सुन्दा राम्रो लागे पनि यतिबेला कोही पनि पूर्ण हुँदैन भन्ने उक्ति सम्झनु राम्रो होला। प्रत्येक कामलाई अझ राम्ररी गर्न सकिने जहिले पनि हुन्छ। त्यसैले काम राम्रो गर्नुपर्छ तर सय प्रतिशत ठीक गर्छु भन्ने मान्यता बोक्दा तनाव बढी हुन्छ।
कम्पल्सिभ्नेस : भनेपछि जसरी भए पनि गरेर आफ्नो काम सक्नुपर्ने बानी। आजै गर्नुपर्छ, अहिल्यै गर्नुपर्छ भन्नुभन्दा परिस्थितिअनुसार आफूलाई ढाल्न सक्ने फ्लेक्जिबल गुणलाई राम्रो मानिन्छ। सबै कुरा आफूले भनेजस्तै हुनुपर्छ, आफ्नो पूर्ण नियन्त्रणमा हुनुपर्छ भन्ने मान्यता। समय र परिस्थितिले सबै आफूले भनेजस्तो नहुन सक्छ। आफ्नो नियन्त्रणभन्दा बाहिर जान सक्छ र त्यस्तो बेलामा समेत परिस्थितिलाई सहज किसिमले लिनुपर्छ।
आफ्नो सीप, शिक्षा, काम गर्ने क्षमता, अफिसको वातावरण र कामको प्रकृतिमा तालमेल मिलेन भने बर्न आउटको समस्या देखिन्छ। आफूलाई मन नपर्ने काम जबर्जस्ती गर्नुपरे तनाव बढी हुन्छ भने मन पर्ने काम गर्न पाउँदा रमाएर गर्न सकिन्छ।
यो सबै मेरो मात्र जिम्मेवारी हो भन्ने बानी : काम राम्रो गरी गर्ने भनेको टिमवर्क पनि हो। सबै मेरो मात्र जिम्मेवारी भन्नुभन्दा सामूहिक जिम्मेवारी हो। राम्रो भए टिमको कारणले हो। सबैले आआफ्नो क्षमताअनुसार काम गर्ने हो भनेर लिन सक्नु राम्रो हुन्छ।
अरूसँग सहायता भाग्न हिच्किचाउने/लाज मान्ने बानी : आवश्यकताअनुसार सहयोग दिनु र सहयोग लिनु राम्रो हुन्छ। सहयोग दिन मात्र तयार हुने तर सहयोग लिन डराउने बानी राम्रो होइन। सहयोग दिँदा पनि नदिने र लिँदा पनि नलिने झनै राम्रो होइन। सबै कुरा जानेको त कोही पनि हुँदैन। आवश्यक परेका बेलामा सहयोग लिँदा आफूले नजानेको कुरा सोध्दा सानो भइँदैन। त्यसैले सहयोग दिने र लिने दुवै गर्नुपर्छ।
आफ्ना भावना व्यक्त गर्न नसक्ने बरु भावना दबाएर राख्ने : जब मानसिक तनाव बढ्छ, भावना उठेका हुन्छन् र यस्ता भावना आफ्नो मिल्ने साथीसंगीलाई भन्यो भने आफूलाई हल्का हुन्छ तर दबाएर राखिराख्यो भने पीडादायक हुन्छ। त्यसैले आफ्ना भावना दबाएर राख्नुभन्दा व्यक्त गर्नु राम्रो हुन्छ। व्यक्त गर्ने भन्दैमा जसलाई पनि भन्ने भने होइन। आफ्नो मन मिल्ने आफ्ना कुरा सुनिदिने, गोप्य कुरा भए त्यसलाई गोप्य राख्ने विश्वासिलो व्यक्तिसँग मात्र व्यक्त गर्नु उपयुक्त हुन्छ।
छुट्टी नलिने या छुट्टी लिँदा अफिसमा कसले काम गर्ला भन्ने सोचाइ : सधैं एकनास काम गर्दा काम गर्ने क्षमता घट्छ, सिर्जनशीलता घट्छ र काम राम्रो हुँदैन भनेरै छुट्टीको व्यवस्था गरिएको हुन्छ। हरेक व्यक्तिलाई आफ्नो र परिवारका लागि पनि केही समय दिनुपर्ने हुन्छ। त्यसका लागि छुट्टीको व्यवस्था गरिएको छ। आकस्मिक अवस्था परे त सबैले बाध्य भएर छुट्टी लिन्छन् तर इमर्जेन्सी नपरेका बेलामा पनि छुट्टी लिएर रिल्याक्स गर्ने र रमाउने गर्नुपर्छ। यस्तो गर्दा आफूमा ऊर्जा थपिन्छ र काम गर्ने क्षमतामा वृद्धिसमेत हुन्छ। अफिसले छुट्टी नदिईकन बिदाका दिन पनि काम गराउने अनि पैसा दिने गर्नु पनि राम्रो होइन।
माथि भनिएका यी तरिकामा आफूलाई ढाल्न सकेमा वर्न आउट हुने सम्भावना निकै घट्छ। त्यसैले तल दिइएका यी कुरामा विशेष ध्यान दिऊँ :
