कोरोनाले भक्तपुरमा थप एकको मृत्यु : मर्नेको संख्या १२८ पुग्यो
भक्तपुरः भक्तपुरमा कोरोना भाइरसको कारण थप एकजनाको मृत्यु भएको छ। यहाँ कोरोना भाइरस संक्रमणको कारण करिब एक महिनापछि पहिलो मृत्यु भएको हो।
स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार बिहीबार मध्यपुर थिमि नपाका एकजना पुरुषको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको थियो। यससँगै भक्तपुरमा कोरोना भाइरस संक्रमणका कारण मर्नेको संख्या एकसय २८ पुगेको कार्यालय प्रमुख कृष्ण मिजारले जानकारी दिए।
उनका अनुसार भक्तपुरमा ८३ पुरुष र ४५ महिलाको संक्रमणको कारण मृत्यु भएको छ।
भक्तपुरका चार नगरपालिकामध्ये सबैभन्दा बढी भक्तपुर नपाका ४५ जना संक्रमितको मृत्यु भएको छ। यहाँका २९ पुरुष र १६ महिलाले कोरोनाको कारण ज्यान गुमाएका छन्।
मध्यपुर थिमि नपाका २८ पुरुष र १४ महिला गरी ४२ जना संक्रमितको मृत्यु भएको छ। सूर्यविनायक नपाका १८ पुरुष र १३ महिला गरी ३१ ले संक्रमणको कारण ज्यान गुमाउँदा चाँगुनारायण नपाका ८ पुरुष र २ महिला गरी १० जनाको मृत्यु भएको छ।
३८ जना सक्रिय संक्रमित
स्वास्थ्य कार्यालय भक्तपुरमा अझै ३८ जना सक्रिय संक्रमित रहेको बताएका छन्। यहाँ १९ पुरुष र १९ नै महिला संक्रमित सक्रिय रहेको कार्यालय प्रमुख मिजारले बताए।
उनले सक्रिय संक्रमितमध्ये १७ पुरुष र १८ महिला गरी ३५ जना होम आइसोलेसनमा रहेको जानकारी दिए। २ पुरुष र १ महिला गरी ३ जनामात्रै अस्पतालको आइसोलेसन रहेका छन्।
भक्तपुरका चार नपामध्ये सूर्यविनायकमा १५, चाँगुनारायणमा ७ र भक्तपुर तथा मध्यपुर थिमिमा ७-७ जना सक्रिय संक्रमित रहेका छन्।
संक्रमित संख्या ९ हजार ६ सय ४१
हालसम्म भक्तपुरमा कोरोना भाइरस संक्रमितको संख्या ९ हजार ६ सय ४१ जना पुगेका छन्। जसमा पुरुष ५ हजार ४ सय ३४ र महिला ४ हजार २ सय ७ जना रहेका छन्।
कोरोना भाइरसविरुद्धको खोप प्रयोगमा आए पनि भक्तपुरमा नयाँ संक्रमित थपिने क्रम रोकिएको छैन।
स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार भक्तपुरका चार नपामध्ये सबैभन्दा बढी मध्यपुर थिमिमा ३ हजार ५ सय ५१ जना संक्रमित रहेका छन्। जसअनुसार यहाँ एक हजार ९ सय ६३ पुरुष र एकहजार ५ सय ८८ महिला रहेका छन्।
सूर्यविनायक नपामा एकहजार ७ सय ८३ पुरुष र एक हजार ३ सय २६ महिला गरी ३ हजार एकसय ९ जना संक्रमित रहेका छन्। भक्तपुर नपामा ९ सय ५८ पुरुष र ८ सय ४९ महिला गरी एकहजार ८ सय ७ संक्रमित पुगेको स्वास्थ्य कार्यालयको तथ्यांक रहेको छ।
कार्यालयका अनुसार भक्तपुरमा सबैभन्दा कम चाँगुनारायण नपामा ५ सय ४८ पुरुष र ३ सय २८ महिला गरी ८ सय ७६ जना संक्रमित रहेका छन्। अन्य संक्रमितहरुमा एकसय ८२ पुरुष र एकसय १६ महिला गरी २ सय ९८ जना रहेको कार्यालयले जनाएको छ।
स्वास्थ्य कार्यालयका अनुसार भक्तपुरमा ९८.२७ प्रतिशत कोरोना भाइरस संक्रमित डिस्चार्ज भएका छन्। यहाँका ९ हजार ४ सय ७५ जना संक्रमित डिस्चार्ज भएका हुन्। कार्यालय प्रमुख मिजारले भक्तपुरका ५ हजार ३ सय ३२ पुरुष र ४ हजार १ सय ४३ महिला डिस्चार्ज भएको जानकारी दिए।