वाचाल ढुंगाहरूसँग दिनभर

वाचाल ढुंगाहरूसँग दिनभर

अमेरिकाको भर्जिनिया राज्य गएर लुरे गुफा हेरेन भने उसले भर्जिनियामा केही पनि हेरेन भनिँदो रहेछ। अमेरिका पुग्ने प्रत्येक व्यक्तिलाई राजधानी वासिङ्टन डीसी पुग्न निकै चासो हुने गर्छ जुन स्वाभाविक पनि हो। भर्जिनिया वासिङ्टन डीसीबाट आधा घण्टामात्र पर भएकाले यसपल्ट भर्जिनिया जाने र बस्ने तारतम्य मिल्यो हामीलाई। अनानडेल (भर्जिनिया)मा राजु श्रेष्ठ (जेठी सासूको छोरा) इन्दिरा (उनकी पत्नी) छोरी संज्ञा र दीपा (जेठानकी छोरी र ज्वाइँ) राजाबाबु सबैले एकै स्वरले भने— जानैपर्छ लुरे गुफा। इन्दिराले गाडी हाँकिन् र अनानडेलबाट करिब २ घण्टा मात्र लाग्ने गुफातिर लाग्यौं। खास गुफा पुग्ने बेला सूचना केन्द्रसँगै रहेको खानाको पसलमा पिज्जा खाएर हल्लँदै हामी गुफा पस्नेको लामो लस्करमा मिसियौं।

पालोमा टिकट काटेर भित्र पसेपछि हामीलाई लाग्यो— यो त एउटा आश्चर्य नै रहेछ। पथप्रदर्शकले भनेअनुसार २÷३ सय वर्षअगाडि नै यो गुफा पत्ता लागेको थियो। त्यही बेलादेखि एउटा आश्चर्यको रूपमा रहेको रहेछ। तीन वर्षजति अगाडि लेखिका रुकु कार्कीले आफ्नो एउटा नियात्रा पुस्तक मलाई पढ्न दिएकी थिइन्। त्यहाँ रहेका थुप्रै निबन्धमध्ये एउटा निबन्धको शीर्षक थियो, ‘लुरे गुफामा फनफनी’। त्यो लेख त्यही बेला पढेको भए पनि राम्ररी बुझेको रहेनछु। अहिले पो छर्लंग पार्ने खालको गुफा छ भनेर अलिकति पनि अनुमान गर्नसम्म नसकिने। आखिर सबै पर्यटकलाई आफू गुफामाथि नै घुमिरहेछु भनेर थाहासम्म नहुने रहेछ। एकपल्ट पस्न ३० जनालाई विशेष छुट दिएर क्रमबद्ध सुरु भयो— बाचाल ढुंगाहरू हेर्ने एउटा नयाँ अनुभव। भर्जिनियामा हेर्नलायक ठाउँ नै यही रहेछ। अरू चिटिक्क परेक घरहरू, रूखहरू र सफा सुग्घर बाटाहरू कति हेर्नु ? त्यो त अमेरिकाभर जताततै छ।

कुनै प्रकारको भुइँचालो कहिल्यै नआएको ठाउँ। १० तला जति अग्लो अमेश चट्टानको गजबको संसार रहेछ त्यहाँ। चट्टानहरू आफैं जन्मँदै, हुर्कंदै र मर्दै गरेको दृश्य देखियो। ढुंगाहरू पनि सजीव प्राणी मान्छेझैं जन्मने, हुर्कने, गफ गर्ने र मर्ने गर्दा रहेछन्। ढुंगाहरू आफैंं थाम भएर छानाहरूलाई थामेको पनि देखियो। हिन्दूहरूका ३३ करोड देवता सबै यहीं रहेछन्। हामीलाई यहाँसम्म ल्याइदिने बुहारी इन्दिराले ठिकै भनेकी रहिछन्— हिन्दूहरू यहाँ असाध्य भावुक भएर रोएको देखेकी छु, पैसा चढाएको पनि देखें।

आमाबुबा यहीं पसेर हेर्नासाथ रुँदै दर्शन गरेको र भावविह्ल हुँदै बाहिर आउनुभएको जस्ता दृश्यले सोच्न बाध्य बनायो। यो क्रिस्चियन मुलुकमा यस्तो अद्भुत देवताहरूको दर्शन पाउनु पनि विचित्र नै हो। अन्त्यमा हिन्दू मन्दिरमा जस्तै ढ्याके पैसा या आफूसँग भएको कुनै मुद्रा कुवामा फालेर आफूले वरदान माग्ने पनि चलन रहेछ। क्रिस्चियनहरू पनि हामीजस्तै धर्मभीरु। त्यहाँ एकै दिन जम्मा भएको ढ्याक देखेर व्यापक आम्दानीको कल्पना गर्न सकिन्छ। सारा मानिस यहाँ आइपुगेर अश्रुयुक्त हुँदा रहेछन्।
अहिलेसम्म कसरी अडिरहेको छ यो गुफा ? कुन दैवी वा प्राकृतिक शक्तिले उभ्याएको छ यसलाई ? पग्लिरहेको प्रस्तर अनि माथिबाट तप् तप् पानी चुहिरहेको बालक प्रस्तर। तन्नेरी प्रस्तर अनि वृद्धावस्थातिर लागेर टुक्रिन लागेको प्रस्तर। मृत्युशय्यामा ढल्केका प्रस्तर पनि।

ईश्वरजस्तै जन्म्यो भने
ईश्वरजस्तै मर्‍यो भने
ढुंगाका बीचबाट नयाँ मान्छे
ईश्वर या राक्षस ?

यो गुफाको ऐतिहासिक पृष्ठभूमि पल्टाउने हो भने हामी  ई.सं. १८०४ मा पुग्छौं। बीचमा सानोतिनो परिवर्तन भए पनि अहिलेसम्म खासै परिवर्तन भएको छैन।

जहाँ इतिहास गहिरोसँग दौडन्छ, त्यो हो लुरे गुफा। ठ्याक्कै २१६ वर्ष पुरानो गुफामा झन्डै दिन बितेछ। आजसम्म कुनै पनि भुइँचालोले यसलाई हल्लाउन सकेको छैन। प्रसिद्ध युरोपेली इतिहासविद् जोन मुर पनि यहाँ आएर भावुक भएका रहेछन्। यसलाई वाचाल ढुंगाहरूको संग्रहालय भन्दा रहेछन्। जब म त्यो उपत्यकामा पुगें, मलाई सम्पूर्ण ढुंगा गफ गरेर बसिरहेका रहेछन् जस्तो लाग्यो।

प्रत्येक दिन अरू बढी मायालु हुँदै गएका हुन् कि जस्तो। तिनलाई आफ्नो सबैभन्दा गहिरो प्रेमको अँगालोमा बाँधू र तिनीहरूसँगै दिनभर यो क्षणिक संसारबारे रमाइला गफहरू गरेर सुखदु:खका कुरा गरेर बिताऊँजस्तो लागिरह्यो। भौगोलिक दृष्टिले सम्म ठाउँ कम थियो। हामीलाई छिट्टै फर्कनु पनि थियो। अनानडेल भर्जिनियामा समय सबैलाई थोरै थियो तर हामीसँग कुरा गर्न धेरै विषय थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.