तान्जानियामा पहिलो महिला राष्ट्रपति
दार एस सलाम: तान्जानियामा सामिया सुलुहु हसन राष्ट्रपति चयन भएकी छन् । शुक्रबार सामियाले सपथ ग्रहण गरेसँगै उनी देशको पहिलो महिला राष्ट्रपतिको रुपमा चिनिएकी छन् ।
तान्जानियामा जोन मागुफुलीको निधन भएपछि सामिया राष्ट्रपति बनेकी हुन् । ६१ वर्षीया हसन जान्जिबार टापुस्थित मुस्लिम समुदायमा जन्मिएकी थिइन् । उनको कार्यकाल पाँच वर्ष अर्थात् २०२५ सम्म हुनेछ ।
कोभिड प्रभावित मुलुक तान्जानियाको राजधानी दार एस सलाममा हसन शुक्रबार पदभार ग्रहण गरिरहँदा चम्किलो रातो पछ्यौरामा उपस्थित थिइन् । तर हसन सहित उद्घाटन समारोहमा उपस्थित अधिकांश अधिकारीहरुले मास्क लगाएका थिएनन् ।
तान्जानियामा यसअघिका राष्ट्रपति जोन मुगुफुली त्यस्ता नेता थिए जसले कोभिडबारे आधारहीन र गलत दावी गरेका थिए । तर उनी स्यवं कोभिड संक्रमित भएका हुन् । यद्यपि उनको निधन कोभिडका कारण भएको हो वा हैन यकिन भएको छैन ।