आफ्नो शरीरले देखाएका लक्षणमा ध्यान दिनुस् : धेरै थकाइ लाग्यो, टाउको दुख्यो, मनमा छटपटी भयो, सानो कुरामा रिस उठ्यो भने किन यस्तो भयो भनेर सोच्नुस्। शरीरका कुनै भागमा दुखाइ बढी भयो त्यसमा हेलचक्राइँ गर्नु हुँदैन। त्यस्तै गरेर हात काम्ने वा चिसो हुने, सास लिन अप्ठ्यारो हुने आदि लक्षण भए पनि शरीरले आराम चाहेको हुन सक्छ। मानसिक तनाव हुँदा डराउने, रिसाउने, आत्तिने वा बदला लिने विचार गर्नुभन्दा तनाव घटाउने तरिका अपनाउनु राम्रो हुन्छ। जस्तै– विस्तारै लामो श्वास लिने र छाड्ने, मिल्ने साथीसँग कुरा गर्ने आदि। चिताउँदै नचिताएको समस्या पनि कहिलेकाहीं अचानक आइपर्छ त्यस्तो समस्यालाई विचार पुर्याएर समाधान गर्ने प्रयास गर्नुपर्छ। आफ्नो प्लान र काममा परिवर्तन गर्नुपरे पनि आत्तिनु उचित होइन। प्रत्येकपटक मानसिक तनाव हुँदा किन तनाव भयो भनेर कारण खोज्नुस्। तनाव दिने कुरालाई कसरी कम गर्ने त्यसतर्फ ध्यान दिनुस्। आफ्नो क्षमता कति छ, त्यसतर्फ ध्यान दिनुहोस्। आफ्नो क्षमताभन्दा बढीको इच्छा, आकांक्षा, चाहना आदि राख्न थाल्यो भने यो नै मानसिक तनावको कारण हुन सक्छ।
आफ्नो मन र शरीरलाई रिल्याक्स गर्ने तरिका अपनाउनुस् : यी तरिका तपाईं काउन्सिलर वा साइकोथेरापिस्टकहाँ गएर सिक्न सक्नु हुन्छ। मेडिटेसन सिक्नुभएको छ भने यसले पनि रिल्याक्स गर्छ। त्यस्तै संगीतले पनि मन रिल्याक्स गराउँछ। के गर्न सकिन्छ र के गर्न सकिँदैन त्यसलाई छुट्ट्याउनुस्। समाधान हुनै नसक्ने कुरालाई समाधान गर्छु भनेर लाग्नु व्यर्थ छ। तपाईंको स्वास्थ्य राम्रो रहिरह्यो भने मात्र अरूको सहयोग गर्न सक्नुहुन्छ त्यसैले आफ्नो स्वास्थ्य र आफ्नो सुरक्षामा विशेष ख्याल राख्नुस्। सहायता दिने र सहायता लिने कुरा त यसअघि गरिसकिएको छ। त्यसका लागि राम्रो सामाजिक सहयोग प्रणालीको विकास गर्नु राम्रो हुन्छ। आफ्नो परिवार तथा मिल्ने साथीसँग समय बिताउनु राम्रो हुन्छ। यसरी समय बिताउँदा मानसिक तनाव घट्छ किनकि केही कुरा गरिन्छ।
जीवनलाई सहज बनाउने : सबै दिन आज यो गर्ने, भोलि यो गर्ने भनेर प्लान गर्यो भने अकस्मात आइपर्ने कामलाई समय दिन सकिँदैन। ज्यादै व्यस्त भयो भने आफ्नो लागि समय हुँदैन। आफूले गर्नुपर्ने केही महत्वपूर्ण कामसमेत गर्ने समय हँुदैन। त्यसैले सहज जिन्दगी जिउनुपर्छ। नियमित सात घन्टा सुत्नु स्वास्थ्यका लागि राम्रो हुन्छ। शरीर र मनलाई आराम दिने र शरीरलाई शक्तिसमेत दिने राम्रो निद्रा पनि हो। कम सुतेर बढी काम गर्नु स्वास्थ्यका लागि राम्रो होइन। आफूले गर्नै नसक्ने, नभ्याउने वा समयसीमाभित्र काम नसकिने भए पहिल्यै यसकारण मैले गर्न सक्दिनँ भनेर नम्रतापूर्वक भन्नु उपयुक्त हुन्छ। पहिले हुन्छ, गर्छु भनेर पछि काम गर्न सकिनँ भन्नु झन् नराम्रो हुन्छ। नसक्ने काम पहिल्यै सक्दिनँ भन्ने बानी बसाल्नुपर्छ।
अफिसले स्टाफमा बर्न आउट नहोस् भनेर के गर्न सक्छ ?
अफिसले आफ्ना स्टाफहरूमा बर्न आउटको समस्या नहोस् भनेर काम गर्ने वातावरण राम्रो बनाउने, तनाव व्यवस्थापन गर्ने तरिका स्टाफलाई सिकाउने, छुट्टी मनाउन जान प्रोत्साहन गर्दा स्टाफले फ्रेस हुने अवसर पाउँछन् र उनीहरूको कार्य क्षमता बढ्छ। यहाँ भनिएका कुरा अवलम्बन गरेमा वर्न आउटबाट बच्न र भइहाल्यो भने यसलाई व्यवस्थापन गर्न निश्चिय नै सहयोग पुग्ने छ। कथंकदाचित मानसिक तनावले निकै दु:ख दियो र आफ्नो प्रयासले राम्रो भएन भने साइकोलोजिस्ट/काउन्सेलरको सहयोग लिन सकिनेछ र प्रोफेसनल काउन्सेलिङले अवश्य सहयोग पुग्नेछ।
—उपाध्याय वरिष्ठ मनोचिकित्सक तथा स्ट्रेस काउन्सेलर हुन्।