म्यानमारमा बीबीसीका पत्रकार बेपत्ता
नपिद्व : बेलायती समाचार संस्था बीबीसीले म्यानमारस्थित आफ्ना समाचारदाता बेपत्ता भएको जनाएको छ ।
बीबीसीका अनुसार केही अपरिचित व्यक्तिहरुले समाचारदाता अउङ थुरालाई शुक्रबार नियन्त्रणमा लिएर बेपत्ता पारेका हुन् ।
बीबीसीले ट्वीटरमा समेत यसबारे लेख्दै उक्त घटनाबाट चिन्ता लागेको जनाएको छ । समाचार अनुसार म्यानमारको राजधानीबाट उनी बेपत्ता भएका थिए ।
उनको खोजी गरिरहेको पनि बीबीसीको भनाइ छ । साथै थुराको सुरक्षित रुपमा उद्धार गर्न र खोजी कार्यमा सक्रिय हुन बीबीसीले सरोकारवाला सबैलाई आग्रह गरेको छ ।
यससँगै स्थानीय पत्रकार थान हटिक अउङ पनि बेपत्ता भएका छन् । उनलाई पनि अपहरण गरिएको बुझिएको छ । शुक्रबार दिउँसोसम्म पनि दुबै पत्रकारको अवस्थाबारे केही जानकारी सार्वजनिक गरिएको छैन ।
गत फेब्रुअरी १ मा सेनाले सत्ता कब्जा गरेपछि निरन्तर प्रदर्शन चलिरहेको छ । यस क्रममा सय बढी आन्दोलनकारीको मृत्यु भइसकेको छ । दर्जनौँ घाइते भएका छन् । नेत्री आङ सान सू चीसहित थुप्रै राजनीतिज्ञहरुलाई सेनाले नियन्त्रणमै राखेर विभिन्न मुद्दा लगाएको छ ।
म्यानमारको सेना पछिल्लो समय प्रदर्शनकारीहरुप्रति आक्रामक बन्दै गएको छ भने उसको गतिविधिप्रति विभिन्न देशले आलोचना गर्दैआएका छन् ।